आगलागीमा फर्निचर जल्यो, १५ लाखको क्षति
विराटनगर : मोरङको बेलबारीमा रहेको एउटा फर्निचर उद्योगमा मंगलबार राति आगलागी भएको छ । आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका–७ नहर चोकमा गणेश भनिने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको गणेश काष्ठ उद्योग नामको फर्निचरमा राति १० बजेतिर आगलागी भएको हो । चौधरीका अनुसार आगोले काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको छ ।
प्रहरीले आगलागीमा १५ लाख बराबरको क्षति भएको जनाएको छ । प्रहरीका अनुसार स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकिरहेको छैन ।
यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।