उडौं भैरहवाबाटै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए ।
भैरहवा : रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान भएको छ । केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा उडान तालिकासमेत बुझाइसकेका छन् । टिकट बुकिङसमेत खुला छ । भैरहवाको भविष्यसँग जोडिएको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले सेवाप्रदान गर्ने खबरले यस क्षेत्रका नागरिक हर्षित छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए ।
यसमध्ये एयर एसियाले कात्तिक १८ गते आफ्नो भैरहवा–बैंकक पहिलो उडान गरिसकेको छ । एयर एसियालाई उडानमा लगाइएको प्रतिबन्ध फुकुवाका लागि भैरहवाबाट उडान गर्नैपर्ने सर्तका कारण उसले बाध्यात्मक अवस्थामा उडान सेवा थालेको हो । त्यसो त एयर एसियाले भैरहवाबाट उडान गर्न सकारात्मक भए पनि सेवा सुरु गरेको थिएन । एयर एसियाले भैरहवाबाट हप्तामा दुई वटा उडान गर्नेछ ।
‘कम्पनीको लागि सुरुवाती चरण भएकोले कात्तिक १८ गते बैंकक–भैरहवा उडान गरेको र अर्को फ्लाइट कात्तिक २३ गते आउनेछ’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘त्यसपछि सोमबार र बिहीबार दिउँसो १२:१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।’
त्यस्तै, नेपाल एयरलाइन्सले पनि भैरहवा विमानस्थलबाट सेवा प्रदान गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार नेपाल एयरलाइन्सले कात्तिक २३ गतेदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं सातामा चार दिन उडान गर्ने भएको छ । आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ ।
एयर एसियाले कात्तिक १८ गते आफ्नो भैरहवा–बैंकक पहिलो उडान गरिसकेको छ ।
भैरहवा विमानस्थल कार्यालयका अनुसार यहाँबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्सले कात्तिक २४ गतेबाट दैनिक रूपमा र कुवेतको जजिरा एयरवेजले कात्तिक २५ गतेबाट सातामा तीन उडान गर्न लागेको छ । विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ ।
त्यस्तै यसअघि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ ।
‘हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन्,’ प्राधिकरणका सूचना अधिकारी भुलले भने, ‘कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू पनि आन्तरिक छलफलमा आउनेछन् भन्नेमा आशावादी छौं ।’
विमानस्थल सञ्चालनका लागि सरकारले पनि विभिन्न रणनीति अँगाल्दै भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई विभिन्न सुविधा दिएको छ । सरकारले कम्पनीहरूलाई भैैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रति यात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यसको अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ ।
‘विमानस्थलबाट सेवा प्रदान गर्नका लागि तयारी अवस्थामा छौं । यहाँ अध्यागमन, भन्सार, सुरक्षा, कार्गो सेवा, प्लान्ट क्वारेन्टाइन, बैंकलगायत तत्कालका लागि आवश्यक सबै संरचना र जनशक्ति छ’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, चार वटा वायुसेवा कम्पनीले पनि उडान गर्ने तय भइसकेको छ । अब यात्रु आउनुपर्यो ।’
विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले सेवा प्रदान गर्न लागेकोमा यस क्षेत्रमा पर्यटन क्षेत्रमा पनि हौसिएको छ । भैरहवा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्र पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ताले बताए ।
‘विमानस्थल निर्माणमा अर्बौं लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरूले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’ उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौं लगानी र धराशय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चार बाहेक अन्य वायुसेवा कम्पनीहरूलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’
भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले भैरहवा, लुम्बिनीका साथै यस क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा कनेक्टिभिटी हुने र नागरिकको जीवनस्तरसमेत उकासिनमा मद्दत पुग्ने उनको भनाइ छ ।
विमानस्थलमा आवश्यक सबै पूर्वाधार तयार भएर करिब एक वर्षअघि अन्तर्राष्ट्रिय उडानसमेत भइसकेको छ । हालको अवस्थामा विमानस्थलको प्रयोग सबैभन्दा बढी विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि जाने यात्रुहरूले प्रयोग गर्ने गरेका छन् । र, विमानस्थल सञ्चालनका लागि सोही यात्रुहरूलाई मध्यनजर गर्दै सुविधाको आवश्यक छ । जुन हुन सकेको छैन । जसकारण भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा कठिनाइ देखिएको छ ।
