ट्रम्पको दक्षिण एसियाली यात्रा
‘मेक अमेरिका ग्रेट अगेन’ वा ‘अमेरिकालाई पुनः महान् बनाआंै’ सहितको नाराले ४७औं राष्ट्रपतिका रूपमा पुनः डोनाल्ड ट्रम्प विजयी भइसकेका छन्। लाग्छ, नारा अनुरूप पहिले ट्रम्पले अमेरिकालाई महान् बनाएका थिए क्यार अनि फेरि अमेरिकी जनतालाई पुनः त्यही अभिभारा सुम्पन सके। नाराको मर्मले यही भन्छ। फेरिएको ट्रम्प नीतिले कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ तर हामी (नेपाल)ले यसबाट कस्तो डिप्लोम्याटिक बेनिफिट (कूटनीतिक फाइदा) लिन सक्छौं यही हो, हामीले विशेषत मनन् गर्नुपर्ने कुरा। यो विश्वव्यापी प्रतिकूलताको समयमा किन दक्षिणपन्थी ट्रम्प नै विजयी भए होलान् ? भन्न पक्का पनि कठिन नै छ, तर दक्षिणपन्थी ट्रम्पका फेरिएका प्रगतिशील घोषणापत्रका फेहरिस्तहरूलाई त्यहाँका जनता विशेषले मन पराइदिए।
ट्रम्पको पार्टी रिपब्लिकन पार्टीको राजनीतिक घोषणापत्रको अभियानलाई ‘अजेन्डा ४७’ नाम दिइएको थियो। जसमा ट्रम्पलाई विजयी गराउन आवश्यक योजनाको मिहिन खाका तयार गरिएको थियो। जुन पहिलो राष्ट्रपतीय घोषणापत्रभन्दा नितान्त फरक भनिएको आकलनसमेत गरिन्छ। जसका (अजेन्डा ४७) गर्भपतनसम्बन्धी अधिकार, प्रजातान्त्रिक सुधार, आन्तरिक व्यापार प्रवद्र्धन, आप्रवासी र सीमासम्बन्धी अधिकार, वातावरण र ऊर्जाजस्ता नवआयाम उल्लिखित छन्। माथि उल्लेख भएका अधिकार र हकहरू जनताले नपाएका र राज्यले नदिएका होइनन् कि मात्र ट्रम्पका अजेन्डा ४७ का सम्पूर्ण स्वरूपले ती हक र अधिकारका सुधारिएका प्रारूपहरूलाई अंकित गर्छन्। यस पटकको निर्वाचनमा समेत ट्रम्प समर्थकले आफ्ने यार्ड या घरमा रातो रंग अंकित चिनारी र ह्यारिस समर्थकले नीलो रंग अंकित चिनारी राखेका थिए। वा नेपाली हिसाबमा यसलाई दलीय र चुनाव चिह्न झण्डा फहराउने संज्ञा दिन सकिन्छ।
प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने नेपाल र अमेरिका दुवैमा चुनावी माहोल नितान्त फरक छ जुन स्वाभाविक पनि हो। यसलाई प्रभाव पार्ने तŒव भनेको साक्षरता दर हो। अर्थात् चुनाव र साक्षरता दरको सम्बन्ध प्रत्यक्ष हुन्छ। नेपाली डायस्पोरामा चुनावी छनोट माहोल सफा र स्पष्ट हुन्छ, जब जनतामा वास्तविक चेतनाको स्तरमा अभिवृद्धि हुन्छ। नेपालमा यसको अविच्छिन्न विकास हुनु जरुरी छ, अनि मात्र नेपाली भूगोलमा ‘हाम्रा हैन राम्रा’को उदय हुनसक्छ। वास्तवमै भन्नुपर्दा अमेरिकी भू–राजनीतिले विश्व राजनीति, वैश्विक अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्वव्यापी विद्यमान मामिलाहरूका विषयमा विश्वव्यापी हलचल नै ल्याएको देखिन्छ। विश्व शक्तिको प्रतिस्पर्धाका हिसाबले अमेरिकाको रणनीतिलाई विश्वकै उम्दो मान्ने गरिन्छ। इन्डो–प्यासिफिक तथा प्रशान्त क्षेत्रीय रणनीति, मध्यपूर्वको अनविकरणीय ऊर्जा सुरक्षा, ल्याटिन देशका बसाइसराइको प्रवृत्ति, विश्वव्यापी तथा अन्र्टार्टिकाको जलवायु परिवर्तन र प्रतिकूलता, विश्वको बढ्दो साइबर सुरक्षा र प्राविधिक प्रभुत्वजस्ता विषयवस्तुलाई लिने गरिएको छ। यसर्थ पनि अमेरिकी भू–राजनीतिको दायरालाई फराकिलो मानिन्छ। यसैकारण पनि अमेरिकी चुनावलाई विश्वले नै फरक ढंगले अवलोकन गरेको पाइन्छ।
