रोशीले खोसेको खुसी
काभ्रे जिल्लाको रोशी नदीमा आएको बाढी र सँगसँगैको अविरल वर्षापछिको पहिरोले हजारौंको घर भत्कायो। असोज १० गतेदेखि परेको वर्षाले नदीसँगै धेरैको जीवन धमिल्याएर गयो। पनौती नगरपालिकको वडा नम्बर २ नयाँबस्तीमा ४ हजार घर धुरीमध्ये अधिकांशमा वर्षा र पहिरोले क्षति पु¥यो। नयाँबस्तीका दाहाललगायत ६० जनाको घर पूर्णरूपमा क्षतिग्रस्त भए। पनौती नगरपालिकाको बढी प्रभावित क्षेत्रमा पर्छ, वडा नम्बर २ को नयाँबस्ती। अझैसम्म स्थानीय टहरामै छन्। पहिलो आएपछि केही दिनमा ओढ्ने, ओच्छ्याउने र सामान्य खाद्यान्न प्रभावितहरूकहाँ पुगेको थियो। तर गतिलो बासको टुंगो अझै लागेको छैन।
नयाँबस्तीका डाँडाकाँडा सबैजसो पहिरोले चिराचिरा परेका छन्। जमिन भासिएको छ। घर बनाउने ठाउँ पनि गाउँलेले पाएका छैनन्। कतिपय आफैं नयाँ बास बनाउन सक्ने क्षमताका छैनन्। सरकारले भने रोशीका बाढीपहिरो प्रभावितप्रति नजरअन्दाजमात्रै गरिरहेको छ। रोशी खोलमा बाढी र वरपर पहिरो आउनुलाई प्रकृतिको अत्यधिक दोहनलाई प्रमुख कारण मानिएको छ। हुन पनि यहाँ अवैध क्रसरहरूको जगजगी नै थियो। नदीको अत्यधिक दोहन थियो। जथाभावी ढुंगा, गिटी र बालुवा खानीहरू चलाइएका थिए। डनहरूको दबदबा नै थियो। त्यति बेलामा पनि सरकारले आँखा चिम्लियो। र त्यसैका कारण निम्तिएको विपद्पछि प्रभावितहरूको घाउमा मलम लगाउने प्रयत्न भएन।
काभ्रेमा पनौतीमा मात्रै नभई बनेपा नगरपालिकाको वडा नम्बर १ र २ मा त झन् २ सय घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने विज्ञहरूको प्रारम्भिक निष्कर्ष थियो। विपद् नेपालको ठूलो दुःख हो। बर्सेनि प्राकृतिक विपद्को सामना कहिँ न कहिँका नेपालीले गरिरहनुपरेको छ। त्यसैले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि छुट्टै प्राधिकरणसमेत छ। तर प्राधिकरणले भने आवश्यक बजेट पाउन सक्दैन। सकेको छैन। स्वयं सरकार भने नागरिकका दुःखमा सधैं बेखबर बनिरहन्छ। जब कि बाढीपहिरो वा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिम अनुसार बस्ती पहिल्यै स्थानान्तरण गर्नुपर्ने हो। तर जोखिममा परिसकेकालाई पनि स्थानान्तरण नगर्नु राज्यको नालायकी नै हो। ठूलो अकर्मण्यता हो।