तिहार किरात याक्थुङ लिम्बुहरूको मौलिक चाड हो

बलिहाङ तङ्नाम

तिहार किरात याक्थुङ लिम्बुहरूको मौलिक चाड हो

धर्म संस्कृति, चाडपर्व, रीतिरिवाज र परम्पराले मानव जीवनको आकार, उद्देश्य, निरन्तरता तथा पहिचानको भावना प्रदान गर्नमा मौलिक भूमिका निभाउने गर्दछ। समाजको गहिराई बसेका, जो प्रत्येक संस्कृतिको परिभाषा, मूल्य मान्यता, विश्वास एवं परम्परालाई दर्शाउँछ। रीतिरिवाजले जन्मदेखि मृत्युसम्म हाम्रा जीवनको यात्रामा साथ दिन्छ, व्यक्तिलाई उनीको विरासतसँग जोडन र सामाजिक सम्पर्कका लागि एक रुपरेखा प्रदान गर्दछ। 

हाम्रा चाडपर्वमा सांस्कृतिक विविधता- प्रत्येक समाजको मौलिकता र विशिष्टताका साथ उत्सव मनाइन्छ। सांस्कृतिक विविधतामा व्यक्ति, एक विशेष जाति, वर्ग, समुदायको इतिहास, मूल्य मान्यता तथा सामाजिक संघर्ष दर्शाउँछ। विविध रीतिरिवाजमा आआफ्नो अधिक सांस्कृतिक प्रशंसा, सहानुभूति एवं एक अधिक समावेशी समाज, सामञ्जस्यपूर्ण समाज बढाउन, धार्मिक सहिष्णुता कायम गर्न, भावनात्मक  सन्तुष्टि, सामाजिक एकजुटता कायम गर्न हाम्रा चाडपर्वहरूले सांस्कृतिक प्रामाणिकताको संरक्षित गर्दछ। यस देशमा तमाम आदिवासी जनजातिहरूले मानि आएको आ-आफ्नो मौलिक चाड-पर्वहरू छन्। 

प्राचीन कालमा किरात हिमवत खण्ड अर्थात् कैरात देशले परिचित नेपालको पश्चिम क्षेत्रमा राज्य गर्ने बलिहाङ नामक राजाको राज्यकालमा घटेको घटनाका आधारमा बलिहाङ तङ्नाम चाडको वर्णन गरिएको छ। हरेक वर्ष कार्तिक महिनाको कृष्णपक्ष औँसी तिथिको रात दीपावली गरि मनाइने बलिहाङ तङ्नाम किरात याक्थुङ लिम्बुहरुको परापूर्वकालदेखि किरात संस्कृति  र परम्पराअनुसार मनाई ल्याएको मुख्य चाडहरू मध्ये एक पर्दछ।

कैरात देशले परिचित नेपालको पश्चिम क्षेत्रमा राज्य गर्ने बलिहाङ नामक ख्याति प्राप्त राजा थिए, उनी अति दानी, प्रतापी, प्रजावत्सल र आध्यात्मिक व्यक्तित्वका धनी थिए। ताग्येरा निङ्वाफुमाङका परमभक्त हुनुका साथै उनमा भविष्यवाणी गर्नसक्ने शक्तिसमेत थियो । आफ्ना प्रजाहरू प्रति अत्यन्तै लोकप्रिय थिए। त्यसैले प्रजाहरू सधैं दीर्घायुको कामना गर्दथे, तर जन्मेपछि एक दिन मनैपर्ने प्रकृतिको नियमलाई कसले टार्न सक्छ ? जन्म लिनु पहिलो अवस्था हो, एक दिन मृत्यु हुनु दोस्रो अवस्था हो, यी जन्म र मृत्यु प्रत्यक्ष घटना हुन्, व्यक्तिको मृत्यु शाश्वत सत्य हो, जो प्रकृतिको खेल यसमा कुनै चेतना हुँदैन।

जब कार्तिक महिनाको कृष्णपक्ष निकट आउन लाग्यो तब राजाले आफ्नो मुख्य मुख्य भारदारहरू, राजदरबारका पदाधिकारीहरूलाई दरबारमा भेला गराई यस संसारबाट बिदा हुने आफ्नो अन्तिम दिन आइ पुगेको घोषणा गरे, राजाको त्यस्तो दुःखदायी घोषणाले सम्पूर्ण भारदार तथा पदाधिकारीहरू यस्तो दुःखद्  घटनाबाट कसरी बच्न सकिन्छ भनी उपाय रच्न थाले कस्तो सद् भक्ति गरेमा राजाको आयु लम्ब्याउन सकिन्छ अर्थात् कालको मुखबाट बचाउन सकिन्छ भनी राजासमक्ष आफ्नो जिज्ञासा पोखे। 

