छठको उल्लास, बढ्दै छठीमैयाको महिमा

छठको उल्लास, बढ्दै छठीमैयाको महिमा

(बर्दिबास) महोत्तरी : छठ पर्व मात्रै होइन, आस्था, विश्वास अनि सद्भावको पर्व हो। कुनै बेला तराई मधेसमा मात्रै मनाइने छठ पर्वको महिमा बढ्दै गएको छ। मधेस, पहाड, हिमाल हुँदै सात समुद्रपारी पुगेको छ। जहाँ–जहाँ नेपाली, त्यहाँ–त्यहाँ छठ पर्व पुगेको छ। यसैकारण जताततै छठको रौनक छ। पोखरी, नदी किनार, इनार जस्ता जलाशयका किनारा बेहुली झैं सिंगारिएका छन् । अस्ताउँदो सूर्यलाई अर्ध दिई सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। यसपटक बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिइनेछ। शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिइनेछ। पूर्वराष्ट्रपति डा. रामवरण यादव भन्छन्, ‘छठले नेपालीजन, मन र राष्ट्रियतालाई एकताबद्ध बनाउन मद्दत गरेको छ।’ पर्वहरूले देशको गौरव गान गर्ने गरेको उनको भनाइ छ। ‘चाडपर्व हाम्रा धरोहर हुन्’ पूर्वराष्ट्रपति यादव भन्छन्। ब्रतालु ३६ घण्टा निर्जल उपासना बसेर छठ पर्व मनाउँछन्। चोखोनिधो यो पर्वको कठोर अनुशासन हो।

लक्ष्मी पूजाको ठीक चार दिनपछि कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्वका विधिहरू सुरु हुन्छन्। नहाइखाई, खरना, सझिया घाट, पारन छठका मुख्य विधि हुन्। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा छठ मनाउने गरिन्छ। तराईको साझा साँस्कृतिक धरोहरको रूपमा छठ पर्वलाई लिइन्छ। छठ पर्व एक, महत्व अनेकौ छन्।

मौलिक सांकृतिक पर्व 

छठ पर्वको वैभव विशाल छ। यो पर्वको महिमा बढ्दै छ। यसले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य एवं संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि संस्कृति मानव जीवन पद्धति भएको बताउँछन्। उनी भन्छन्, ‘संस्कृति मानवीय जीवनपद्धति हो। मान्छेले धारण गर्ने बस्त्र हो। उसको खानपान हो। अर्थात् मानव जीवनको सबथोक हो। छठ पर्वले यसलाई राम्रोसँग प्रतिविम्बित गरेको छ।’ कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गरेको संस्कृतिविद् प्रेमर्षि बताउँछन्।

अर्का संस्कृति विद् डा. वीरबहादुर महतोका अनुसार कर्णप्रिय छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाउँछ। मनमनमा भक्तिभाव जगाइदिन्छ। जनजनमा ऊर्जाभरिदिन्छ। सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसिलाई चट्टान झै बलियो बनाइदिन्छ। अनि सबै घरघरबाट, बस्ती–बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन्, छठीघाटमा। 

null

प्रकृतिको पूजा

मानव र प्रकृतिबीचको सम्बन्धलाई जोड्ने सेतु हो, छठ पर्व। मानव र प्रकृतिबीच हराउँदै र बिलाउँदै गएको सम्बन्धले जलवायु संकट बढ्दै छ। हिमाल पग्लिँदै छ, समुद्र अग्लिँदै छ। तापक्रमको ग्राफ उकालो लाग्दो छ। यो संकट निवारण गर्नका लागि छठ पर्वले मानवलाई प्रतिकात्मक सन्देश दिन्छ। सचेत गराउँछ। 

चुरे विज्ञ डा. विजयकुमार सिंहका अनुसार तराईको उर्बर फाँटको सिँचाइको स्रोत चुरे हो। किन भने चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो। उनी भन्छन्, ‘छठ पर्व गर्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो। मिथिला र मधेसबाट विश्वभरि छठ फैलिएको छ। पुर्खाहरूले यसैकारण पनि छठ सुरु गर्नु भएको थियो।’ डा. सिंहले चुरेको विनाशले मधेसमा पानीका मुहान सुकिरहेका छन्। खेतहरू बाँझो हुन थालेका छन्। उनी भन्छन्, ‘चुरे दोहनले छठ पर्वको अस्तित्व संकटमा पर्न थालेको छ।’ जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ। तर, जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको उनी बताउँछन्। 

