बसन्तपुरमा विशेष कार्यक्रम गरी मनाइयो नेपाल सम्वत् ११४५
काठमाडौं : नेपाल संवत् ११४५ शनिबारबाट सुरू भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
नेपाल संवत्का अवसरमा काठमाडौं उपत्यकामा सांस्कृतिक पहिचान सहितको र्याली निकालिएको थियो । त्यस्तै काठमाडौं महानगरले नेपाल सम्वत्का अवसरमा काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कामकाजका नेपाल सम्वत्लाई प्रयोगमा ल्याइएको र केहि दिनअघि मात्रै नेपाल भाषामा सरकारी सञ्चारमाध्यममा समाचार र कार्यक्रम प्रसारण गर्ने कामको सुरुवात गरेको बताए।
नेपालले आफ्नो परिचय बनाउनमा नेवारी भाषा संस्कृतिको महत्वपूर्ण योगदान रहेको उनले बताए। त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल सम्वतको उत्सवका अवसरमा सबैलाई शुभकामना दिँदै आगामी दिनमा पनि नेपाल सम्वत दिवसलाई भव्य रुपमा मनाउने जिकिर गरे।