१० घण्टा बन्द हुँदै त्रिभुवन विमानस्थल, कसरी हुँदैछ उडान व्यवस्थापन ?
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाका लागि आंशिक रूपमा बन्द हुँदैछ । विमानस्थलको रनवे (धावनमार्ग) को दुवै बिन्दुलाई छुने ‘प्यारालाल ट्याक्सी वे’ विस्तारको कामलाई अघि बढाउन विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
कात्तिक २३ गते शुक्रबारदेखि चैत्र १८ गतेसम्म विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर प्यारालाल ट्याक्सी वे विस्तारको काम अघि बढाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । पाँच महिनामा अहिले भइरहेको साबिकको उडानमा करिब ३० प्रतिशत कटौती हुनेछ । विमानस्थलमा हाल आन्तरिक र बाह्य गरी करिब पाँच सय उडान तथा अवतरण हुने गरेका छन् ।
हिउँदमा पर्यटक आउने क्रम घट्ने भएकाले विमानस्थल बन्द गर्ने उपयुक्त समय भएको प्राधिकरणको भनाइ छ । ‘एउटै सिजन मात्र डिस्टर्ब होस् र एउटै सिजनमा काम सक्कियोस् भन्ने हिसाबले अहिले बन्द गर्न लागिएको हो । हामीले ६ महिनाअघि नै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नोटिस जारी गरेका थियौं,’ भुल भन्छन् ।
रन वेमा ट्याक्सी वे लगेर जोड्नुपर्ने भएकोले विमानस्थल बन्द गर्नु परेको प्राधिकरणको भनाइ छ । ‘विमानस्थल सुधार गुरुयोजनाबमोजिम भइरहेको नियमित काममध्ये यो एउटा हो । ट्याक्सी वे, नयाँ ह्यांगर र इन्टरनेसनल पार्किङ गरी तीन काम अहिले पाँच महिनामा हुनेछन् । ट्याक्सी वे रनवेको ७५ मिटरभित्रको काम भएकोले रनवेमा जहाज टेक अफ र ल्यान्डिङ गर्न नमिल्ने हुँदा आगामी पाँच महिनामा १० घण्टा एयरपोर्ट बन्द गर्न लागेको हो,’ भुल बताउँछन् ।
मुलुकमा आगामी २० वर्षमा हवाई यातायातको वार्षिक स्थिर वृद्धि (३–५ प्रतिशतसम्मको) हुने अनुमान छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं सहरको ज्यादै नजिक रहेकाले यसको सीमा क्षेत्रभन्दा थप विस्तार गर्ने अवस्था छैन । बढ्दो मागलाई विमानस्थलको हालको सीमा क्षेत्रभित्रै उपलब्ध क्षेत्रफलको प्रभावकारी उपयोग गरेर सम्बोधन गर्नुपर्ने देखिन्छ । यसैका लागि प्राधिकरणले एडीबीको सहयोगमा सन् २०१०–२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेको छ । विमानस्थल विस्तारको लागि १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिएको बताइएको छ ।
- राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर प्यारालाल ट्याक्सी वे विस्तारको काम अघि बढाइने
- पार्किङ बनिसकेपछि थप १८ अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सकिनेछ। अहिले ११ विमान पार्किङ हुँदै आइरहेको छ।
- विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुँदा यसको क्षमता ३० प्रतिशतले खुम्चिन जान्छ।
- आन्तरिक उडान पनि ३५ प्रतिशत कम हुन्छ। त्यो कम भएको उडान अन्य क्षेत्रीय विमानस्थलबाट व्यवस्थापन गर्न निर्देशन दिइएको छ
- ट्याक्सी वे, नयाँ ह्यांगर र इन्टरनेसनल पार्किङको काम पाँच महिनामा हुनेछन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार ट्याक्सी वे विस्तारको काम भइरहेको छ । २०२६ सम्म सक्ने गरी तीन वर्षका लागि गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई ट्याक्सी वे विस्तारको ठेक्का दिइएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको लगानीमा ट्याक्सी वे विस्तारको काम भइरहेको छ । प्यारालाल ट्याक्सी वे नहुनाले सबै जहाज रनवेबाट टेक अफ गर्दै आइरहेका छन् । यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन् । प्यारालाल ट्याक्सी वे हुँदा जहाजहरू यसबाट नै उडानका लागि क्युमा जान सक्छन् । यो हुनेबित्तिकै रनवेको क्षमता करिब २५ प्रतिशतले बढ्ने सूचना अधिकारी भुल बताउँछन् ।
