वीरगन्जमा १४ हजार छात्राहरूलाई दिइयो आत्मरक्षा तालिम
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरूलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ।
वीरगन्जको आदर्शनगरस्थित रंगशालामा बुधबार भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीले १३ हजार ९ सय जना छात्राहरूलाई आत्मारक्षासम्बन्धी प्रशिक्षण दिएका हुन्।
वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए। त्यस अवसरमा उनले सरकारले महिला सशक्तीकरणका लागि दीर्घकालीन रूपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए। उनले वीरगन्ज महानगरपालिकाले एकसाथ नगर क्षेत्रका हजारौं छात्राहरूलाई तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुसी व्यक्त गर्दै तालिमले छात्राहरूलाई आत्माविश्वास बढाउने बताए।
नेपालमा भारतका ख्याति प्राप्त प्रशिक्षक आएर निशुल्करूपमा तालिम दिँदा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै उनले सरकारले महिलालाई सशक्तीकरण गरी सक्षम बनाउने नीति लिएको बताए। खानेपानी मन्त्री यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देशसमेत दिने दाबी गरे।
त्यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरूलाई दिएको आजको तालिम सुरुवातमात्रै भएको बताउँदै अब वीरगन्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाको लागि मार्शल आर्ट्ससम्बन्धी तालिम दिइने बताए। मेयर सिंहले आजको मितिसम्म वीरगन्ज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरूले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पुगिसकेको जानकारी दिए।
उनका अनुसार यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरूलाई आत्मारक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड बनाएको थियो। मेयर सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरूलाई मध्यरातमा पनि निर्धक्कसँग हिंड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता जनाए अनुसार महिला र किशोरीहरूको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम सुरुवात गरेको बताए।