तपाईंको स्वभाव र कार्यशैली परिवर्तन नगर्ने हो भने...
सन् १९४३ तिरको कथा हो, हेनरी एम नाम गरेका व्यक्ति जो मिर्गी रोगका बिरामी थिए। निजको उपचारको क्रममा ब्रेनको केही भाग हटाउनुपर्ने भयो र सर्जरीमार्फत हटाइयो। सर्जरीपश्चात् उनी त्यो रोगबाट मुक्त भए। सर्जरीको कारण उनको 'सर्ट टर्म मेमोरी लस' भयो। जसको असर उनको बौद्धिकता, व्यक्तित्व क्रियाशीलता र क्षमतामा समेत पर्न गयो। उनले केही पनि सम्झन नसक्ने भए। निजका आफन्त, डाक्टर, घर, घर जाने आउने बाटो सब बिर्सिए। भर्खरै खाएको खानेकुरा समेत बिर्सने भए।
सर्जरीपश्चात उनी समयको उल्झनमा टक्क अडिए। न हिजो न भोलि न आज केही थाहा नपाउने भए। बाँकी जीवन व्यतित गर्न के गर्ने भन्ने सोचसमेत रहेन। अचम्म भयो। उनको जटिल रोगको निवारण भयो। तर, जीवन जहाँको त्यही रहिरह्यो। जीवनको कालखण्डमा देखिएको एउटा समस्या समाधान गर्दा त्योभन्दा ठूलो समस्याको घेरामा पर्न गयो। जसले जीवनका आगामी बाटोहरू समेत बन्द गरिदियो। जीवन हुनु र नहुनुको अर्थ रहेन।
समस्याको उल्झनका कारण स्वयं व्यक्तिमात्र हैन घर परिवारका सदस्यलाई समेत पिरोल्यो। प्रस्तुत कथाले दिने शिक्षाः जो व्यक्तिले आफ्नो क्षमता र योग्यताको मूल्यांकन नगरी वृद्धि र विकासका लागि लाग्छु भन्छ त्यो व्यक्ति हेनरी एमजस्तै हुन्छ। जीवन बाँच्न कडा संघर्ष गरिरहेको हुन्छ तर परिणाम शून्य हुन्छ। समय दौडिरहेको हुन्छ तर उसको जीवनको समय जहाँको त्यही टक्क अडिन्छ। भूत न भविष्य हुन्छ। हिजो कहाँ थिए आज कहाँ छु र भोलि कहाँ पुग्नुपर्ने हो भन्ने एकीन गर्न सकिँदै। त्यसैले भन्ने गरिन्छ, आफूले आफ्नो क्षमताको सही आकलन सही समयमा गर्नसकेमात्र त्यो व्यक्तिले सदैव आफूलाई सफल व्यक्तिको रूपमा स्थापित गर्न सक्छ। अन्यथा हेनरी एमको अवस्थामा पुगिन्छ, जहाँको त्यहीँ, जस्ताको तस्तै।
सामान्यतया मानिसका स्वभाव तीन प्रकारका हुने गर्छन्।
१. त्यस्ता व्यक्ति जो सधैं अन्यौलतामा रहन्छन्। जीवनको उद्देश्यमा स्पष्ट हुन्नन्। भौतिक शरीर अगाडि बढिरहेको हुन्छ तर बौद्धिकतालाई कसरी अगाडि बढाउने कुनै उपाय देख्दैनन् र अन्यौलतामै जीवनरुपी गाडी चलाइरहन्छन्। सफलताका लागि प्रयास विल्कुल गर्दैनन्। यस्ता व्यक्तिले अरुको विषयमा नकारात्मक टीकाटिप्पणी बढी गर्छन्। जसको ज्ञानको चेत खुलेको हुन्न, उसले असल र खराबबीचको फरक छुट्याउन सक्दैन। अरुको प्रशंसा गर्न पटक्कै सक्दैनन् र रुचाउँदैनन् पनि। अरु खुसी देखेर दुःखी हुने व्यक्ति यस समूहमा पर्ने गर्छन्।
