पुनःस्थापना गृहबाट भागे दुई बालिका र एक युवती

पुनःस्थापना गृहबाट भागे दुई बालिका र एक युवती
सुन्नुहोस्

विराटनगर : विराटनगरमा सञ्चालित दीर्घकालीन पुनःस्थापना गृहबाट २ बालिका र १ महिला भागेका छन्। विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको गृहबाट बुधबार बिहानका राति तीनै जना फरार भएका हुन्। 

प्रहरीका अनुसार सुरक्षाका लागि भनेर गृहमा राखिएका मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलामको इलाम नगरपालिकाकी १५ वर्षीया बालिका तथा धनकुटाको धनकुटा नगरपालिका घर भएकी १९ वर्षीया युवती फरार भएका हुन्।
 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले फरार भएकाको खोजी तीव्र पारिएको बताए। उनका अनुसार सुधार गृहबाट आफूखुसी हिँडेकाहरू दिउँसो ४ बजेसम्म परिवारको सम्पर्कमा समेत पुगेका छैनन्। भागेकाहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको र विभिन्न प्रहरी युनिटसँग समन्वय गरेर खोजी जारी राखिएको जोशीले बताए। 

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दीर्घकालीन पुनःस्थापना गृह सञ्चालन गर्दै आएको छ। घरेलु र लैंगिक हिंसाबाट पीडित भइ भय तथा असुरक्षा महसुस गरिरहेका, आफ्नो घर एवं समाजमा रहेर नियमित जीवनयापन गर्न नसकिरहेका र बेचबिखनदेखि बलात्कार पीडितलगायत अनेक हिसाबले जोखिममा परेका महिला एवं बालिकालाई उद्धार गरेर पुनःस्थापना गृहमा राखिँदै आएको थियो। 

जोखिममा परेका महिला तथा बालिकालाई उद्धार गरी गृहमा राखेर पूर्णरूपमा सुरक्षित महसुस गराइ आवश्यक मनोसामाजिक परामर्श, कानुनी सहायता तथा जीविकोपार्जन सीपका माध्यमबाट समाजमा पुनः भयरहित ढंगले पुनःस्थापना गर्ने सरकारको उद्देश्य छ। 

पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईले भागेका तीनै जना बलात्कारबाट पीडित भएकाहरू रहेको बताइन्। पुनःस्थापना गृहमा अहिले २५ जनालाई राखिएको र अधिकांश बालिकाहरू रहेको जानकारी उनले दिइन्। ‘केही चाहिँ २१-२२ वर्षका पनि छन्। अधिकांश बालिकाहरू छन्,’ उनले भनिन्। भट्टराईका अनुसार गृहमा राखिएकाहरूका ८ जना सन्तानसमेत पुनःस्थापना गृहमा थिए।

गृहमा ३ जना महिला सुरक्षा गार्डको व्यवस्था गरिएको छ। महिला सुरक्षा गार्डलाई छलेर रातको समयमा तीनै जना भागेको र प्रहरीसँग समन्वय गरेर खोजतलास गर्ने काम भइरहेको भट्टराईले बताइन्। भागेकाहरूको अवस्था पत्ता लगाउन समस्या भइरहेको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.