विश्वका अन्य मुलुक ट्रम्पको अब आउने नीति केन्द्रित देखिन्छन्। वा अबको ट्रम्प प्रशासनले कस्तो विदेश नीति तर्जुमा गर्नेछ ? ट्रम्पको पहिलो शासनकालमा ट्रम्पले अमेरिकी व्यापार प्रवद्र्धनका लागि अमेरिकी उद्योग संरक्षण नीतिले वाहवाही पाएको थियो। यसै मेसोमा पहिलो शासनकालमै चीन र भारतका उत्पादनमा करका दरमा बढोत्तरी गरेको थियो, जसबाट भारतीय र चिनियाँ उद्योगमा असर पर्नु स्वाभाविक नै थियो। हालको चुनावी अभियानमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि पटकपटक लिएका कारण भारतीय उत्पादनमा करको दरमा नबढ्न सक्ला कि भन्ने आकलन मात्र गरिएको छ। विद्यमान चुनावी अभियानका दौरानमा ट्रम्पले पहिलो मामिलाका रूपमा अवैध आप्रवासीलाई गृह मुलुक फिर्ता गर्ने रणनीतिलाई प्राथमिकताका साथ लिएका छन्। एक त अमेरिका आप्रवासीहरूले भरिएको मुलुक हो, जसमा लगभग ७८ प्रतिशतभन्दा बढी वैध र अवैध आप्रवासी छन्।
विश्वव्यापी रूपमा के समेत अड्कल गरियो भने यस्तो उग्रआप्रवासी नीतिले भारतलाई अलिक असर गर्नेछ। किनकि अमेरिकाका अधिकांश सूचना प्रविधि कम्पनीका ह्वाइट कलर जब (व्यवस्थापकीय तथा उच्च तह)मा भारतीय व्यवस्थापक अधिक छन्, जो एच वान वी भिसामा अमेरिका गएका छन्। यसै मेसोमा अमेरिकी थिंक ट्यांक ¥यान्ड कर्पोरेसनका डेरेक जे ग्रसम्यानले टाइम्स अफ इन्डियाको समाचारलाई रि–टिट गर्दै गर्दै लेखेका छन् ‘ट्रम्पले मोदीलाई जितपश्चात् फोन गर्दै भनेका छन्, दी होल वल्र्ड लभ्स पीएम मोदी (समस्त विश्वले प्रम मोदीलाई माया गर्छ)। गर्भपतन अमेरिकी छलफलको विषयवस्तु हुँदै आएको धेरै भएको छ। रिपब्लिकन सत्तामा आउँदा यस विषयमा थप कन्जरभेटिभ (रुढिवादी) हुन्छन् भने डेमोक्र्याटहरू सत्तामा आउँदा यो विषय थप लिवरल (उदार) हुन्छ। कन्जरभेटिभ र लिवरलका बीच लगभग बाझिने विषयवस्तुसमेत यही हँुदै आएको छ दशकौंदेखि अमेरिकामा। यसैकारण पनि मतदानको लय, सामाजिक विश्वास, पारम्पारिक सामाजिक मान्यता, कम करदर, शासकीय सीमितता आदिका आधारबाट कन्जरभेटिभ स्टेटहरू छुट्ट्याउने काम गरिन्छ। त्यहाँको भाषामा यिनलाई रेड स्टेटसमेत भनेर चिनिन्छ।
ट्रम्प प्रशासनले मात्र नेपालमा के प्रभाव पार्छ र कस्तो हुन्छ ? यकिन गर्न गाह्रो कुरा हो। यसका लागि उनले तय गर्ने दक्षिण एसियाली नीतिबारे ज्ञात रहनु प्राथमिक कुरा हो। अर्थात् नेपाल डिप्लोमेसीभन्दा पनि साउथ एसियन डिप्लोमेसीले खास महŒव राख्छ। यसले नेपाल मात्र नभएर हिजोआज निकट रहेका नरेन्द्र मोदीतर्फको डिप्लोमेसीसमेत छ्यांग हुन्छ। हाम्रो निकट छिमेकी जससँग हाम्रो खुला सीमा छ, ऊ सँगैको सामीप्यताले हाम्रो आयात निर्यात वा समग्रमा व्यापार फस्टाउन सक्नु हामो लागि श्रेयष्कर हुन सक्छ। व्यावहारिक रूपमा ट्रम्प ज्यादा व्यक्तिवादी देखिन्छन्, अन्य अमेरिकी नेताहरूका दाँजोमा।
एक त नेपालको सरकार लगभग तीन दशकयता ज्यादा भोलाटाइल (ज्यादा अस्थिर) देखिन्छ विदेशीहरूका आखाँमा। एकातर्फ अस्थिरता अर्कातर्फ नेपाली नेताहरूको बिग्रँदो साख, यसले गर्दा हामीप्रति अरूले बनाउने दृष्टिकोण फरक हुनु स्वाभाविक हो। एकातर्फ हाम्रा मागनीति र कूटनीति बदलिँदो सरकारअनुसार फरकफरक हुँदा विदेशीहरूले हामीलाई ठम्याउनसमेत कठिन पर्छ। यसकारण पनि अमेरिका मात्र होइन, विश्वका हरेक मुलुकसँग बन्ने कूटनीतिक आयामहरूमा एकरूपता हुनसके हामीलाई कुनै मुलुकका चुनावी राष्ट्रपति वा राष्ट्राध्यक्ष को होला भनेर चिन्ता गर्नुपर्नै समय पक्का पनि आउने छैन।