‘सहकारी... सहकारी...!’ ‘चौरासी... चौरासी...!’
राजनीति गरिरहँदा तिनलाई थाहै हुन्न, आफूले के–के गरे ? जहाँ–जहाँ राजनीति गर्छन्, त्यहाँ–त्यहाँ उपद्रो गर्छन्। त्यसो त, राजनीति नगरिएको ठाउँ नै हुन्न। त्यसैले सायद कुनै पनि ठाउँ राजनीति–मुक्त नै छैन त्यहाँ।
एउटा ठूलो क्षेत्र छ। पूर्व–पश्चिम फैलिएको।
– दक्षिणतर्फ हरिया फाँटहरू,
समष्टिमा, सदाबहार प्रकृतिले भरिपूर्ण संसारभरिकै सुन्दर भू–भाग। भन्नै परेन, त्यहाँ मानिसहरू नै बस्छन्।
ती मानिसहरू धेरै काम गर्छन्। धेरै काममध्ये बढी कुरा गर्ने काम गर्छन्, त्यसमा पनि एकआपसका कुरा काट्ने काम गर्छन्।
त्यहाँका मान्छेले खास अझै अर्को महत्त्वपूर्ण काम गर्छन्। एक किसिमले, त्यो महत्त्वपूर्ण कामलाई पेसाको रूपमै अँगालेका छन् तिनले। काम हो– राजनीति।
मरिमेटेर, धर्म भने पनि कर्म भने पनि राजनीति गर्छन् तिनीहरू। दैनिकी नै भने पनि हुन्छ, राजनीति नगरे तिनीहरूलाई खाएकै पच्दैन, निद्रै लाग्दैन। राजनीतिको आकारको कुरा गर्ने हो भने त्यसको कुनै सीमा छैन। सानो खालको, मझ्यौला खालको, ठूला खालको; जुनसुकै आकारको, रङ–रङको...।
राजनीति गरिरहँदा तिनलाई थाहै हुन्न, आफूले के–के गरे ? जहाँ–जहाँ राजनीति गर्छन्, त्यहाँ–त्यहाँ उपद्रो गर्छन्। त्यसो त, राजनीति नगरिएको ठाउँ नै हुन्न। त्यसैले सायद कुनै पनि ठाउँ राजनीति–मुक्त नै छैन त्यहाँ।
फेरि, राजनीति गर्ने तरिका एउटै खालको छैन। विभिन्न रूप धारण गरेर राजनीति गरिराखिएको हुन्छ। कार्यालयमा हेरौं, सामान्य कर्मचारी वा प्रशासकका रूपमा राजनीति गरिराखेको देखिन्छ। विद्यालय–विश्वविद्यालयमा हेरौं, शिक्षक वा विद्यार्थीका रूपमा। अस्पतालहरूमा डाक्टरका रूपमा। धन्न, त्यहाँ बिरामीले चाहिँ राजनीति गर्दैनन्। मन्दिरमा समेत राजनीति गरिराखेका हुन्छन्– मठाधीशहरूले।
शासन–सत्तामा सबैभन्दा बढी राजनीति हुन्छ त्यहाँ। चुनाव गर्दादेखि लिएर चुनाव जित्ने, अझ चुनाव हराउने राजनीति चल्छ त्यहाँ। सरकार बनाउने र सरकार ढाल्ने राजनीति त त्यहाँ दालभात खाएबराबर छ। त्यस्तो राजनीति गर्दा, कहिल्यै मिल्न नसक्नेहरू पनि बडा आत्मीय भएर मिलिराखेका हुन्छन् भने मिल्नुपर्नेहरू जन्मजात शत्रुजस्ता भएर अलग्गिराखेका हुन्छन्। फेरि, तिनैका पछि लागेर ‘उठ् !’ भन्दा उठ्ने र ‘बस् !’ भन्दा बस्नेहरू यत्तिकै छिचिमिरा झैं सग्बगाइरहेका देखिन्छन्।
