तिहारमा बजार अनुगमन : हजारौं मूल्यका प्लाष्टिकका माला बरामद गरी नष्ट
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट झन्डै ५० हजार मुल्यका प्लास्टिकका माला जफत गरि नष्ट गरेको छ ।
यसअघि नै सन्धिखर्क नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन ,बिक्री तथा ओसारपसारमा प्रतिबन्धलगाएको सूचनाको अटेरी गर्दै कृत्रिम माला राखेर व्यापार गरिरहेको पाइएपछि नगरपालिकाले आज बगैचा ,चुत्राबेशी, भक्तीटोला ,फुतबाङ्गलगायका बजारबाट प्लास्टिकका माला जफत गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए।
प्लास्टिकजन्य उत्पादनहरूले वातावरणका लागि हानिकारक हुने भएकाले यसलाई निरुत्साहित गर्ने नीति लिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। सम्बन्धीत सरोकारवालाहरूसँगको संयुक्त बैठकले स्थानीय फूलको उपयोग बढाउन तथा प्लाष्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्णय कार्यान्वय गर्न अनुगमन तीब्र पारेको अनुगमनटोली प्रमुख मुक्ति खनालले बताए।