राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा आराधना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन्।
राष्ट्रपति पौडेल र उनकी श्रीमती सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरे। राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए।
उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरेका थिए। विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। छठका ब्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ। अर्घ दिनका लागि ब्रतालुहरु छठघाटमा पुग्न थालेका छन्। भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ।