छठ : नेपालको मौलिक लोकपर्व
आदिकालदेखि नेपालको मधेस प्रदेशमा मनाइँदै आएको लोकपर्व छठको अहिले विश्वविस्तार भइसकेको छ। यो नेपालमै उद्भव भएको लोकपर्व हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। मधेस प्रदेशको रौतहटमा द्वापरयुगको महाभारत कालदेखि यो पर्व हुँदै आएको जनविश्वास रहेको छ।
छठ लोकपर्व हो, शास्त्रीय होइन। शास्त्रीय पर्वको विशेषता के हुन्छ भने कुनै न कुनै शास्त्रमा आधारित हुन्छ, शास्त्रमा तोकिएको विधिविधान हुन्छ र पुरोहित–यजमानको समन्वय हुन्छ। पुरोहितले भनेजस्तै यजमानले गर्नुपर्ने हुन्छ। विभिन्न शास्त्रीय ऋचाहरू हुन्छन्। मन्त्रोच्चारको विशेष महŒव हुन्छ तर लोकपर्वमा भने पण्डित, पुरोहितको कुनै काम हुँदैन। अधिकांश लोकपर्वहरू सामूहिकतामा आधारित परम्परित हुन्छन्। लोकपर्वमा स्थानीयताको पनि विशिष्टता हुन्छ। मिथकबाहेक खास वा स्पष्ट उल्लेख हुँदैन कुनै शास्त्रमा। हाम्रो लोकजीवनमा अनेक लोकदेवता तथा लोकदेवीहरूको पूजा स्थानीय विशिष्टतासँगै सामूहिकतामा हुने गरेको छ।
छठपर्वको उद्भव तथा प्रचलन र विस्तारको सम्बन्धमा एउटा मिथक प्रचलनमा रहेको छ।
महाभारत कालमा कौरव र पाण्डवबीच भएको सर्तअनुसार बार वर्ष वनवास र एक वर्ष अज्ञातबासमा पाण्डवहरू बस्नुपथ्र्यो। पाण्डवका साथ द्रौपदी पनि थिइन्। वनबासको एकएक सूचना गुप्तचरहरूले कौरवलाई पु¥याइरहन्थे। जब बार वर्ष पूरा हुन थाल्यो तब पाण्डवसमेत द्रौपदीलाई चिन्ताले सतायो। द्रौपदीले गुप्तवासको सफलताको लागि छठ व्रत गरिन्। लोकदेवी छठीमाईको व्रत सम्पन्न भएको केही समयपछि सुरुङमा पसेर सबैजना अलप भए।
रौतहटको गढीमाई नगरपालिकाको समनपुर बजारमा एउटा निकै पुरानो महादेव मन्दिर छ। भनिन्छ, द्रौपदीसहित पाण्डवहरू सुरुङभित्र पसेपछि भीमसेनले एउटा ठूलो ढुंगाले सुरुङको मुख थुने। सुरुङको मुख टालिएको ढुंगोलाई महादेव भनी पूजा गर्न थालियो। कालान्तरमा सोही ढुंगालाई भीमेश्वर महादेव भनिन थालियो। अहिले पनि भीमेश्वर शिवलिंगमाथि चढाइएको जल कहाँ जान्छ, देखिँदैन। जलको निकास कतै नभएकोले शिवलिंगमा अर्पण गरिएको जल सुरुङमा जान्छ भन्ने विश्वास स्थानीयमा रहेको छ।
बागमती नदीको किनारमा सुरुङभित्र पसेका पाण्डवहरू कुनै अज्ञातस्थलमा निस्केर विराट दरबार पुगेका थिए। विराट दरबार अहिलेको विराटनगरमा रहेको प्रमाणहरू भेटिन्छन्। यसैगरी पाण्डवहरूले गुप्तबास आरम्भ गरेको ठाउँ समनपुर हो भने गुप्तबास सफल हुने मनोकामनासहित गरिएको छठपर्वको भूमि पनि यहीको बागमती किनार हो। स्थानीयले छठपर्वको उद्भव भूमि मान्दै आएको भए पनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन।
लोकमान्यताअनुसार छठीमाई सूर्यपत्नी हुन्। छठ पूजामा सूर्य र छठीमाई दुवैको पूजा गरिन्छ। कात्तिक शुक्ल पञ्चमी तिथिको राति गरिने खरना पूजा मूल पूजा हो। खरना नगर्नेले छठ गर्न मिल्दैन तर छठ नगरी खरनामात्र पनि गर्न सक्छन्। अझै पनि लोकजीवनमा धेरै नरनारीले खरना व्रतमात्र गरेको पनि पाइन्छ। खरनामा छठीमाईको पूजा गरिन्छ। कुनै मूर्ति वा प्रतीक हुन्न, बनाइन्न। खरनामा चढाइने सामग्रीमा खीर, मुला र चामलको पिठोको रोटी मुख्य हुन्। कालान्तरमा उपलब्धता तथा सहजताका आधारमा अन्य स्थानीय कृषि उत्पादनहरू पनि समावेश भएका हुन् तथा अझै पनि थपिँदै गएका छन्।
सोझो बुझाइले यो चार दिनको हुन्छ तर वास्तवमा यो छ दिनको पर्व हो। गोवर्धन पूजाको दिन छठको संकल्प गरिन्छ। गाउँटोलका व्रतालुहरू अनिवार्य रूपमा एकले अर्कालाई, घरपरिवारलाई सरापेर व्रतको सामूहिक संकल्प गर्दछन् अर्थात् घरका सबैको सुखको कामना गर्दै व्रतको संकल्प लिने गरिन्छ। यसै दिन छठपर्वको लागि माटोको चुलो बनाउने काम व्रतालुहरूले गर्दछन्। त्यही चुलोमा मात्र व्रतका सामग्रीहरू पकाउनुपर्ने चलन छ। एक दिन बिराएर शुक्ल चतुर्थीको दिन ‘नहाखाएके’ अर्थात् नुहाएर खाने दिन आउँछ। वास्तवमा छठव्रतको संकल्प लिँदा नै हरेक व्रतालु अनिवार्य रूपमा नुहाएर सहभागी भएका हुन्छन् र छठको पारन नभएसम्म अनिवार्य रूपमा हरेक बिहान नुहाउने गर्दछन् तर ‘नहाखाएके’ दिनको विशेषता यो हुन्छ कि व्रतालुहरूले एकापसमा आफ्नो घरमा उत्पादन भएका तरकारीहरू बाँड्दछन्। ‘नहाखाएके’ दिन राति व्रतालुसहित सम्पूर्ण परिवारमा प्रिय र उत्तम तर शुद्ध शाकाहारी भोजन गरिन्छ। खरनाको लागि व्रत बस्नुपर्ने भएकोले सबैले यस भोजनलाई अन्तिम मान्दछन्।
‘नहाखाएके’ दिनको भोलिपल्ट खरना हो। दिनभर निराहार व्रत बसी साँझको समयमा खरनापूजा गरिन्छ। खरनाको प्रसाद पनि बाँड्ने चलन छ। छठको व्रत गर्ने परिवारले एकापसमा खरनाको प्रसाद आदानप्रदान गर्ने तथा जुन परिवारमा व्रत हुँदैन त्यस परिवारमा पनि पु¥याउने काम हुन्छ। यस व्रतको प्रसाद कसैले माग्दैन तर हरेक घरमा भने पुगेको हुन्छ। यद्यपि कुनै घरमा कसैको मृत्यु भएको वा जन्मेको छ भने तिनीहरूको लागि व्रतको रीति केही फरक हुन जान्छ। व्रतको सम्पूर्ण विधिमा आफू संलग्न हुँदैनन्, अरूबाट भने गर्न लगाउँछन्।
खरनामा छठीमाईको पूजा गरेर प्रसाद ग्रहण गरेपछि फेरि निराहार व्रतारम्भ हुन्छ। षष्ठीको दिन निराहार व्रत बसी नदी वा पोखरीको किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। आजभोलि घाटलाई अत्यधिक सजाइन थालिएको छ। वास्तवमा जलाशयलाई सफा र शुद्ध राख्नुपर्छ, यसको किनार पनि पूजनस्थली हो भन्ने सन्देश दिएको छ पर्वले। पहिले केराको थम्बा, अशोकको पत्ता र विभिन्न रंगीन कागजले सजाइने गरेको छठघाटको मौलिकतामाथि आधुनिक सजावटले अतिक्रमण गरिसकेको छ। अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि घाटमै रात बिताउने वा घर फर्किन पनि सकिन्छ। आजभोलि घाटमै बस्ने चलन अत्यधिक भइसकेको छ। जहाँ रहे पनि व्रतालुहरूले फेरि छठीमाई पूजा गर्दछन् र कोसिया भर्दछन्। कोसिया अनिवार्य अनुष्ठान हो। अनि सक्नेले रातभर जाग्राम बसेर र नसक्नेले निदाएर पनि निराहार रही उज्यालो हुनुअगावै स्नान गरी उदाउँदो सूर्यको प्रतीक्षा गर्दछन्। सूर्योदय भएर घाटबाट राम्ररी देखिन थालेपछि वा कुहिरो तथा अन्य कारणले नदेखिँदा पनि बेला भएमा सूर्यलाई पुनः अर्घ दिइन्छ। अर्घ दिएसँगै रातभर जाग्राम बसेको ठाउँमा निर्माण गरिएको श्रीसप्तालाई जलाभिषेक गरेपछि व्रत सम्पन्न हुन्छ। जलाशयको शुद्धता र सफाइ, सामूहिकताको विकास र निरन्तरता, सामाजिक समानता र समता, शरीरको आन्तरिक र बाह्य शुद्धि, आध्यात्मिकता र आस्था, स्थानीय कृषि उपजको सम्मान र उपयोग आदि छठपर्वका विशेषताहरू हुन्।