‘भैरहवामा सबै सुविधा नहुँदा वैदेशिक रोजगारीमा जाने यात्रुहरूले काठमाडौं विमानस्थल रोज्नुपर्ने बाध्यता छ’ भैरहवाका एक व्यवसायीले दाबी गर्दै भने, ‘साथै, विदेशी राष्ट्रसँग परराष्ट्र मन्त्रालय समन्वय गर्न नसकेको देखिएको छ भने निजी क्षेत्र (म्यानपावर व्यवसायी) ले पनि भैरहवा विमानस्थलाई पूर्ण रूपमा सञ्चालनका लागि सहयोग नगरेको देखिन्छ ।’
केही मुलुकले वैदेशिक रोजगारीमा आउने सर्वसाधारणको स्वास्थ्यजाँच आफैंले मान्यता दिएको संस्थाबाट मात्र गराउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण पनि सर्वसाधारण काठमाडौं जानैपर्ने बाध्यता छ । जसका लागि परराष्ट्रले समन्वय नगरेको देखिएको उनको भनाइ छ ।
‘स्वास्थ्य जाँच काठमाडौंमात्र नभई भैरहवामा नै गर्ने व्यवस्था मिलाउनु पर्यो । सरकारले त्यो भूमिका पनि खेल्नु पर्यो’ उनले प्रश्न गर्दै भने, ‘सबै सुविधा भैरहवामा हुने तर स्वास्थ्य जाँचलगायत गराउन काठमाडौं नै पुग्नुपर्ने भएपछि त्यसको के अर्थ ? ’
वैदेशिक रोजगारीमा जानका लागि सर्वसाधारणले प्रक्रियाका लागि सबैभन्दा अघि म्यानपावर व्यवसायी र ट्राभल्स एजेन्सीमा पुग्छन् । त्यही म्यानपावर व्यवसायी र ट्राभल्स एजेन्सीले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई काठमाडौंमा भुलाउँदा यात्रुले बाध्यतावश भैरहवाको साटो काठमाडौं रोज्नुपर्ने भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा अर्को कठिनाइ छ ।
वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवा क्षेत्रबाट आफूहरू सेवा प्रदान गर्न तयार रहेको तर सरकारले व्यवसायीहरूको समस्या पनि समाधान गर्नुपर्ने बताउँछन् । ‘हामी भैरहवामा आफ्ना सेवा विस्तार गर्न तयार छौं । असहयोग गरेका छैनौं । त्यहाँ सेवा विस्तार गर्दा हामीलाई आवश्यक कुराहरूको मन्त्रालयले व्यवस्था गरिदिन पर्यो’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सेवा शुल्कको विषयमा पनि समाधान हुनपर्यो । त्यसको बैंकिङ कारोबार हुनुपर्छ । सीमित एयरलाइन्सको अवस्थामा महँगो टिकट हुँदा हामीलाई पनि समस्या परेको छ । एयरलाइन्सको बदमासी भयो । यो हुनु भएन ।’
भैरहवामा नियमित उडान भए त्यहाँ सेवा विस्तार गर्न सहज उनको भनाइ छ । काठमाडौंमा एयरलाइन्सहरूको मोनोपोलीले उडान क्षेत्रमा समस्या निम्तिएको व्यवसायीहरू बताउँछन् । विमानस्थल सञ्चालनका लागि सरकारले ०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यस कार्यालयले सेवाग्राहीलाई सेवा दिँदै आएको छ । कार्यालय स्थापनापश्चात् पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिँदै आएको थियो । तर, यसमध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइएको छ ।
कार्यालय प्रमुख केशव भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २२ हजार ४ सय ५९ जना र चालु आवको असोज मसान्तसम्म ४ हजार ७ सय ८३ जनालाई व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइएको छ । संस्थागतअन्तर्गत पूर्व श्रम स्वीकृतिको सेवा विभागले काठमाडौंबाहिर करिब एक वर्ष अघिदेखि बन्द गरेकोले सेवा प्रवाह गर्न नसिकएको उनले जनाए ।
त्यस्तै, वैदेशिक रोजगारमा जाने व्यक्तिले संस्थागतअन्तर्गतकै अन्तिम श्रम स्वीकृति म्यानपावर संस्था हुँदै सेवा लिन आउने भएकोले कार्यालय स्थापनाकालमा सेवा दिइए पनि हाल सेवाग्राहीले सेवा नलिएको बताए । यस कार्यालयका सेवाहरू अनलाइनमार्फत पनि प्रवाह गरिएकोले लगभग अधिकांश सेवाग्राहीले अनलाइनकै माध्यमले सेवा लिने गरेका छन् । हाल दैनिक औसत एक सय जनालाई पुनः श्रम स्वीकृति र ५० जनालाई व्यक्तिगत नयाँ श्रम स्वीकृतिको सेवा प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।
विभागले पूर्व श्रम स्वीकृति सेवा बन्द गर्नु र म्यानपावर व्यवसायीले पनि काठमाडौंबाटै पूर्व र अन्तिम श्रम स्वीकृति सेवा लिने हुँदा वैदेशिक रोजगारीमा जाने यात्रु यीलगायत अन्य कारणले पनि काठमाडौं पुग्नुपर्ने बाध्यता छ ।
‘विभागले पूर्व श्रम स्वीकृतिको सेवा किन बन्द गर्यो ? त्यो थाहा भएन’ प्रमुख भट्टराईले भने, ‘तर, प्रदान गर्नुपर्ने सेवाहरू हामीले प्रवाह गरिरहेका छौं ।’
म्यानपावर संस्थाहरू धेरै काठमाडौंमा भएकोले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार भैरहवास्थित कार्यालयबाट पूर्व श्रम स्वीकृतिको सेवा बन्द गरिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।
‘त्यहाँ म्यानपावर संस्था धेरै नभएकोले मन्त्रालयले सेवा बन्द गर्ने निर्णय गरेपछि सेवा बन्द भएको हो’ उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उच्च प्राथमिकतामा रहेकोले फेरि सेवा प्रवाह हुन सक्छ ।’
भैरहवाको भविष्यसँग जोडिएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले देखाएका आशाका किरणहरू प्रकाशमा बदल्नका लागि भैरहवाबाट सबै सुविधा प्रदानका होटल व्यवसायी, पर्यटन व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकारलगायत सरोकारवालाहरूले सहजीकरण गर्नुपर्ने पर्यटन व्यवसायी गुप्ताको भनाइ छ ।