अन्तिम घडी आएपछि कालको मुखबाट उम्किन नपाउने प्राकृतिक नियम हो तथापि पनि सद् भक्ति, सदुपायले तत्कालीन आपद विपदलाई टार्न सकिन्छ, तर यस्तो कुरो मानिसको वशमा नभइ यमराजको दयामा निर्भर गर्दछ भनी राजा बलिहाङले यसो भने - आउँदो कार्तिक महिनाको कृष्णपक्ष औंसी तिथिमा अन्धकार रातमा यमराज आउने छ र उनलाई लिएर जानेछ। तर यमराजलाई खुशी पार्न सकेमा जीवन फिर्ता गर्न सक्नेछन् भनी राजा बलिहाङले त्यसको उपायसमेत बताए।कार्तिक महिनाको डरलाग्दो औंसीमा रात आउनुभन्दा अघि नै राजदरबारका प्रमुख पदाधिकारीहरू लगायत सम्पूर्ण प्रजाहरूले स्नानगरी शारीरिक सफा सुग्घर र मानसिक हिसाबले पवित्र भइरहन पर्दछ। जब त्यो औंसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र र घरबाहिर हजारौं बत्तीहरू बाली उज्यालो बनाइ राजा बलिहाङको आयु बढाइदिन रातभर ताग्येरा निङ्वाफुमाङसँग प्रार्थना गर्नुपर्दछ, साथै यमराजको आगमनलाई पनि हेरिरहनु पर्दछ। यसरी प्रकाशको बीचमा छाँयाको आकारमा यमराज देखा पर्नेछ। यसरी प्रकाशको बीचमा मान्छेको छायाँजस्तो दृश्य देख्नसाथ जतिसक्दो सबैले संयुक्त भई हात जोडी अन्तरआत्माले विश्वासपूर्वक एउटै आवाजमा राजा बलिहाङको आयु बढाई डरलाग्दो रातबाट बचाउन उनीसँग प्रार्थना गर्नुपर्छ। राजा बलिहाङको जीवन रक्षाको लागि उनका प्रजाहरूले सच्चा प्रार्थना र भक्तिबाट यदि यमराज सन्तुष्ट भएमा उनले राजालाई  जीवन दान अर्थात आयु बढाई त्यो डरलाग्दो रातबाट उनलाई बचाउनेछन्। राजा बलिहाङको त्यस्यो वाणी सुनेपछि  सम्पूर्ण भारदार र पदाधिकारीहरूले आउने कार्तिक महिनाको अन्धकार औंसीको रातमा आफ्ना शरीर र आत्मा शुद्ध वा पवित्र राखी सम्पूर्ण प्रजाहरूले राजा बलिहाङको जीवन रक्षाको लागि सच्चा अन्तरात्माले तागेरा निङ्वाफुमाङसँग प्रार्थना गर्न समस्त प्रजाहरूमा समेत सूचना जारी त्यस दिनको लागि सचेत भइ बस्न थाले।

जब कार्तिक महिनाको त्यो औंसीको दिन आयो समस्त स्त्री, पुरुष, युवक, युवती, प्रमुख भारदार, पदाधिकारिहरूसमेत समावेश भई स्नानगरी घरलाई सफासुग्घर श्रृङ्गार गरेर रात पर्नासाथ उनीहरुले घरभित्र र बाहिर बत्तीहरु बाली राजा बलिहाङको जीवनदानको लागि उपवास बसि ताग्येरा निङ्वाफुमाङको प्रार्थना गर्न थाले। राजा बलिहाङ निराश भई भारदारहरू र पदाधिकारीहरुबीच टोल्लाई रहथे। प्रजाहरू पूर्ण होसियारका साथ राजाका निमित्त प्रार्थना गरिरहेका थिए। मध्यरात बित्नासाथ अचानक यमराज प्रकाशको बीचमा मान्छेको छायाँको आकारमा देखा परे। त्यसलाई सबैले देखेर एकै स्वरमा प्रार्थना गाए र सद्भक्तिका साथ अन्तरात्माले राजा बलिहाङको आयु थप गरिदिन अनुरोध गरे।

राजा बलिहाङप्रति प्रजाहरूको त्यस्तो अगाध श्रद्धा एवं प्रेम देखेर उनीहरूलाई यमराजले उत्तर दिए। मानव जीवनको मरणको अधिकारी उनी नभए तापनि उनलाई बचाउने प्रयास गर्ने बचन दिए, उनले त्यसो भन्नसाथ त्यो छायाँ अदृश्य भयो। राजा बलिहाङले अन्तिम सास लिए। सबै प्रजाहरू पनि राजा बलिहङको आयु थप गर्न रुदै प्रार्थना गरिरहे। बिहान भाले बास्नासाथ मिरमिरे उज्यालो हुन लाग्दा पुनः राजा बलिहाङले सास फेरे र पूर्वस्थितिमा आए। जब उनी पूर्ण चेतनामा आए उनले आफ्ना भारदारहरूतर्फ हेरेर भन्न थाले कि तिमीहरू लगायत सम्पूर्ण प्रजाहरूका सच्चा व्रत, प्रार्थना, प्रेम र  अटुट  विश्वासद्वारा मैले पुनः जीवन पाएँ। 

