मोरङको गछिया खोलामा पुरुष मृत फेला
विराटनगर : सुनसरीको इटहरी घर भएका एक जना पुरुष मोरङको गछिया खोलामा मृत फेला परेका छन्। सुन्दरहरैँचा नगरपालिका–६ मन्दिर टोलीस्थित गछिया खोलाको किनारमा मंगलबार बिहान शव भेटिएको हो।
इटहरी उपमहानगरपालिका–१० घर भएका ५० वर्षीय गंगा विक मृत फेला परेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार गंगा करिब ६/७ वर्षदेखि सुन्दरहरैँचा–६ का बालकृष्ण राईको घरमा बस्दै आएका थिए।
खोला किनारमा बिहान ६:४० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका हुन्। मृतकको पहिचान तत्काल खुलेको थिएन। पछि मृतककै भाउजू सनमाया विकले सनाखत गरिदिएकी हुन्।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ। गंगाको मृत्युको कारण खुल्न बाँकी छ। घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।