बिजोग विमानस्थल
मुलुकमा चल्तीमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घन्टा बन्द हुन थालेको छ । स्वदेशी र विदेशी गरी दैनिक ५ सय उडान यो विमानस्थलबाट हुँदै आएका छन् । अब त्यसमा ३० प्रतिशत कटौती हुन्छ । ट्याक्सी–वे विस्तारका लागि काम हुँदा जहाजको उडान र अवतरण हुन नसक्ने भएको छ । अन्तर्राष्ट्रिय उडानसमेत कटौतीमा परेपछि त्यसको सोझो असर यात्रुभाडामा परिसकेको छ । बिदेसिने युवाले महँगो हवाई टिकट काट्नु परिसक्यो । रातको समयमा काम गरेर विमानस्थल १४ घन्टा चालु गर्दा पनि प्रत्यक्ष असर परेको छ ।
खासमा अहिले त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न मिल्छ, विस्तार भएपछि भने १८ वटा गर्न सकिनेछ । विमानस्थलमा जुन तरिकाले वार्षिक उडान वृद्धिदर छ, त्यसलाई नागरिक उड्डयन प्राधिकरणले सम्बोधन गर्न खोजेको हो । तर, वैकल्पिक व्यवस्था गर्न भने ऊ चुकेको छ । त्रिभुवन विमानस्थलमा उडान कटौती हुने जानकारी प्राधिकरणले अघि नै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नदिएको होइन ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विकल्प थिए । त्यहाँ केही सुविधाको आकर्षण दिए पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू आकर्षित भएनन् । लामो दूरीको उडानमा जाँदा उनीहरूको खर्च वृद्धि हुनु स्वाभाविक हो र यात्रुहरूको संख्या पनि नहुने भएरै उनीहरू अन्त उड्न नमानेका हुन सक्छन् । तर, प्राधिकरणले मात्रै नभई सरकारले नै भैरहवा र पोखरातिरको अन्तर्राष्ट्रिय उडानमा खास उल्लेख्य केही गर्न नसक्नु यसको प्रमुख कारण हो ।
भैरहवा र पोखराका विमानस्थलमा जुन लगानी भयो, त्यसैअनुसार अन्तर्राष्ट्रिय उडान पठाउने तारतम्य धेरैअघिदेखि सरकारले मिलाउन सक्नुपर्ने थियो । त्यसो भएको भए त्रिभुवन विमानस्थलमा उडान कटौती गर्नुपर्ने थिएन, र अरू दुई विमानस्थलको पनि विजोग हुने थिएन । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पोखरा वा भैरहवा नजानुको कारण गहिरोसँग अध्ययन गरी सरकारले आजलाई मात्रै होइन भोलिका लागि पनि विकल्प बनाइरहनुपर्छ । आज नभए पनि भोलि ती विमानस्थल चलाउनै पर्ने छ । जहाँ राज्यले अर्बाैं अर्ब लगानी गरिसकेको छ । होइन भने सरकार अकर्मण्य सावित हुन्छ । राज्यलाई पनि ठूलो नोक्सानी हुन्छ । बनिसकेका विमानस्थलहरूलाई बिजोग रहन दिनुहुँदैन ।