काँक्रेविहार संरक्षणको निहितार्थ

काँक्रेविहार संरक्षणको निहितार्थ
सुन्नुहोस्

कर्णाली प्रदेश आजका दिनमा देशको केन्द्र काठमाडौंबाट दुर्गम भए पनि कुनै बेला आफैंमा केन्द्र हो । सभ्यता र संस्कृतिका हिसाबले आजको नेपालमा काठमाडौं खाल्डोको जुन ऐतिहासिकता छ, अर्काे ऐतिहासिकता भएको ठाउँ भनेको कर्णाली हो । जहाँ नेपाली भाषाको विकासमात्रै होइन, धेरै संस्कृतिको उन्नयन पनि भएको थियो ।

खस साम्राज्यको ऐतिहासिक खण्ड नेपाली सभ्यता र संस्कृतिको महत्त्वपूर्ण समय हो । आधुनिक नेपालमा कर्णाली प्रदेशको केन्द्र बनाइएको सुर्खेत मध्यकालीन खस साम्राज्यको पालामा पनि एउटा केन्द्र थियो । त्यस बखतका शासकले निर्माण गरेको सांस्कृतिक वैभवको द्योतक काँक्रेविहार हो । जसको पुरातात्विक अध्ययनले प्रमाणित गरेको छ, यो विक्रम सम्बत् १३ सय सालपछि निर्मित थियो र बौद्ध अध्ययन केन्द्र थियो ।

नेपालमा यसै पनि सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्व शासनले बुझेको छैन, त्यसमाथि बौद्ध धर्म र यसका सम्पदाको संरक्षण तुलनात्मक रूपमा कम प्राथमिकता छन् । काँक्रेविहारको पुनर्निर्माणका लागि १ सय ८८ वर्षको पर्खाइ एउटा उदाहरण हो । विक्रम सम्बत् १८९० को भूकम्पले भत्काएको काँक्रेविहार २०७८ सालमा पुरातत्त्व विभागले पुनर्निर्माण गरेको हो ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाले ऐतिहासिक बौद्ध सम्पदा पुनर्निर्माण गरेर राज्यको समावेशी चरित्रलाई सम्बोधन गरेको मान्नुपर्छ । प्राचीन सम्पदाको पुनर्निर्माणपछिको निरन्तरता भनेको फेरि पनि त्यसको संरक्षण हो । हालैका दिनमा आकर्षक पर्यटकीय गन्तव्य बनिरहेको विहारमा सँगसँगै केही विकृति पनि देखा परेका थिए । त्यसलाई रोक्ने प्रयास फलस्वरूप वन कार्यालयले वनभोजमा रोक लगाएको छ । यो आफैंमा स्वागतयोग्य छ ।

धार्मिक पवित्रस्थलमा मनोरञ्जन निषेध नै हुनुपर्छ । वनभोज भनेको रमाइलो गतिविधि हो । काँक्रेविहार रामरमितास्थल होइन, ज्ञान केन्द्र हो । शान्तिक्षेत्र पनि हो । जसरी खसराज्यका पालामा विहार अध्ययन केन्द्र र ज्ञान केन्द्र थियो । त्यसैगरी, काँक्रेविहारलाई ज्ञानकेन्द्रका रूपमा पुनस्र्थापना गर्नुपर्छ । विहार पुनर्निर्माणपछि राज्यको दायित्व त्यो हो । वनभोजलगायत मनोरञ्जनात्मक गतिविधि हुँदा शान्ति विपरीत र धार्मिकस्थलको मर्मविपरीत त भएकै थियो, त्यसमाथि वरपरको जंगलका वन्यजन्तुमा पनि असर परेको थियो । वन कार्यालयले नै मनोरञ्जन निषेध गरेर सही कदम चालेको छ, नभए यसमा पुरातत्त्व विभागले नै ध्यान दिन जरुरी थियो । वनले पुरातत्त्व विभागको आँखा खोलिदिएको हुनुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.