प्रकृति उपासनाको महापर्व छठ

प्रकृति उपासनाको महापर्व छठ

हाम्रो देश सांस्कृतिक दृष्टिले परिपूर्ण छ। कात्तिक महिनामा मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ। भर्खरै तिहार सकेको छ, अब पवित्रता, निष्ठा, श्रद्धा र आस्थाको छठ पर्व आरम्भ भएको छ । राजधानीसहित देशका अधिकांश भाग चार दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ। छठ मुख्यतः भारतको बिहार र नेपालको तराईमा पर्ने मिथिलाञ्चल क्षेत्रको लोक पर्व हुँदै वरपरका अन्य समुदायमा विस्तार हुँदै गएको देखिन्छ। पहिचानको राजनीतिले यसको विस्तारमा ठूलो प्रभाव पारेको छ। छठको महŒव क्रमशः बढदै जाँदा नेपालको तराई भारतको बिहार हुँदै हाल दक्षिण भारतलगायत संसारका विभिन्न देशहरूमा पनि हर्षोल्लासका साथ मनाउन सुरु भइसकेको पाइन्छ।

कार्तिक शुक्ल चतुर्थी तिथिबाट चार दिनसम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरी तथा व्रत बसेमा मनोकामनाअनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ। छठ व्रतमा शारीरिक र मानसिक दुवै रूपबाट शुद्ध हुनुपर्दछ। छठको व्रतका नियम निकै कडा एवं कठिन हुने गर्दछ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति मनमोहक र संगीतमय हुन्छ।

को हुन् छठी माता ? 

छठी माताका सम्बन्धमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’को नवौं स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे। महर्षि कश्यपले यज्ञको आहुतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रूपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए।

सन्तान प्राप्त भएको खुसी एकै छिनमा शोकमा परिणत भयो। मृत सन्तानको जन्मको खबरले राजा विह्वल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे। सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन्, ‘म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ। सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो। सोही कारणले मलाई षष्ठी पनि भनिन्छ।’

उनले भनिन्, ‘हे राजन’ मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु। मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ। त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो। 

कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा सुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ। तर छठी माताको प्राधान्य हुने गरी मनाइने वर्तमान छठको प्रारम्भ गुप्तकालतिर भएको जस्तो देखिन्छ। पण्डित र पुरोहित बिना यो महिला प्रधान व्रत छ। 

 छठ पर्वमा सूर्यको पूजा

हिन्दु धार्मिक र पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख छ। सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ। नेपाल, भारत, बेबिलोन, युनान, मि श्र तथा जापानलगायत थुप्रै देशमा सूर्य उपासनाको परम्परा पाइन्छ। छठको पूर्वरूप (सूर्य उपासना) वेदमै पाइन्छ, भविष्य पुराण र पद्म पुराणमा समेत यसका वर्णन पाइन्छ। भन्निछ, अत्रिमुनिकी पत्नी अनुसुयाले सर्वप्रथम यो षष्ठीव्रत गरेको थिइन्। महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य प्रेम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।

त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। यस्तैै भगवान् रामले वनवास हुँदा रावणको वध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्ल औंसी तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुसीयालीमा दीप प्रज्जवलित गरेर दीपावली मनाइएको कुरा रामायणमा उल्लेख छ। राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए।

अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा सूर्यवंशी रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुवै महŒवपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रूपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ। 

अग्नि पुराणका अनुसार १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ।

छठ पर्वको महत्व

सूर्यका उपासना आरोग्य, आयुष्मानको लागि पनि गरिन्छ। बिहान र बेलुका सूर्यको अध्र्यबाट शरीरको भिटामिन डी प्राप्त हुन्छ। साथै, यस पर्वमा व्रत बसेमा चर्मरोग र कुष्ठरोग निदान हुन्छ, भन्ने मान्यतासमेत पाइन्छ। छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यसैगरी सर्वशास्त्रज्ञ सौनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पआयुमा मृत्युलगायत कष्टमा रहेका मानवको दुःख नासको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र सातवीं उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएका थिए। 

सूर्य र जलको शक्ति तथा महŒव झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ। छठ पर्व आउनुभन्दा केही दिन पहिलेदेखिनै घरमा माछा मासु वर्जित हुने गरेको छ। जस कारणले शरीर र मन दुवै शुद्ध हुन्छ।

पर्वको विधि

कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वका मंगलबारदेखि विधिवत् रूपमा सुरु भएकोे छ। यस पर्वका व्रतालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लिपपोत गर्छन्। 

पहिलो दिन ‘नहाए खाएको’ दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर लसुन र प्याज नहालेको चोखो शाकाहारी खाना खाने गर्छन्। यस दिन छठ व्रत गर्ने व्रतालुहरूले दत्तिवनले मुख धुने, हात खुट्टाको नङ काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन्।छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरनाका दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजाकोठामा माटोको नयाँ चुलो बनाउँछन्। बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादको रूपमा चन्द्रोदय पछि षष्ठीदेवी लाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसादको रूपमा लिने चलन छ।

छठको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ। जसलाई ‘सम्झिया घाटे’ पनि भनिन्छ। छठ पूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ।

सँझिया घाटका दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। छठ पर्वमा दूध, ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ। उखु, केरा, मूला, गाजर, बेसार, नरिवल, सुन्तलाजस्ता फलहरू लगायतले भगवानलाई अर्घ दिइन्छ। 

कतिपय स्थानमा राति छठ घाटमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन छ भने कतिपय व्रतालुहरू आफ्ना सामग्री प्रसादसहित फर्केर आउने र भोलिपल्ट बिहान फेरि घाट जाने गर्छन्।

चौथो दिन अर्थात् सप्तमी तिथिका दिन झिसमिसेमै व्रतालुहरू फेरि नुहाइधुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन्। बिहान सूर्य उदाउनुभन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठीमातालाई अर्घ दिन्छन्। 

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् वा श्रीमती तथा छोरा छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय गर्छन्।

कृषि उत्पादनको महत्व 

छठ व्रतमा प्रसादको रूपमा प्राकृतिक र कृषि उत्पादनको महŒव दिन्छ। कृषिमा आधारित पूजा सामग्री प्रयोग गरिन्छ किसानको आफ्नै खेतबारीमा पाइने मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलफूल, पान र सुपारीका साथैै विभिन्न प्रकारका मिठाई, ठेकुवा, भुसुवा, खजुरियालगायत पकवानहरू चढाइने गरिन्छ।बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरू सहित पूजा गरिन्छ। नयाँ बाँसको टोकरी, पंखा, माटोको भाँडो, माटोको कलात्मक हात्तीलाई पूजा सामागीको रूपमा उपयोग गरिन्छ। माटोको कलात्मक हात्तीको अग्रभागमा दियो बालिन्छ। 

जातीय अन्तरसम्बन्ध

यो समस्त जातजातिले मनाउने पर्व पनि हो। समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको ज्वलन्त उदाहरण हो। विभिन्न समुदायका मानिसहरू जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वको रूपमा लिन थालिएको छ। अहिले भाकल पूरा भएका पहाडी र मुस्लिम समुदायहरू पनि छठ मनाउने गरेको पाइन्छ। आजको जातीय विद्वेष र भेदभाव छुवाछूतले भरिएको समाजमा यस पर्व सबैमा समान सहभागिताले सामाजिक सद्भाव र सामाञ्जस्य र एकताको सन्देश दिन्छ। यो प्रकृतिको उपासनाका पनि पर्व हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.