पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिना बाहेकको समयमा दैनिकजसो पर्यटकहरु पुग्ने गरेका छन् ।

दुई वर्ष अघिसम्म बसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टर मार्फत पुग्ने आरोही र तीनका सिमित सङख्यामा सहयोगीहरू मात्रै आधार शिविरमा हुन्थे । अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब चार हजार जना आन्तरिक पर्यटकहरू अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । 

यो याममा हालसम्मकै धेरै संख्यामा पर्यटकहरू अन्नपूर्ण आधार शिविर गएका उनले बताए ।  बेनी, काठमाडौं, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट विशेष गरेर जागिरे र युवा युवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा गएका छन् । 

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार,अग्ला झरना,मनमोहक हिमशृङ्खला,अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

null

अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । आधार शिविर पुगेर फर्किएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यो क्षेत्र भर्जिन गन्तव्य भएको बताए । तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाईमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजाका परिकार, भाडाकुडा, ग्याँस, लत्ताकपडाको आफै जोहो गर्नुपर्छ । 

फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले सन् १९५० को जुन ३ का दिन आरोहण गरेको अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको हिमाल हो । सगरमाथा भन्दा तीन वर्ष अघि आरोहण भएको अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । 

हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउदै नारच्याङका तेज गुरुङको अगुवाईमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामाकरण गरेको छ । नारच्याङ देखि हुमखोला सम्म २० किलोमिटर सडक र हुमखोला देखि आधार शिविर सम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । 

null

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकिकृत गुरुयोजना तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।  

चालु आर्थिक वर्षमा बिनियोजन भएको एक करोड रुपैयाँ बजेटबाट आश्रयस्थलको क्षमता विस्तार, शौचालय, खानेपानी, पुल लगायत पूर्वाधार निर्माणमा परिचालन गरिने उनले बताए । पदमार्गमा पाहुनाको बसाई व्यवस्थापन र बढ्दो प्रदूषण चुनौति बनेको छ । मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजिकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीहरुले फालेको पलास्टिक,स्टिल र सिसाजन्य फोहोरका कारण प्रदूषण बढेको बताए ।  

‘पदमार्ग र आधार शिविरमा पलास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहोर भएको छ,’उनले भने, ‘कुहिने फोहोरलाई खाडलमा गाड्ने,नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ ।’ 

null

कति मात्रामा फोहोर छ भन्ने एकिन नभएपनि पदयात्रीहरुले सामान राखेर लगेका पलास्टिक, बोरा, बट्टा, बोत्तल, कपडा र ग्याँसको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताए ।  फोहोर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीहरुको टोलीले पछिल्लो एक महिनाको अवधीमा दुई पटक उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाई गरेका छन् ।  पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ । 

फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाईमा सार्वजनिक शौचालय निर्माण भएको छ । भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो । सम्धीखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकहरुलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.