मानव समाज प्रकृतिको सामिप्यमा रहन चाहन्छ। तर, यसको संरक्षणमा चुकिरहेको छ। मानवलाई प्रकृतिसँग नजिक हुने अवसर छठले प्रदान गर्ने गरेको कृषि वैज्ञानिक डा. उज्जवल कुशवाहको भनाइ छ। मानिसहरू आफ्ना काममा व्यस्त छन्। प्यास लाग्छ पानी खोज्छन्, भोक लाग्दा खाना खोज्छन्। तर, यसको उत्पादन कहाँबाट हुन्छ त्यसबारेमा खासै ध्यान दिँदैनन्। छठ जस्ता पर्वले प्रकृति र मानवबीचको हराउँदै गएको सम्बन्धलाई प्रगाढ बनाउने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘मानवले आफूलाई प्रकृतिमा समाहित गर्न चाहन्छ। आफूलाई शुद्ध र पूर्णहोस् भन्ने कामना गर्छ।’

null

कृषिउपज प्रदर्शनीको पर्व

छठले किसानको परिश्रमलाई सम्मान गर्छ। कृषिउपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ। महोत्तरीको गौशालाका मठमन्दिर तथा लोक पर्वका संरक्षक बासुदेव महतोका अनुसार छठपूजामा झन्डै ७२ प्रकारका कृषिउपजको प्रयोग गरिन्छ। यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ। उनी भन्छन्, ‘छठ सुरु हुनु अघिदेखि नै ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुन थाल्छ। नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिन्छ।’

गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्छ। छठ पर्वले नेपालको कृषि पहिचानलाई जगेर्ना गरेको छ। ‘स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ,’ संरक्षक महतो भन्छन्, ‘उखु, चामल, केरा जस्ता दर्जनौं कृषिउपजले छठमा मुख्य स्थान पाउँछन्।’ 

कृषि वैज्ञानिक डा. कुशवाहाका अनुसार छठमा सूर्यको पूजा हुन्छ। सूर्य शक्तिको प्रतीक हो। सारा संसार यसैको आधारमा चलिरहेको छ। कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित छन्। प्रकाशकै संश्लेषणबाट बिरुवाले खाना बनाउँछ। उनी भन्छन्, ‘छठ प्रकृतिको पूजा मात्रै होइन् शक्तिको उपासना पनि हो।’ 

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गरेको छ। ‘छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन्। ती हाम्रा खेतबारीकै उत्पादन हुन्छन्,’ संस्कृतिविद् प्रेमर्षि भन्छन्, ‘जस्तै, भान्टा, मुला उखु, अदुवा, केराउ।’ यस्तै चिजवस्तुलाई प्रसादका रूपमा छठी मातालाई चढाइन्छ। यो पर्वले देखावटी परिपाटीलाई पूर्वरूपमा निषेध गरेको छ।’ छठ पर्वमा किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गर्ने गरेको उनी बताउँछन्। ‘कसको बारेमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजा सामग्रीबाट सबैले थाहा पाउँछन्,’ प्रेमर्षि भन्छन्। 

null

सामाजिक एकता 

छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ। समुदायगत, जातिगत, भाषागत भिन्नता पनि उस्तै छन्। तर, यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। संस्कृतिविद् प्रेमर्षि भन्छन्, ‘कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब त मुस्लिमहरूले पनि मनाउन थालेका छन्।’

छठ घाटको मनमोहक दृश्यले मोहित बनाउने गरेको सुनाउँछिन् मधेस प्रदेशसभा सदस्य सारदा देवी थापा। ‘सबै जातिका मानिसहरू मिलेर छठ मनाएको देख्दा मनमा शान्तिको अनुभूति हुन्छ। यसले एकताको सन्देश दिन्छ’, उनी भन्छिन्, ‘छठघाटमा पुग्दा हेरौं–हेरौं लाग्छ। मेरो लागि यो त विशिष्ट उत्सव नै हो। बत्ती बलेको देख्छु, सबैतिर झिलिमिली देखिन्छ। नाचगान हुन्छ। यसले मनमा शान्ति र उत्साह बढाउँछ।’ तराई–मधेस सांस्कृति अनुसन्धान प्रतिष्ठान बर्दिबासका सल्लाहकार शंकर महतोका अनुसार छठले समाजको विविधतालाई एकताको मालामा उन्ने काम गर्छ। छठघाटमा सबै जातजाति, धर्मालम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छ। उनी भन्छन्, ‘छठघाटमा सबैजना एउटै गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन्छ। अनि मन–मनमा गुञ्जिन्छ, सयौं थुँगा फूलका हामी एउटै माला नेपाली !’

