देशको अनुहार
देशको अनुहारमा
म चालिरहेछु चाल्नोमा
हिँड्दै बनाइरहेछु पहराहरूमा बाटो
जसरी नदीहरूले आदिम सुस्केरा हालेर
बनाएको छ आफ्नै नागबेली घुम्ती
हिमालहरूले खोलिरहेका छन्, आफ्नै स्वाभिमान।
हो, छाडदनँ देश म
जीवनको चुलोमा
पकाउँछु आफ्नै रहरहरू
लेख्छु जिन्दगीको किताबमा भोगाइका अक्षरहरू
तर घर–ढोका थुनेर उडिरहेको देख्दा
म सोच्छु, सबै उडिरहे
जानेछन् श्रम, सीप, विचार विदेश
अल्मलिने छन् विकासका फूलहरू
पोखिने छन् मानिसका खुसीहरू
लाग्नेछन् बाजेबराजुका विश्वासहरू।
म भन्छु, जति होस् विचारको युद्ध
जीवनको राजमार्ग आफैंले खन्नु पर्छ
देश छाड्नु मात्र सान्त्वना पाउनु हो
तब फुल्छ देशप्रेम जंगली फूल भएर
नहारेको मेरो एक्लोे मैदानमा।
म देख्छु
– मादलको घिन्ताङ
– रोदीको खाल
– सारंगीको तारबाट छुटेका
प्रेमका लय हालेर हिँडेका मानिस
फर्कँदैननडाँडालाई सिरानी हालेर सुत्छ घाम
समय आफ्नै काँधमा हात राखेर
पर्खिरहन्छ तिनको बाटो
मृत्यृ पर्खिरहेका वृद्ध बा–आमा
एक हिउँद नकाट्ने बूढो घर रसाउँछ।
आँखा र सम्हालिन्छु
ढुंगाले त मुर्ति बन्न
फुकाल्न पाउँदैन दुःख
सपनाहरू हत्केलाको आयुबाट फुत्के पनि
देशलाई देश जस्तो बनाउन
म प्रश्नहरूको कुची चलाइरहन्छु
देश त मेरो बाको अनुहार जस्तै छ।