कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको उदघाटन गर्दै खानेपानी मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च भएको बताए।
'कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ,' मन्त्री यादवले भने। पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए।
'कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो। जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ। यस्ता प्रतियोगिताहरूले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्याउँछ,' उनले भने।
मन्त्री यादवका अनुसार यस्ता प्रतियोगिताहरूले समुदायमा खेलकुदको महत्त्वलाई पुनः स्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्याउँछ। 'स्थानीय प्रतिभाहरूलाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो। यस्तो प्रतियोगिताले युवाहरूलाई गलत बाटोमा नलागी खेलकुदमा लाग्न प्रेरित गर्छ। जुन स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो,' उनले थपे।