कीर्तिपुरमा एमालेले पुनः विरासत फर्काउला त ?
नगरपालिकाको मेयरमा एमालेद्वारा सर्वसम्मत उम्मेदवार सिफारिस
काठमाडौं : नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उठाउने भएको छ। एमाले कीर्तिपुर नगर कमिटीको बैठकले डा. मानन्धरलाई सर्वसम्मत उम्मेदवार निर्णय गरेको छ।
गत कात्तिक १६ गतेको नगर बैठकले मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो। डा. मानन्धर एमाले केन्द्रीय सदस्य र प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन्। मानन्धर विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन्। अनेरास्ववियूको काठमाडौं सचिव हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म भएका नेता हुन्।
डा. मानन्धर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट उम्मेदवारसमेत बनेका थिए। त्यो बेला काठमाडौं १० बाट राजेन्द्र (राजन) केसीले चुनाव जितेका थिए। केसी त्यहाँदेखि काठमाडौंबाट लगातर चुनाव जित्दै आएका छन्। त्यो संविधानसभामा निर्वाचित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यही निर्वाचन क्षेत्रबाट लडेका थिए।
केसी जित्दा डा. मानन्धर दोस्रो भएका थिए भने दाहाल तेस्रो भएका थिए। त्यतिबेला केसीले २० हजार ३ सय ९२, मानन्धरले १३ हजार ६ सय १५, दाहालले १२ हजार ८ सय ५२ मत ल्याएका थिए।
एमाले नगर कमिटीबाट सिफारिस भइआएको डा. मानन्धरको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको थियो। नकर्मी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए। विगतमा कम्युनिस्टको गढको रूपमा मानिँदै आएको कीर्तिपुरमा पहिलो पटक नकर्मीले चुनाव जितेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नकर्मीले एमालेका केशरत्न वज्राचार्यलाई भारी मतले पराजित गरेका थिए। कीर्तिपुर नगरपालिकामा कांग्रेसले क्लिन स्विप नै गरेको थियो। वडा नम्बर ४ बाहेक १ देखि १० नम्बर वडासम्मै कांग्रेसले जितेको थियो। वडानम्बर ४ मा कांग्रेसकै बागी उम्मेदवारले जितेका थिए। कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमालेका वज्राचार्यले ५ हजार ५ सय ७ मत मात्रै ल्याएका थिए।
- नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ।
- डा. मानन्धर एमाले केन्द्रीय सदस्य र प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन्।
- मानन्धर विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन्।
माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ९० मत पाएका थिए। तर २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुरमा एमाले जितेको थियो। २०५३ चैत्र ११ गते काठमाडौं जिल्लाको तत्कालीन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको थियो। तत्कालीन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पांगा विष्णुदेवी, पांगा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर नगरपालिकाको गठन गरिएको थियो। २०५४ सालको पहिलो नगर निर्वाचनमा एमालेका हीराकाजी महर्जन नगर प्रमुखमा निर्वाचित भए। २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै रमेश महर्जन नगर प्रमुख भए। २०७९ सालमा भने कांग्रेस कीर्तिपुरमा चुनाव जितेको थियो।
हालसम्म कांग्रेस र माओवादी केन्द्रले पनि उम्मेदवार चयन गरेको छैन। राप्रपाले कीर्तिपुर नगरपालिकामा इन्जिनियर ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाएको छ। कीर्तिपुरमा मेयरसहित दुई वडाका अध्यक्षको पनि निर्वाचन हुँदैछ। राप्रपाले नगरको वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षका लागि बिजेश बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ। कीर्तिपुरको वडा नम्बर १ र ४ दुवैका वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचन आगामी मंसिर १६ गते हुने तय भएको छ। हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन्। यी सबै स्थानमा एकै दिन उपनिर्वाचन हुनेछ।