प्रजाहरूको यस्तो भक्तिबाट उनी अत्यन्त सन्तुष्ट भए। प्रजाहरूको सच्चा भावभक्तिबाट पुनः जीवन पाएका कुरा समस्त प्रजाहरूमा खुशीयालीको रूपमा मनाउन आदेश पनि जारी गरे। त्यस दिन खानु, पिउनु र आनन्दका साथ रमाइलो गर्ने र त्यो घटनाको सम्झनास्वरुप प्रत्येक वर्षको कार्तिक महिनाको कृष्णपक्ष औंसी तिथिलाई उनीहरुको पर्वको दिन मनाउन उनले आफ्ना प्रमुख पदाधिकारीहरु मार्फत प्रजाहरूमा आदेश दिए। उनीहरुले आफ्नो घरभित्र र बाहिर बत्तीहरू बाली उज्यालो पारी राजा बलिहाङको स्मरण गर्न राजदरबारका पदाधिकारिहरूले बलिहाङको आदेशनुसार सम्पूर्ण प्रजाहरूमा सूचना जारी गरे। आफ्नो राजालाई उनीहरूको पुरोहित राजाको रूपमा आदर गर्न थाले। भाइलो देउसिजस्ता शब्दहरुबाट गीत रची प्रत्येक वर्षको दिपावली पर्वमा गाउन थाले। जसको अर्थ पुरोहित राजालाई सहयोग गरौँ भन्ने अर्थ रहन्छ। 

समूह-समूह भएर यो पर्वमा राती घर घरमा गाउँदै हिड्दा रातमा लारिङ्गेक र दिनमा नाम्लिङ्गेक भन्दै आफ्नो जातीय बाजा `के´ च्याब्रुङका साथ बलिहाङ तङ्नाम मनाउने चलन चल्यो। यसरी देशका सम्पूर्ण प्रजाहरूले बलिहाङ राजाको जय होस् भनी किरात याक्थुम लिम्बु भाषामा `तियाहा´ शब्द प्रयोगगरि दिपावली पर्व मनाइएकोले पछि अपभ्रंश हुँदै तिहार भनिएको हो। त्यसैले आजसम्म पनि नेपालभर तिहारको दीपावली पर्वमा भैलो देउसी "खेल्दा हामी त्यसै आएनौँ बलि राजाले पठाए" भन्नेजस्ता वाक्य अहिलेसम्म पनि प्रयोगमा भइरहेकै छ। अत: वर्तमान नेपालमा कार्तिक महिनाको कृष्णपक्ष औंसीताका पर्ने तियाहा ( तिहार ) नामक दीपावली पर्व मनाइने पर्वको थालनी किरात राजा बलिहाङको अविस्मरणीय योगदान भएको पाइन्छ।

किरात याक्थुङ लिम्बु मौलिक मुन्धुममा दीपावली गर्नुका साथै समूहसमूह भएर लारिङ्गेक् / नाम्लिङ्गेक् भन्दै (केलाङ) च्याब्रुङ नाचका साथ २/३ दिनसम्म भैलो/ देउसी खेल्दै मनोरञ्जन गर्दछन्। किरात याक्थुङ लिम्बुहरुमा चेलीले माइतीलाई फूल माला लगाइदिन हुँदैन अर्थात्  चेली माइतीमा फूल आदानप्रदान गर्नु हुँदैन र त्यसो गरेमा ठूलो आपद/ विपद आइलाग्छ भन्ने कुरा किरात मुन्धुममा उल्लेख गरेको पाइन्छ।

चाड-पर्व, रीतिरिवाजले सांस्कृतिक परम्पराको संरक्षणका रुपमा काम गर्न , पैतृक ज्ञान तथा प्रथाको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न, समाज र समुदायका लागि भावी पीढीका निमित्त विरासतको निरन्तरता सुनिश्चित गर्ने गर्दछ। अत: अतिदानी, प्रजावत्सल, आध्यात्मिक व्यक्तित्वका धनी ख्याति प्राप्त किरात राजा बलिहाङको जीवनगाथासँग जोडिएको  `बलिहाङ तङ्नाम´ तियाहा (तिहार) किरात याक्थुङ लिम्बुहरूको मौलिक चाड हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.