रंगीन मिठाई खाँदा ख्याल गरौं
कुनै पनि परिकार पहिले आँखाले नै देख्छ। अनि राम्रो लागेमा जिब्रो रसाउँछ, मुखमा र्याल आउँछ। यो कुरा रंगीबिरंगी मिठाईमा झनै लागू हुन्छ। किन्दा इन्द्रीय आँखाले ‘यो खाऊ भनेर माग्छ र किन्छौं आँखालाई के थाहा उपयुक्त छ कि छैन, स्वाद जिब्रोले थाहा पाए पनि शुद्ध र गुणस्तर त पछि शरीरले थाहा पाउने हो। रंगको चाड होली भए पनि रंगको बढी चर्चा तिहारमा हुनेगर्दछ।
तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ। चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिँदैन तथा स्वास्थ्यका लागि उपयुक्त हुँदैन। ग्लुकोजको रसायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन। जस्ले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्काेतिर इन्सुलिन बढाई ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ।
इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ। बोसो भण्डारण गर्छ जस्ले मुटु धमनीका रोगहरू, उच्च रक्तचाप बनाउन सक्छ। धेरै वा पटक पटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटकपटक खाइरहने बानी हुन्छ। मोटोपना, खनिज तत्त्वको सञ्चित र भण्डारणमा कमी ल्याउँछ। शिशुहरूमा दाँतको समस्या देखिन्छ।
अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउँछ। मिर्गौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हडडी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या हुन्छ। आजकल त झनै चिनी महँगिएका कारण चिनीभन्दा पाँच सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ।
सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु दुई साता अघिदेखि नै बनाइन्छ। मिठाई बनाउँदा धेरै समयसम्म पकाईने भएकाले कीटाणु आगोको तापसँगै मर्छन् तथापि अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ। झिंगा, किरा लागि संक्रमित बनाइरहेका हुन्छन्। विभिन्न प्रकारका खाद्यरंग बढी मात्रामा तथा अखाद्य रंगहरू तथा एडेटिभ, पिर्जरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा तत्कालै त केहीमा पछि स्वास्थ्यमा असर पार्दछ। मिठाईमा खुवाको खपत बढी हुने भएकोले मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउँछन् जस्ले पेटमा खराबी पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ।
निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वासप्रश्वाससम्बन्धी रोग देखा पर्दछ। रंग मिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ। भित्री कोमल अंगहरू जस्तै कलेजो, मुटु, मिर्गाैला, कमजोर हुन्छन्। क्यान्सर हुने सम्भावना बढेर जान्छ। चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ। बाँझोपन हुन सक्छ, आँखा, कान कमजोर हुन सक्छ। सन्तान लुला, लंगडा एवं अपा· हुन सक्छन्, सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ। पुरुषको बिजकोष मार्दै लि· सानो हुँदै जाने तथा पुरुषत्व नास हुन सक्छ। मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घ रोगका देखिन सक्छ।
अब त अखाद्य वस्तुको मिसावटको मात्र समस्या रहेन यहाँ अस्वस्थ र दूषितपनाको समस्या पनि पराकाष्ठाकै रूपमा देखिए। दुर्गन्धित, फोहोर पानी, हिलाम्मे भुइँ, मुसा, बिरालाका दिसा, झिंगा, माकुरा, साङ्ला, मौरी मरिरहेका डम्पिङ साइटजस्तै देखिने स्थानमा, अनुगमनकारी एक हातले नाक छोप्दै अर्काे हातले लगाएको पाइन्ट तानिरहेका देखिन्थे। त्यस्ता सडेगलेका, फोहर र मिसावटयुक्त खाद्यपदार्थले संक्रमणयुक्त रोग हैजा, फुड प्वाइजन, पेट दुख्ने, झाडापखाला, जन्डिस, टाइफाइडदेखि दीर्घकालीन मिर्गौला, कलेजोमा ह्रास, अनिद्रा डिप्रेसन, बहुलाउने क्यान्सरसम्म हुन सक्छ।
चाडपर्वको बेला अस्पतालको पाहुना बन्ने इच्छा छैन भने कि त गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मिठाई किन्नुस् कि घरमै मिठाई बनाउन प्रयोग गरिने सामग्रीहरू जम्मा पारी बनाउनुपर्दछ। यदि किन्नै परेमा खाद्य रंग राखी बनाइएका मिठाईभन्दा अखाद्य रंग प्रयोग गरेका मिठाई बढी गाढा रंगका देखिन्छन्। खाद्यपदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा नराख्ने गर्नुपर्दछ। प्लास्टिकले बेरेर वा र्यापिङ गरेका सामान एक, दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ।
एक पटक प्रयोग गरिसकेको तेल र घिउलाई फेरि प्रयोग गरे चाँडै सड्छन् त्यसैले प्रयोग गर्नु हुँदैन। डब्बाका मिठाई खोलेको २४ घण्टाभित्र खान सकिन्छ तर घरमा बनाइएको मिठाई जतिसक्यो छिटो तथा ढिलोमा २४ घण्टामा सक्नु पर्दछ। फलफूल किन्दा टल्कने, प्लास्टिकले बेरिएका, दाग नलागेका, रंगीन, कार्वाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नु पर्दछ। यस्ता खाद्यपदार्थ किनिएका भए महजस्तो टासिएको वेक्स फललाई २ देखि ५ मिनेट तातोपानीमा डुबाएर पखालेर वा फलको बाहिरी तह पत्र काटेर फ्याँकेर मात्र खानुपर्दछ।
तसर्थ बजारमा भएका रंगीन, आकर्षक तरकारी, फलफुल र मिठाई देखेर मन लोभिन सक्छ। केही सेकेन्डका लागि मिठो स्वादिलो भए पनि मिनेट, घण्टा र दीर्घकालीनरूपमा बेफाइदा पुर्याउन सक्छ। खतरनाक रंग, रसायन, औषधि प्रयोग गर्ने र गरिएका खाद्यपदार्थ, फलफूल, तरकारी सेवन गर्नबाट रोक्न एकातिर कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अग्रसर हुनुपर्छ। त्यस्तै अर्काेतर्फ उपभोक्तामा सचेतना आउन जरुरी छ। मिठाई छिट्टै बिग्रिने र केही दिनसम्म प्रयोग गर्न मिल्ने दुवैथरी मिठाईलाई छुट्टाछुट्टै प्याकेटमा राख्नुपर्छ। बिक्रेताले उपभोक्तालाई प्रस्टसँग भनिदिने, मिठाईमा उत्पादन मिति र प्रयोग मिति अनिवार्य लेख्ने जस्ता कुरामा जबसम्म व्यापारीले गर्दैनन् र उपभोक्ता पनि सचेत हुँदैनन् भने मिसावटको समस्या यथावत् रहिरहन्छ । स्वास्थ्यमा हानिकारक असर परिरहन्छ। हिजोआज र भोलि जे जति जहाँ खाइन्छ, पिइन्छ त्यो मुख अर्थात् जिब्रोमैत्री, आँखामैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि हुनु पर्दछ।
(डा. बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।)