अहिंसा र सामाजिक पर्व छठ
असमानता र सामाजिक भेदभावरहित एउटै विधि र एकै स्थानमा मनाइने सम्भवतः एक मात्र चाड होला छठ ।
तिहारको झिलिमिली नसकिँदै अहिंसा, पवित्रता र आस्थाको पर्व छठ भित्रिने हुन्छ । कात्तिक शुक्ल तृतीया अर्थात् सामान्यतया भाइटीकाको भोलिपल्ट (यसपटक पर्सिपल्ट) का दिन व्रतालुहरूले ‘अरबा–अरबाइन’ अर्थात् शुद्ध शाकाहारी खाएर व्रतको तयारी गरिने हुन्छ ।
कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट विधिवत् रूपमा पर्व सुरु गर्ने गरिन्छ । पञ्चमी तिथिका दिन राति एक छाकमात्र शुद्ध घरमा तयार गरिएको प्रसाद तथा नुन न भएको शाकाहारी खानेकुरा खाएर ‘खरना’ गर्छन् । यो पर्वमा सूर्यसँगैे षष्ठी तिथि पारेर माताको आराधना गरिने भएकाले यस पर्वको नाम नै ‘छठ’ भनिएको हो । र सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ । महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलो पटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ ।
हुन तः हिन्दुहरूको हरेक पूजा शुद्ध र पवित्र हुनुपर्ने हुन्छ । पूजा र प्रसाद शाकाहारी र त्यो सकिन नपाई मांशाहारी व्यञ्जनले रमाउने गरेको पाइन्छ । मासु बिना दसंै, तिहार, होली, माघेसंक्रान्ति, साउनेसंक्रान्ति, जनैपूर्णिमाजस्ता हरेक चाडवाड सम्भव हँुदैन । तर छठमा कतिले लक्ष्मीपूूजादेखि नै र सबैले कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सप्तमी दिन बिहानको अर्घ नदिएसम्म मांशाहारी खाना नखाने हुन्छन् । र, यो केवल व्रतालुले मात्र होइन, घरका हरेक सदस्यहरू नै पूर्ण शाकाहारी भोजन मात्र गर्छन् । छठमा कतै बलि अनि हिंसा हुँदैन ।
छठमा षष्ठी तिथिमा साँझमा तथा सप्तमी तिथिमा बिहान अर्घ दिने जुन प्रसाद–सामग्रीहरू हुन्छन्, त्यो विशेष हुन्छन् । ठूला मिष्ठान भण्डारका मिठाईहरू तथा बजारिया आकर्षक सामग्रीहरू छठमा समावेश हुँदैनन् । समान्य किसान परिवारले उत्पादन गरेका केरा, उखु, हल्दी, अदुवा, मुला, गाजर, बेसार, ज्यामिर, नरिबल, सुन्तला, भोगटेजस्ता फलहरूको अर्घमा राखिन्छ । त्यस्तै गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवा बनाउने गरिन्छ । अर्घका सामग्रीबाहेक पाँचौं दिन ‘खरना’ मा पनि प्रसाद बनाउने र सोही प्रसाद दिनभरि उपवास बसेका व्रतालुले साँझमा खाने र वितरण गर्ने हुन्छ । सो प्रसाद पनि घरमा नै तयार गरिन्छ । घर वा आँगनको कुनै पनि ठाउँमा लिपपोत गरी पवित्र पारी केराको पातमा खिर, रोटी र मुला छठी मातालाई स्मरण गरेर चढाइन्छ । कुनै पनि मूर्ति वा फोटोको प्रयोग हुँदैन । आरोग्यको कामना र प्रार्थना गरिन्छ । र चढाई सकेपछि व्रतालुले समेत सो प्रसाद खान्छन् ।
नहाय–खाय, अर्थात् खरनाको अघिल्लो दिन पनि लौकाको तरकारी, तोरी साग, चना दालजस्ता सामान्य खाना खानु, खरना र अर्घको प्रसाद पनि समान्य तथा घरेलु उत्पादन हुनुले पनि छठ कृषिमैत्री रहेको देखिन्छ । किसान परिवारले आफ्नै उत्पादनले पूजा गर्ने भएकाले छठ सामग्री तयार गर्न मेहनत धेरै हुने, व्रत बस्न कठिन हुने तर महँगो नहुने गरेको वृद्धहरू बताउँछन् । यसले शुद्धता र अहिंसालाई अँगालेको स्पष्ट छ ।
यो पर्वमा सूर्यसँगै षष्ठी तिथि पारेर माताको आराधना गरिने भएकाले यस पर्वको नाम नै ‘छठ’ भनिएको हो। र, सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ। महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलोपटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ।
सामान्यतयाः हरेक चाडपर्व हामी घरमा मनाउँछौं । आफ्ना नजिकका नातेदार, कुटुम्ब अनि साथीभाइलाई बोलाउछौं । तर छठमा अलिक फरक छ । न धनी, न गरिब, न तल्लो जात, न त अछूत सबैको एउटै पूजास्थल । असमानता र सामाजिक भेदभावरहित एउटै विधि र एकै स्थानमा मनाइने सम्भवतः एक मात्र चाड होला छठ । निराहार व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने छठको मुख्य पक्ष वा पूजा हो । यी प्रमुख पूजाहरू घरमा नभई जलाशयमा बनाएको छठ–घाटमा नै हुने गर्छन् । छठमा घाटको विशेष महत्व रहेको हुन्छ । घर नजिक रहेको जलाशय अर्थात् पोखरी, खोला, नदी, ताल, तलाउ, नहर छठको लागि रोज्ने गरिन्छ । यस्ता जलाशयमा छठ पूजाका लागि घाट बनाउनुपर्ने चलन रहेको छ । गाउँमा रहेको जलाशय सबैको साझा हुने यसलाई सबै मिलेर सजाउने यसको विशेषता हो । त्यसैले खोइ ठूलो र कोही सानो नभई सबै बराबरी र समान देखिन्छ ।
यस्ता छठ घाटलाई हरियो गोबरले लिपेर, केराको थम र फूलले सजाउने परम्परा रहेको छ । रातको अँध्यारोमा दियो, मैनबत्ती बालेर सजाएको हेर्दा मनमोहक देखिन्छ । यस मनमोहक वातावरणमा बालकदेखि वृद्धसम्म, गरिबदेखि धनीसम्म, छुद्रदेखि ब्राह्मणसम्म, नेतादेखि जनतासम्म, रोजगारका लागि बाहिरिएकादेखि बेरोजगारसम्म अनि नयाँ दलहरूदेखि पुराना दलहरू सबै तिनै घाटमा रमाएका हुन्छन् । सायद योभन्दा ठूलो सामाजिक अवसर कमै होला जहाँ सबै एकै स्थानमा र एउटै आस्थाका साथ भेटघाट गर्छन् । सँगै खुसी साटासाट गर्छन्, भलाकुसारी गर्छन् ।
घरमा नै पूजाको सामग्री तयार गर्नुपर्ने, घाट तयार गर्नुपर्ने अनि पूजा सामग्री घाट लानुपर्ने, तीन दिन व्रत बस्नुपर्ने जस्ता धेरै कामहरू छठमा हुने गर्छन् । त्यसैले पनि परिवारका सबै सदस्यहरू उपस्थित हुने, छिमेकी तथा आफन्त, इष्टमित्रहरू सबै जम्मा हुने भएकाले छठ त्यसै धेरै रमाइलो हुने गर्छ । कामको सिलसिलामा गाउँदेखि टाढा गएका साथीभाइहरू पनि घर आउने र सबै जना घाटमा नै जाने भएकाले वर्षभरि नभेटिएको तृप्त मेटिने हुन्छ । तर यो मौलिकतासँगै बढ्दो सहरीकरण अनि घट्दो कृषि उत्पादनले छठ महगिँन थालेको छ । लौका, पिठो त कुरा छोडौ, केराको थाम (बोट), फूल आदि पनि बजारमा किन्नुपर्ने भएको छ ।आफैंले तयार गर्ने गरेको छठ घाट निर्माणका लागि समिति बनाउनुपर्ने, आधुनिक सजावट र तडकभडकले थप रकम खर्चिलो हुँदै गएको छ । दसैं, तिहार अनि छठले गरिब परिवारमा नयाँ लुगा, पूजा सामग्री तथा घाट र अन्य बन्दोबस्तीमा निकै खर्च गर्नुपर्दा ऋण लाग्ने सम्भावना बढ्दै गएको छ । यसलाई व्यवस्थित गर्न खर्च घटाउन तथा सामान्य तरिकाले चाडपर्व मनाउन प्रेरित गर्न सबै लाग्नुपर्ने देखिन्छ ।