छठ पर्वका लागि सीमावर्ती मेची नदीसहित झापाका खोला किनार सिंगारिँदै

छठ पर्वका लागि सीमावर्ती मेची नदीसहित झापाका खोला किनार सिंगारिँदै
सुन्नुहोस्

झापा : नेपाल-भारत सीमा भएर बग्ने मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनार छठ पर्वका लागि धमाधम सँगारिँदैछ । भोलि (बिहीबार) बेलुका अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने मधेसवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन सीमावर्ती मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी किनारहरू नयाँ बेहुलीझैँ सिँगारिँदैछ । 

झापाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका व्रतालु परिवार घाट (पूजा स्थल) निर्माणमा जुटेका छन् ।  

भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी ५ हजार घाट निर्माण हुने मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजा स्थल बनाएका छन् । 

पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम बिहीबार दिउँसोसम्म सकिने अध्यक्ष झाको भनाई छ । दुवै देशका व्रतालु परिवारले मेची नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले भद्रपुरमा मनाइने छठको छुट्टै रौनक छ । 

नदी पूर्वपट्टिबाट बगिरहेकोले नदी तर्न छुट्टै अस्थायी बाँसको पुल बनाउन आवश्यक नरहेको बताउँदै अध्यक्ष झाले भने, ‘नदीमा किनार झिलिमिली बनाउन ३५ वटा टावरमा बिजुली बत्ति जडान गरिएका छौँ ।’ नदी किनारको सरसफाइ, खानेपानी व्यवस्थापन, बिजुली बत्ती, सुरक्षा बिट, स्वागत गेट, बाजा, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माण गर्न अनुमानित साढे ७ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । 

उता देवीबस्ती क्षेत्रमा घाट व्यवस्थापन कार्यलाई तिहार अघि देखि नै तीव्रता दिएको युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए । समूहले दुई हजार फुट घाट निर्माण गरेको छ । समूहले सो बापत व्रतालु परिवारसँग ५ फुट घाटको ५ सयदेखि ८ सय रुपैयाँसम्म लिने र गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने अध्यक्ष राजवंशीले बताए । 

बिजुली बत्तीका लागि १० वटा टावर, पण्डाल, प्रहरी बिट, चिया स्टल, सूर्य नारायण मन्दिर रंगरोगन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित साढे ३ लाख खर्च हुने उनको भनाई छ । मेचीमा मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै आइरहेका छन् ।  

यहाँ भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार बढी भक्तजन आउने अनुमान छ । मेची नदीको शान्ति सुरक्षालाई मध्यनजर गरी दुई सय जनाको हाराहारीमा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिने छ । छठमा हुन सक्ने आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सादा पोसाक, रिजब टोलीसहित एक सय बढी परिचालन गरिने वडा कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालले जानकारी दिए । 

उनका अनुसार पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने सुरक्षा योजना बनाइएको बताए । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ । 

मेचीमा ५० बढी सशस्त्र प्रहरी परिचालन गरिने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी रमेश भुवाजीले जानकारी दिए । सीमावर्ती नाका भएकोले भारतीय एसएसबीसँग पनि समन्वयका लागि छलफल भइसकेको उनले बताए ।  

पहिलो पटक गंगा आरती हुने 
छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा गंगा आरती गर्न लागेको भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए । भद्रपुर नगरपालिका, वडा कार्यालय र युनिक समूहको आयोजनामा छठ पर्वमा पहिलो पटक भजन सन्ध्यासहित आरती गर्न लागेको वडाध्यक्ष कार्कीले बताए । ‘बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि आरती गरिने र आरतीमा ५ जनाको स्थानीय टोली हुनेछ,’ उनले भने । यसअघि कार्की परिवारले मेचीमा गंगा आरतीको आयोजना गरेका थिए । 

कलात्मक प्रतीक्षालय निर्माण 
भद्रपुर–५ स्थित देवीवस्तीको सूर्यनारायण मन्दिर नजिकै कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न मन्दिर आकृतिमा  कलात्मक प्रतीक्षालय निर्माण गरिएको र सो प्रतीक्षालय छठ पूजाकै दिन उद्घाटन गरिने वडा अध्यक्ष बन्धु कार्कीले बताए । प्रतीक्षालय निर्माणका लागि वडा कार्यालयको अनुमानित साढे ६ लाख रुपैयाँमा बजेट खर्च भएको उनको भनाई छ । नदी किनारलाई मेची निर्भर पार्कको रुपमा विकास गर्न वडा कार्यालय लागि परेको बताउँदै उनले भने, ‘अब छिट्टै नदी किनारमा फुड फेस्टिभल लगाउने योजनामा छौँ ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.