२. अर्काथरी व्यक्ति उनीहरूलाई सब थाहा हुन्छ तर निराशामा बाँचिरहेका हुन्छन्। खै म गर्न सक्छु र जानेको त छु भन्न मिल्छ र अरुले के भन्ने हुन्। बढी नै सोचाइमा घोत्लिने गर्छन्। परिवर्तनको डर र जिम्मेवारी हस्तान्तरणको डरले यथास्थितिमा रमाउने स्वभावका हुन्छन्। उनीहरूलाई आफ्नो सम्भावना थाहा हुन्छ तर डर र निराशाका कारण अगाडि बढ्न सक्दैनन्। अरूको सफलताको रिस गर्ने गर्छन्। अरुको मेहनत र कामको खुलेर प्रशंसा गर्ने सक्दैनन्। जिम्मेवारीबाट पन्छिन खोज्छन्। जिम्मेवारी दिँदा स्वीकार गर्दैनन्। मैले जिम्मेवारी पाइन मेरो अधिकार छैन नत्र मैले सहज रूपमा त्यो काम गरिदिन्थे भन्छन्। अगाडि मीठो बोल्ने र पछाडि बेसरी नै नकारात्मक टीकाटिप्पणी गर्छन्। दोहोर स्वभावका हुन्छन्। ज्ञानको सागर हुन्छ तर व्यवस्थापन गर्न सक्दैनन्। उनीहरूलाई सबैले राम्रो भनिदिउन् भन्ने अपेक्षा गर्छन्।
३. अन्तिममा त्यस्ता व्यक्ति जो आफ्नो क्षमता र सम्भावना सबै पढ्न सक्छन्, गन्तव्यको नक्सा कोर्दै अगाडि बढ्न सक्छन्। संघर्षमा रमाउने गर्छन्। सफलता असफलतालाई स्वीकार गर्ने गर्छन्। उनीहरू आफ्नो विकासका लागि लागि पर्छन् र सफलता हासिल गर्छन्। यस्ता व्यक्ति सदैव सफल हुन्छन् र अरूको लागि मार्ग दर्शक बन्न पुग्छन्। अधिकार जिम्मेवारी र कर्तव्यप्रति स्पष्ट हुन्छन्। यस्ता व्यक्ति भित्रबाटै खुसी हुन्छन्। देशको विकास र समृद्धिका लागि क्रियाशील रहन्छन्। न्यायपूर्ण समाजको विकासमार्फत देशलाई समृद्ध बनाउन खासमा हामीलाई चाहिएको तेस्रो प्रकारका स्वभाव भएका मानिस हो।
मानिसको स्वभाव पूर्वानुमानयोग्य हुँदैन परिस्थितिजन्य हुन्छ। तर, आधारभूत मूल्य र मान्यता सरल रेखामा दौडनुपर्ने तर दौडिरहेको हुँदैन। आम स्वभाव भौतिक वस्तुमा केन्द्रित हुँदै गएको छ। असल मन र भावनाको सम्मान र कदर छैन। नैतिक मूल्य र मान्यतामा ह्रास आएको छ। निःस्वार्थ भावले कसैले कसैलाई सहयोग गरिरहेको छ भने पनि आशंकाको दृष्टिकोणले हेर्ने गरिन्छ। असल र खराबबीचको फरक छुट्याउन गाह्रो भइरहेको छ। हामी भएर पनि नभएजस्तै व्यवहार देखाइरहेका छौं। परिवार र संगठनका सदस्यबीच के भइरहेछ सरोकार राख्दैनौँ। 'नन अफ माइ बिजनेस' भन्छौँ। त्यो हाम्रो संस्कार हो र?