आयोजना क्षेत्रमा ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन÷ओराल्न र सामान राख्न÷झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने, ह्यांगर थप गर्ने र धावन मार्गको दक्षिणी भागमा तीन सय मिटर धावन मार्ग विस्तार गर्ने रहेका छन् । धावन मार्ग (रनवे) विस्तारको काम भइसकेको छ ।
धावन मार्गको दक्षिणतिरको अन्तिममा ट्याक्सी वे विस्तार गर्ने, जहाज पार्किङस्थल (ह्यांगर) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा स्थानान्तरण गर्ने र आन्तरिक विमानस्थलमा यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) निर्माण गर्ने लगायत गुरुयोजनाअन्तर्गत सन् २०२८ को अनुमानित माग धान्ने गरी हवाई उड्डयन सुविधाको थप विकासको योजना गरिएको छ । आयोजनाको कुल लागत करिब १५ अर्ब रहेको सूचना अधिकारी भुलले जानकारी दिए ।
१८ विमान पार्किङ गर्न मिल्ने
धावनमार्गको उत्तरपश्चिमपट्टि अन्तर्राष्ट्रिय एप्रोन (पार्किङ) विस्तारको काम भइरहेको छ । पार्किङ बनिसकेपछि थप १८ अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सकिनेछ । अहिले ११ विमान पार्किङ हुँदै आइरहेको छ ।
चाइना नेसनल एरो टेक्नोलोजी इन्जिनियरिङले २०२० मा यो आयोजनाको ठेक्का पाएको थियो । कोभिडका कारण काम सुरु नभएको एप्रोन विस्तारको काम आगामी दुई वर्षभित्र सकिनेछ । ह्यांगर एरिया (जहाजहरूको मर्मत गर्ने ठाउँ) विकासको काम पनि भइरहेको छ । धावनमार्गदेखि पूर्वतिर यसको काम भइरहेको छ । केडिएन र सीसीईसीसी जेभी (सहकार्य) चाइनिज कम्पनीले ठेक्का पाएको छ । यो आयोजना पनि सन् २०२६ सम्म सक्नुपर्नेछ ।
प्राधिकरणको आम्दानी घट्ने
प्राधिकरणको आम्दानीको मुख्य स्रोत भनेको विमानस्थल शुल्कबापतको ल्यान्डिङ पार्किङ, नेभिगेसन, भाडा आदि हो । जति धेरै जहाजले उडान/अवतरण गर्छन, त्यत्ति नै प्राधिकरणलाई फाइदा हुन्छ ।
प्राधिकरण अन्तर्गत ३ अन्तर्राष्ट्रिय गरी ५४ विमानस्थल सञ्चालनमा छन् । प्राधिकरणको आम्दानीमा ५४ विमानस्थलमा प्रमुख आयस्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । विमानस्थल १० घण्टा बन्द हुँदा प्राधिकरणको आम्दानी ४० प्रतिशतले कटौती हुने भुल बताउँछन् । त्रिभुवन विमानस्थलमा उडान कटौतीसँगै भैरहवा र पोखरामा विमानस्थल शुल्क निःशुल्क गराउँदा प्राधिकरणलाई थप आर्थिक भार परेको उनले बताए ।
पोखरामा छैन अन्तर्राष्ट्रिय उडान
मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा पनि उडानका लागि प्राधिकरणले विकल्प दिएको छ । यहाँ लाग्ने सबै विमानस्थल शुल्कलाई छुट पनि गरिदिएको छ । तर, अहिलेसम्म पोखरामा नियमित उडानका लागि कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीहरूबाट अनुरोध नआएको प्राधिकरणका सूचना अधिकारीले भुलले जानकारी दिए । फाट्टफुट्टै चार्टर्ड उडान बाहेक नियमित उडान नभएको उनले बताए ।