अहिंसाको पर्व

छठले संसारका सबै जीवजन्तुको रक्षा गर्छ। दसैंमा जस्तो बलि प्रथालाई यस पर्वले निषेध गरेको छ। प्रोफेसर सन्त सत्यनारायण आलोक छठ पर्वले शाकाहारी र अहिंसा भावको सन्देश दिने गरेको बताउँछन्। उनी भन्छन्, ‘अनि स्वच्छता र शुद्धतालाई उस्तै स्थान दिन्छ। व्रतालुहरू यस पर्वमा प्याज, लसुन, माछा, मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ।’

छठमा प्रसादका रूपमा साकाहारी चिज वस्तुलाई स्थान दिइएको छ। प्रोफेसर आलोक थप्छन्, ‘यो पर्वले बलि प्रथालाई पूर्णरूपमा बर्जित गरेको छ। स्वास्थ्यबर्धक खानपिनलाई मात्रै प्रोत्साहन गर्छ।’ यसपर्वको खानपिन वातावरणमैत्री पनि छ। गर्मीको बिदाइ अनि शरद ऋतुको स्वागतको बेला छठ पर्व उत्सव बन्न थाल्छ। आलोकका अनुसार छठको मुख्य प्रसाद ठेकुवा र केरा हो। ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ। चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तातोपन प्रदान गर्छ। जसले चिसोसँग शरीरलाई लड्न शक्ति प्रदान गर्छ।

प्रोफेसर आलोकले खुसी साट्दै थपेँ, ‘आराधनाको पक्षले छठ पर्व सर्वोत्कृष्ठ पर्व हो। घरका सबै मिलेर पर्वको तयारी गर्ने, नयाँ बस्त्रमा सजिएर पर्व मनाउने अनि प्रसाद बाँडेर खाने चलनले परिवार एवं समाजमा नयाँ माहोल बनाइदिन्छ।’

जाति छुवाछूतविरुद्धको पर्व

निकै पवित्र, सफासुग्घर र निष्ठापूर्वक छठ मनाइन्छ। छठ सामाजिक सद्भाव र समानताको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जाति भनेर छुवाछूतको विभेद छ। कानुनी रूपमा छुवाछूतको अन्त्य भयो। तर, समाजमा छुवाछूतको अवशेष अझै जीवितै छ। तर, छठ पर्वले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि नै भत्काएको जनता माध्यमिक विद्यालय बर्दिबासका शिक्षक मञ्जय सदा(मुसहर) बताउँछन्। 

null

‘समाजमा अझै दलित समुदाय छुवाछूतबाट पीडित छन्। यस्तो अवस्थामा जब छठी घाटमा सबै जम्मा हुन्छन्,’, उनी भन्छन्, ‘त्यो बेला सबै जातजातिको पूजा सामग्री एकै ठाउँमा हुन्छ। त्यही पोखरीमा सबै जातजातिका मान्छे उभिन्छन् र पूजा गर्छन्।’ अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलिन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर छठको प्रसाद माग्छन्। र, प्रसाद जुनसुकै जातजातिको होस्, आँचलमा प¥यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान रहेको तराई मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठानका सचिव रामनारायण महतो बताउँछन्।

लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छन्। यो भावलाई छठ पर्वले बोकेको छ। सूर्यको प्रकाशबिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ। प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ। त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ। सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन। सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम छ।

गौशाला नगरपालिका मेयर डा. दीपेन्द्र महतोका अनुसार भिटामिन ‘डी’ को मुख्य स्रोत सूर्य नै हो। जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्य ऊर्जाले सम्भव भएको विज्ञानद्वारा प्रमाणित छ। सूर्यको किरणमा छालाको रोगका साथै मुटु, जोर्नी र टाउकाको व्यथालाई निको पार्ने सामथ्र्य भएको प्राकृतिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ। यसरी महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु आदिको कामना पूर्तिका लागि सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठ पूजा भनिन्छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने अनौठो पर्व 

सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ। दैनिक घरमा पूजाआजा हुन्छ। हिन्दु परम्परामा पञ्चायन पूजा गरिन्छ। जहाँ गणेश, विष्णु, शिव, सूर्य र कालीको पूजा गरिन्छ। पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ। तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ। प्रोफेसर आलोकका अनुसार पानी र सूर्यको एक अर्काको विपरीत तत्व हो। तर, छठ पर्वमा दुवै शक्तिलाई समान महत्वका साथ हेरिन्छ। आलोक भन्छन्, ‘छठसँगै जाडोको मौसमको प्रारम्भ हुन्छ। यो बेला सूर्यकै आशामा मानिसहरू बस्छन्। त्यसैले पौराणिक मान्यताअनुसार सूर्य देवतालाई पूजा गरिन्छ।’

राष्ट्रिय एकताको पर्व 

एकताका तराईमा मात्रै छठ मनाइन्थ्यो। तर, अहिले तराईबाट पहाड मात्रै होइन अमेरिकामा पनि छठ मान्नेको संख्या बढ्दै गएको छ। पछिल्लो समय त काठमाडौंमा छठ बनाउनेहरूको परिवारको संख्या बढ्दै गएको छ। यसो हुनु पछाडिको मुख्य कारण हो, छठ पर्वप्रति आस्था बढ्दै जानु। छठघाटमा सबै जातजाति, धर्मालम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छ। छठघाटमा सबैजना एउटै गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन्छ। राज्यले छठ पर्वलाई राष्ट्रिय पर्वका रूपमा पनि सूचीकृत गरेको छ। र, बिदा पनि दिन थालेको छ। राजनीतिक विश्लेषक चन्द्र किशोरले मधेसको पहिचानवादी आन्दोलनले छठ पर्वलाई राष्ट्रिय पर्वका रूपमा बिस्तार गरेको बताउँछन्। छठ पर्वको महत्व र यसप्रतिको आस्था बढ्दै गएकाले सबै वर्ग, क्षेत्र र राज्यले राष्ट्रिय पर्वको मान्यता दिएको उनी सुनाउँछन्। 

नारी सशक्तीकरण पर्व

छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो। सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता हो भन्न सकिन्छ।

छठ पर्वको ब्रतालु गौशाला कालिपुरकी सुनिता कुमारीले सूर्यको उपासनामा कृपालु छठी माताको आशिषबिना अनुष्ठान पूरा नहुने बताउँछिन्। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झल्को पाइने गरेको मधेस प्रदेशसभा सदस्य थापाले बताइन्। भन्छिन्, ‘छठ पर्व घरको जेठो महिलाको नेतृत्वमा हुन्छ। पर्वले महिलाहरूलाई नेतृत्व प्रदान गर्छ।’

null

गीतबाटै छठीमैयाको महिमा गान

छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधान गीतबाटै जान्न पाइन्छ। गीतबाट छठ आएको भाव घरघरमा फैलाइन्छ। त्यसमा रेडियोहरूको भूमिका ठूलो हुने गरेको छ। संस्कृतिविद् प्रेमर्षी थप्छन्, ‘पहिले छठ गीतको आफ्नै किसिमको मौलिकता थियो। घाटमा महिलाहरूले बसेर गाउँथे। अब त रेकर्डिङ गीत बजाइन्छन्।’

जहाँ साक्षत भगवान् भेटिन्छ 

भनिन्छ– भक्त र भगवानसँग सीधा वार्तालाप छठ पर्वमा मात्रै हुन्छ। ‘यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहितको आवश्यक्ता हुँदैन,’ देशको जेठो गुरुकुल राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन्। उनी भन्छन्, ‘छठमा अर्घ दिइने सूर्य भगवानलाई प्रत्यक्ष देख्न सकिन्छ। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले यी धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन्। अवलोकनसँगै विधिहरू सीधै सिक्ने र यो क्रम सन्ततिमा सर्दै जान्छन्।’

केही छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी व्रतालुले सूर्य नमस्कार गर्छन्। व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्। छठ शब्द संस्कृतको ‘षष्ठी’ बाट विकसित भएको इतिहास छ। चार दिवसीय छठ व्रतमा सबैभन्दा कष्ट, कठिनाइ, दौडधुप, श्रमशक्ति र महत्वको हिसाबले कार्तिक शुक्ल षष्ठीको दिनै हुन्छ। कार्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामसाथ मनाइने निकै चर्चित पर्व हो छठ। ‘यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ’, संस्कृति विद् डा. महतो भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.