हामी त सर्वजन हिताय सर्वजन सुखायमा विश्वास राख्ने व्यक्ति हैनौँ र। तर, समाजमा आजकल उल्टो भइरहेको छ। कर्म गर्न समय खर्चिनुपर्नेमा आलोचनामा समय खेर फालिरहेका छौं। चिया पसल होस या औपचारिक वा अनौपचारिक भेटघाट जहाँ पनि नकारात्मक टीकाटिप्पणी हाबी भएको देख्छौं। हामी सबै नेता, कर्मचारी, डाक्टर, इन्जिनियर, सामाजिक कार्यकर्त्ता बन्छौं। सबै क्षेत्रको विज्ञ हुन्छौं। कानुनको परिपालन आफूले हैन अरुले गर्नुपर्नेझैँ गर्दछौं।
मुलुकमा असल मानिस सकिएझैँ गरी प्रस्तुत हुन्छौं। तर, समाज, संगठन र मुलुक असल मानिस भएकै कारण चलिरहेको छ भन्ने बिर्सिन्छौं। कयौँ उदाहरणीय काम भएका थिए छन् र हुन्छन् ती विषय चटक्क बिर्सन्छौं। सबै काम राम्रो गरेको तर अन्जान वा भूल वश कुनै एउटा काम बिग्रन गयो भने त्यो समाचारको हेडलाइन बनाउने गर्छौ। राम्रो कामको प्रशंसा गर्ने संस्कारको अन्त्य भए जस्तो गरी आफूले के गरिरहेको छु भन्ने बिर्सिएर अरुको स्वभाव, कार्यशैली जिम्मेवारीप्रति खोट देखाइरहेका हुन्छौं। जिम्मेवारी पन्छाइरहेका हुन्छौं। आफ्नो कमी कमजोरी सुधार गर्नु साटो अरुलाई सुध्रिन निरन्तर सुझाव दिइरहेका हुन्छौं।
सामाजिक सञ्जालमा उत्कृष्ट बन्दै वास्तविकतामा निकृष्ट बनिरहेका छौ। सबैलाई खराब देख्ने बानी परेका हामी आफू साच्चिकै राम्रो छु भन्ने भ्रममा बाँचिरहेका छौं। आफ्नो काम, कर्तव्य, भूमिका र जिम्मेवारी थाहा नहुने तर अरूको विषयमा पटक-पटक प्रश्न गरिरहेका हुन्छौं। अरूको कार्यक्षेत्रको विषयमा बोल्ने गर्दछौं। यो स्वभाव आम बन्न पुगेको छ। आफ्नो र मुलुकको श्री बृद्धिमा समय लगाउनुको साटो व्यक्ति, संगठन र सरकारको आलोचनामै हामी समय खेर फालिरहेका हुन्छौं जुन रचनात्मक हुन्न र अन्तत्तोगत्वा समाज र संगठन विकृत हुन पुग्छ। व्यक्तिमा नकारात्मक भाव पैदा हुन थाल्छ र उसमा निराशा कुण्ठा र दिकदारी मात्र देखिन्छ।
सबै क्षेत्रका व्यक्ति र नेतृत्वको स्वभाव पनि उल्लेख भएरभन्दा फरक देखिनन्। शायद हामी सबैको स्वभावको कारण आज समाज, संगठन र सरकारका काम कारबाही थप रचनात्मक हुन नसकेको हो कि। यसैतर्फ सबैले ध्यान पुर्याउन छ। हामीमा नकारात्मक स्वभाव हाबी हुँदै गएको छ। राम्रा कथा र समाचार बिरलै सुन्न र पढ्न पाइन्छ। मानिसको स्वभावको जोड नै उसको पहिचान हो।
हाम्रो पछिल्लो स्वभावले हाम्रो पहिचान नै बदलिएको हो कि भन्ने महसुस भएको छ। धैर्यवान वीर साहसी असल व्यवहारको पहिचान बनाएका हामी आजकल असल र खराब बीचको भेद छुट्याउन नसक्ने अवस्था पुगेको हो कि भन्ने लाग्छ। सबै असल नभए नि सबै खराब त पक्कै हैन। असल व्यक्तिको पहिचान गरौं असललाई अगाडि सारौं असललाई नेतृत्व गर्न दिउँ कसो सकारात्मक परिणाम नआउला र। एकले अर्कोलाई तुच्छ देख्ने कमेन्ट तुच्छ गर्ने कोहीमाथि कसैले विश्वास नगर्ने नेता, कर्मचारी, व्यापारी, नागरिक सब चोर भन्ने सोच भाषा शैली बदलौं।
