सिस्ने गाउँपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने
रुकुमपूर्व : सिस्ने गाउँपालिकाले नि:शुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नि:शुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको हो।
लक्षित समुदायका लागि गाउँपालिका स्तरीय लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेकोले सिस्ने गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गरिरहेकाहरूका लागि उक्त नि:शुल्क लोक सेवा कक्षा सञ्चालन गर्न लागेको सिस्ने गाउँपालिकाले जनाएको छ।
लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गरी सरकारी सेवा प्रवेश गर्न योग्यता पुगेका इच्छुक गाउँपालिकावासीले मंसिर ७ गते भित्र सिस्ने गाउँपालिकाको कार्यालयमा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले यस अघि गाउँपालिकाबाट लोक सेवा आयोग पूर्व तयारी कक्षा लिएकाहरूलाई बिशेष प्राथमिकता दिइने र कक्षा सञ्चालन मंसिर १२ गते बुधबारदेखि हुने बताए।