स्वभावतः शासन–सत्तालाई नै जीवनको लक्ष्य बनाउनेहरू प्रायः अखबारका पृष्ठहरू र टेलिभिजनका स्क्रीनहरूमा बराबर देखिन्छन्।
– कोही लोकतन्त्रका कुरा गरेर थाक्दैनन्,
– कोही आर्थिक उन्नतिका कुरा गरिरहन्छन्,
– कसैले राजतन्त्रको वकालतमा व्यस्त र मस्त छन्,
– कसैले गणतन्त्रको स्थायित्वमा जोड दिइरहन्छन्।
र, तिनका कुरा सुन्दासुन्दा सुन्नेलाई झोंक चलिराखेको हुन्छ। तर तिनका कुरालाई नपत्याएर, सुन्नेहरूले तिनलाई बाह्रै महिना आमाचकारी गाली गरिराखेका हुन्छन्। विडम्बना ! चार वर्षमा आउने चुनावलाई बल्लबल्ल आएको ‘दसैं’ नै मानिन्छ कि कुन्नि ! सदैव गाली गरिराख्ने मनहरू फरक्कै फर्कन्छन् र तिनलाई नै ‘स्वस्तिक’ छापको लालमोहर लगाइदिएर विश्वासको मत दिन्छन्। यसैअन्तर्गत कतै–कतै त जन्मँदै नजन्मेकाले पनि र मरिसकेकाहरूले पनि मत दिएका हुन्छन्। यसरी, चुनाव जितिसकेपछि अनि सुरु हुन्छ वास्तविक राजनीति।
माथि सुरुमा भनिएका एउटा वाक्य– एउटा ठूलो क्षेत्रअन्तर्गत, सलल बगिरहेका कञ्चन नदीहरूसँग एउटा अर्को पंक्ति जोड्न छुटेको छ। त्यो हो– त्यहाँ कञ्चन नदी मात्रै हैन धमिला खोलाहरू पनि बगिरहेका छन्। यो वाक्यलाई यहीँनिर वास्तविक राजनीतिसँग जोड्न मुनासिव देखिन्छ।
खोलाको पानी जति धमिलो छ, त्यति नै अझ त्योभन्दा पनि धमिलो छ त्यहाँको राजनीति। मूलतः जति पनि ठूलो खालको राजनीति छ, व्यक्तिगत–पारिवारिक स्वार्थसिद्धिका लागि राजनीति गरेको देखिन्छ। देखिन्छ भन्नुभन्दा पनि ठोकुवाका साथ– ‘हो’ नै भने भन्ने हो भने न्यायोचित ठहर्ला।
हो, त्यही सुन्दर सम्पूर्ण भू–भागमा फैलिएको छ त्यो राजनीति। त्यहाँ के हुँदैन, राजनीतिको नाममा सम्पूर्ण चलखेल हुन्छ।
– कोही, प्रहरीको पाहुना बनेर नखाएको विषको असर पर्यो भन्दै चिच्याइरहेका हुन्छन्। त्यहीँनिर उनका समर्थनमा सरकारविरुद्ध नारा–जुलुस लागिरहेको सुनिन्छ।
– कोही, दानको सम्पत्तिलाई लुटको कमाइ भएको आरोप खेपिरहेका देखिन्छन्।
– कसैले, आधिकारिक भएर पनि, बाढीमा बगेकालाई प्राकृतिक प्रकोप भन्दै आफ्नो काँध थाप्न नसक्ने बताउनेहरू पनि यहीँ पाइन्छन्।
– सपना–जपना नै ‘सहकारी... सहकारी...’ को मन्त्र जप्ने पनि उत्तिकै देखिन्छन्।
– सबैभन्दा त यहाँ ‘चौरासी... चौरासी...’ भन्दै उफ्रिनेहरूको घुइँचो बढी भेटिन्छ।
साँच्चै, गजबकै क्षेत्र छ यो ! अब त आशंका नगरी रहनै सकिन्न– ‘कतै कुनै कुन्नी के खाना त होइन यो ? ’