मुलुकका नागरिक हामी नै हौ र नेतृत्वमा पुग्ने पनि हामी कोहीबाट नै हो। माथि उल्लेख भएको तीन प्रकारका स्वभावका मानिस मध्ये तेस्रो समूहका मानिस छानौं। आफू इमान्दार हौं, अरूलाई पनि इमान्दार हुन प्रेरित गरौं। विदेश जाँदा हामी इमान्दार हुन सक्ने, नचिनेका व्यक्ति र नजानेको प्रणालीलाई विश्वास गर्न सक्ने तर यहाँ नसक्ने किन होला सौचौं। अरूले के गर्छभन्दा पनि आफू के गर्छु र मेरो जिम्मेवारी के हो भन्ने विषय पटक-पटक सम्झने गरौं। घटना के हो के कारण भयो यथार्थता नबुझी व्यक्तिको मानमर्दन गर्ने सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिने गालीगलौज गर्ने काम बन्द गरौँ। गलत काम गर्नेलाई कारबाही गर्ने निकाय छन्। ती निकायलाई स्वतन्त्रपूर्वक काम गर्न दिउँ।
सकारात्मक चिन्तनले पो सकारात्मक परिणाम देला नकारात्मक चिन्तनले नकारात्मक परिणाम नै दिने हो। भोलिका दिनमा हाम्रो पहिचान के होला। हाम्रो संस्कार मूल्य र मान्यता कहाँ गयो कता हरायो भन्ने होला। हामीले भाबी सन्ततिलाई सामाजिक मूल्य मान्यता नैतिकता र देश प्रेम के हो भनी कसरी सिकाउने होला। हाम्रो पहिचान आर्थिक रुपमा सबल सक्षम सामजिकरूपमा सहिष्णु भएको बनाउन खोजिएको हो नि। युवा पुस्ता स्वदेशमै रहेर उद्योग धन्दा चलाउन सकून र रोजगारी सिर्जना गरून् भन्ने हो।
हरेक नेपाली सबल सक्षम र प्रतिस्पर्धी होउन भन्ने हो तर अहिलेको हाम्रो कार्यशैली व्यवहार र सोचले के यो सम्भव छ त। गम्भीर भएर सोच्नुपर्ने दिन आएको छ। यसको लागि नेतृत्व नै हो बढी जिम्मेवार हुनुपर्ने र हुने। नेतृत्व जो सुकैले गरेपनि र जुनसुकै क्षेत्रको गरे पनि तत् तत् क्षेत्रमा कार्यरत व्यक्ति र पदाधिकारी आफू पनि अनुशासित र मर्यादित हुनुपर्यो र अरुलाई पनि त्यस्तै बनाउन सक्नुपर्यो। सकारात्मक सोच र चिन्तनको संस्कार विकास गर्दै त्यसलाई संस्थागत गर्न सक्नुपर्यो। गलत काम गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सक्नुपर्यो।
व्यक्तिको पहिचान होस वा राष्ट्रको सर्वप्रथम आफूले आफूलाई चिन्न सक्नुपर्छ। आफ्नो सम्भाव्यतालाई नियाल्न सक्नुपर्छ। आफ्नो स्वभाव र व्यवहार स्वीकार्य आचरणयुक्त र सकारात्मक बनाउनुपर्छ। स्वभाव कर्मशील हुनुपर्छ। विकासको मार्ग पछ्याउने गरी क्षमताको विकास गर्नुपर्छ। आफ्नो असली सुगन्ध र दुर्गन्ध आफैंलाई थाहा हुन्छ। त्यसको फैलावट र उपचार पनि आफैंलाई थाहा हुन्छ। माटोको सुगन्ध आफैंले चिन्न सक्नुपर्छ। आफ्नो बोली व्यवहार र आचरणमा शुद्धीकरण गर्नुपर्छ। काम कर्तव्य र जिम्मेवारी बोध गर्न सक्नुपर्छ।
