तीन जना फरार प्रतिवादी पक्राउ
उदयपुर : बाल यौन दुर्व्यवहार लगायतका तीन घटनामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरले दोषी ठहर गरी कैद तथा दण्डजरिवानाको फैसला सुनाइएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाल यौन दुर्व्यवहार मुद्दामा फरार रहेका सप्तरीको बलानबिहुल गाउँपालिका वडानं. १ का ४३ वर्षीय नित्यानन्द यादव, लागुऔषधमा त्रियुगा नगरपालिका वडानं. १३ का २७ वर्षीय विकास वोहरा र चोरी मुद्दामा त्रियुगा नपा ६ का २० वर्षीय भक्तबहादुर भन्ने निसान बस्नेत रहेको डीएसपी राजन चापागाईले बताए।
उनका अनुसार यादवालाई अदालतले एक वर्ष कैद र १० हजार जरिबाना, बोहोरालाई चार महिना कैद र चार हजार जरिवाना र बस्नेतलाई २४ दिन कैद र पाँच हजार जरिबानाको फैसला सुनाएको छ।
पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुधबार उपस्थिति गराई कारागार पठाइएको उनले बताए। अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालयलाईसमेत परिचालन गर्ने गरी अभियान नै सञ्चालन गरेको एसपी हरिहरनाथ योगीले बताए।