जग्गा अधिग्रहणको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (पुस १७ गते ) देखि तामझामका साथ विमानस्थल सञ्चालनमा आएको थियो । उद्घाटनको दिन नै पोखरा–बनारस, बनारस–पोखरा उडान भर्ने गरी बुद्ध एयरले अनुमतिका लागि भारतलाई पत्राचार गरेको थियो । तर, ‘कुनै प्रतिक्रिया’ नआएपछि आन्तरिक उडान मात्र भइरहेको छ ।
चौबिसैघण्टा चल्न सक्ने व्यवस्थित विमानस्थल बनेको प्राधिकरणले बताइरहँदा करिब दुई वर्षमा एउटा पनि नियमित उडान हुन सकेको छैन । पोखरामा वर्षमा १० लाख जना आउजाउ गर्न सक्ने र प्रतिघण्टा ६ सय १० जना यात्रु क्षमता भएको भनिएको छ ।
त्रिभुवन विमानस्थलको क्षमता बढ्ने
विमानस्थलको ट्याक्सी वे, ह्यांगर र पार्किङ विस्तार पछि यसको क्षमता २५ प्रतिशतले बढ्ने प्राधिकरणले जनाएको छ । अहिले केही समय सास्ती खेप्दा पछि त्यसले प्राधिकरणसँगै सरोकारवाला विमान कम्पनी र यात्रुहरूलाई फाइदा पुग्ने सूचना अधिकारी भुल बताउँछन् ।
विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुँदा यसको क्षमता ३० प्रतिशतले खुम्चिन जान्छ । कम भएको उडानको २० प्रतिशत भैरहवा र १० प्रतिशत पोखरा अन्तराष्ट्रिय विमास्थलबाट व्यवस्थापन गर्न सकिने गरी विकल्प दिएको भुलले बताए । कयौंले त्यो विकल्प अपनाएका छन् । पोखरा र भैरहवामा उडान होस् भनेर प्राधिकरणले छुटसहितको बिजनेस प्याकेज पनि घोषणा गरेको छ ।
आन्तरिक उडान पनि ३५ प्रतिशत कम हुन्छ । त्यो कम भएको उडान अन्य क्षेत्रीय विमानस्थलबाट व्यवस्थापन गर्न निर्देशन दिइएको छ । यसले गर्दा रनवेमा जहाज उड्ने र ल्यान्ड गर्ने समय कम हुन्छ । रनवे अकुपेन्सी टाइम २५ प्रतिशतले घट्छ र विमानस्थलको ट्राफिक ह्यान्डलिङ क्षमता पनि २५ प्रतिशतले बढ्छ । आगामी समर (गर्मी) सिजनमा अहिले पाँच महिना दुःख गरेकोबाट पछि बढी ट्राफिक व्यवस्थापन गर्न सक्षम हुने भुल भन्छन् ।
रनवे विस्तार समयमा नै सक्न आओनको आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारको काम तोकिएको समयमा सम्पन्न गर्न आन्तरिक वायुसेवा सञ्चालक संघ (आओन)ले आग्रह गरेको छ । प्राधिकरणले कात्तिक २३ देखि करिब ५ महिनासम्म विमानस्थलको स्तरोन्नति गर्न साबिकको ‘उडान समय’ घटाएको र बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी गरेको सन्दर्भमा आओनको यो भनाइ आएको हो ।
विमानस्थल सञ्चालनको समय घटाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूको करिब ३० प्रतिशत उडान कटौती हुनेछ । तर, पूर्वाधार निर्माणपश्चात् आन्तरिक वायुसेवा कम्पनीहरू तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने संघको रहेको छ । यसका साथै संघले यात्रुहरूलाई तोकिएको समयमा चेक इन् गर्न आग्रह गरेको छ ।
विमानस्थल स्तरोन्नतिको काम जाडो महिनामा हुने भएकोले अधिकांश विमानस्थलहरूमा हुस्सु तथा कम भिजिविलिटीका कारण नियमित उडान प्रभावित हुने, आईएफआर उडान हुने विमानस्थलहरूमा रात्रि उडान भए पनि १० बजेभित्र सम्पन्न गरिसक्नुपर्ने, सदस्य वायुसेवा कम्पनीहरूका चेक इन् काउन्टर उडान समयभन्दा करिब १५ मिनेट अगाडि नै बन्द हुने भएकोले यात्रुहरूले टिकटमा उल्लेखित समयमा नै चेक इन् हुन भनिएको हो ।
हेलिकप्टरहरूले भीएफआर उडानअन्तर्गत नलिञ्चोक हेलिप्याडबाट सूर्योदयदेखि सूर्यास्तसम्म नै हेलिकप्टर उडान तथा अवतरण हुने र विमानस्थलबाट बिहान ८ बजेदेखि उडान तथा अवतरण हुने बताइएको छ ।