कानुनले दिएको अधिकारको विषयमा बोलिरहँदा कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्ने विषय बिर्सनु हुन्न। संविधानले नागरिकका अधिकारका साथसाथै कर्तव्यको विषयमा पनि उल्लेख गरेको छ। राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु संविधान र कानुनको पालना गर्नु राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। नेपालको नागरिक भएको कारण के हामीले संविधानमा उल्लेख भएको कर्तव्य निर्वाह गरेका छौं त। कर्तव्य विमुखलाई कर्तव्य निर्वाहका लागि के कति पहल गरेका छौं। हामीले आफ्नो हक अधिकार माग गरिरहँदा अरूको हक अधिकार कतै खोसिएको त छैन हनन भएको त छैन सदैव ख्याल गर्नुपर्छ।
व्यक्तित्व विकासको मोडल व्यक्ति आफैंले तयार गर्ने हो र विकासको अभियान आफैंले र आफैंबाट सुरु गर्ने हो। देशको नयाँ पहिचान आफैंले कायम गर्ने हो। अन्य देशका नागरिकले आएर देश बनाइदिने हैन। विकासको सुरुवात आफैंबाट हुनुपर्छ। सगरमाथाको देश वुद्धको देश गोर्खालीको देश भनेर बनेको नेपालीको पहिचानमा इटा थप कसले गर्ने। अबको पुस्ताले नयाँ नयाँ इतिहास रच्दै नयाँ पहिचान कायम गर्दै जानुपर्ने हैन र। विकसित देश भ्रष्टाचार न्यून भएको देश र दक्षिण एसियामा प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको देशको पहिचान कायम गर्न लागि पर्नुपर्ने हैन र।
त्यो कटिबद्धता भएका व्यक्ति धेरै छन् विदेशको सुख सयलको जिन्दगी छाडेर देशको लागि फर्केर आउने नेपाली धेरै छन्। तर, उनीहरूले अवसर पाए पाएनन् नेतृत्वले हेक्का राख्नुपर्छ। हामी कसैलाई गरीब देशको नागरिक भएर बाँच्न मन छैन हामी सबैलाई शानका साथ बाँच्न मन छ विश्वमा गर्वका साथ नेपाली हौं। हामी समृद्ध राष्ट्र नेपालबाट हो भन्ने रहर छ। तर, हाम्रो स्वभाव आहार विहार सोच विचार कार्यशैली र प्रवृत्तिले सम्भव होला र। त्यसैले पनि हो हाम्रो पहिचान बदल्नका लागि हामीले हामीलाई बदल्न जरुरी छ हाम्रो स्वभाव र व्यवहार बदल्न जरुरी छ दृष्टिकोण बदल्न जरुरी छ।
संविधान आवधिक योजना, बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएको भाषा शैली पढ्दा यति आनन्द आउँछ कि एकछिन वास्तविकतालाई बिर्सने हो भने देश वास्तवमै समृद्ध भयो भन्ने लाग्छ। जताजतै गुणस्तरीय शिक्षा स्वास्थ्यमा यातायातमा पहुँच भए झै लाग्छ सबै नेपाली खुसी र समृद्ध भएझैँ लाग्छ। न्यायपूर्ण समाज विकास भएझैँ लाग्छ।
कागजी पाना पल्टाइरहँदा जताततै विकासको सुगन्ध मिल्छ तर यथार्थमा ठ्याक्कै महसुस गर्न सकिएको छैन। त्यसकारण आम नागरिकमा निराशा छाएको छ। युवा निर्यात गर्ने देश, विप्रेषणमुखी र आयातमुखी अर्थतन्त्र, अनियमितता र भ्रष्टाचारमा अग्रपङ्क्तिमा रहेको देश, प्रतिव्यक्ति आय न्यून भएको देशको रूपमा हाम्रो छवि कायम हुँदैछ। हामी सबै मिलेर हालको हाम्रो स्वभाव परिवर्तन गर्न र हाम्रो छविलाई गलत सावित गर्न लागि पर्नुछ। सबैले आ-आफ्नो स्वभाव कार्यशैली र व्यवहार बदल्न जरुरी छ।
भोलिबाट हैन आजबाट अहिलेबाट विकासका लागि एकजुट भइ हातेमालो गर्न जरुरी भइसकेको छ। कसले सुरु गर्ने कोबाट र कहिलेबाट भन्ने अन्यौलताको अन्त्य गरी विकास र समृद्धिको अभिभारा हामी सबैको जिम्मेवारी भनी लाग्नुपर्ने दिन आएको छ।
- लेखक नेपाल सरकारका सहसचिव हुन्।