बीपी राजमार्ग, मर्मत कि चार लेन ?

बीपी राजमार्ग, मर्मत कि चार लेन ?
फाइल तस्बिर।

विज्ञानका अनेकौं भनाइ सत्य सावित हुँदै गएका छन्। विज्ञानप्रति जनजनमा विश्वास जागेको छ। हामी भने विज्ञानलाई परम्परागत सोचाइले मात्र हेर्ने गर्छौं। आधुनिकतातर्फको यात्रा छाडेर नेपाल देवदेवतालाई सुनका अलंकार चढाएर वरदान माग्ने युगतिर पो फर्किँदै छौं। सरकार र राष्ट्र प्रमुखहरू विज्ञानको विश्वास लिनुभन्दा लहडबाजीमा भगवान्को आरती उतार्ने युगबाट आधुनिकतातिर अगाडि बढ्न सकेका छैनन्। भौतिकवादको मन्दिर शिलान्यास गर्दासमेत पुरोहितद्वारा स्वस्तिवाचन (मन्त्रोच्चारण) का साथ गर्ने प्रचलन कायमै छ। नेपाली संस्कार र संस्कृतिको अमिट छापले सायद कुश, तिल, जल अभिमन्त्रित गर्दै शान्ति पाठ गराउने परम्परा अझै चम्किलो हुँदैछ। त्यो पनि अन्तर्हृदयको प्रस्फुटन हो वा छलकपटपूर्ण। यसको जवाफ विज्ञानले मागिरहेको होला।

प्रसंग २०८१ असोज ११ र १२ गतेको भीषण बाढीपहिरोबाट पुगेको जनधनको क्षतिको हो। सरकारकै अंग मौसम पूर्वानुमान महाशाखाले दिन तोकेर ‘भीषण वर्षा हुन्छ। ठूलाठूला पहिरा जान सक्छ। लामा दूरीका गाडी नचलाउनू। छोटो दूरीमा पनि होसियारी अपनाउनू’ आदि सार्वजनिक सूचना जारी गरेको थियो। सरकारको कार्यान्वयन गर्ने अंगले रोक्नुपर्ने ठाउँमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्न रोकेन भनेर आलोचना भयो। मौसम पूर्वानुमानलाई पूर्वतयारी गरेन, बेवास्ता गर्‍यो। परिणाम कैयौं मानिसको अकालमा ज्यान गयो। सार्वजनिक सम्पत्ति क्षति भए। सर्वसाधारणले सास्ती पाइरहेकै छन्। यो नेपाली र नेपाल सरकारका लागि ठूलो चेतावनी र चुनौती थियो। सायद सरकार सचेत भयो होला।

जाडो, गर्मी, वर्षा हुने समय र मात्रामा भिन्नता आइरहेको छ। वैज्ञानिकहरूका अनुसार त्यसको कारण जलवायु परिवर्तनलाई भनेका छन्। जलवायु परिवर्तनको कारक तŒव मानिस नै हो भनेका छन्। ग्लोबल वार्मिङका कारण विश्वका निम्ति थपिएको चुनौतीप्रति सचेत भएर विगतमा विश्वको सबैभन्दा होचो मुलुक मालदिभ्स सरकारका राष्ट्रपति मोहम्मद नसिदले समुद्रभित्र मन्त्रिपरिषद्को बैठक राख्नुभयो। त्यसैगरी, विश्वको उच्च स्थानमा रहेको मुलुक नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पनि विश्वको सर्वोच्च चुली सगरमाथा बेसक्याम्प (कालापत्थर)मा नेपाल सरकार मन्त्रिपरिषद्को बैठक राखेर जलवायु परिवर्तनले पार्ने असरप्रति विश्वको ध्यान आकर्षित गर्ने प्रयास गर्‍यो। विश्व इतिहासमा सामेल यी दुई बैठकले विश्वको ध्यान आकर्षण गर्ने प्रयास गरेका थिए।

भौगोलिक अध्ययनले भन्छ– नेपालको भूगोल विश्वको नवीनतम् भूखण्ड हो। यो टेथिस सागर निचोरिएर उठेको भूखण्ड हो। यसमा पनि महाभारत पर्वत शृंखला झनै कलिलो पहाड हो। यस्ता पहाडहरू सानो हलचल वा अधिक वर्षाले तुरुन्त प्रभावित हुने गर्छन्। यसका बारेमा भौगोलिक ज्ञान भएका वातावरणविद्कै रायमा अघि बढ्नुपर्ने हुन्छ। नेपाल सरकारसँग वातावरणका विज्ञको अभाव छैन। उहाँहरूलाई महाभारत पहाडको चट्टान, नदी, जंगलको संवेदनशीलताका बारेमा सरकार र मुलुकको नीतिनिर्माताले प्रशिक्षण लिनु लाभदायक हुन्छ। न कि विकासप्रेमी बन्ने नाममा जताततै भत्काउने।

आजको मूल सन्दर्भ रोशी खोला। जसको पौराणिक नाम रोशमती हो। पछि जनबोलीले रोशी भन्यो। रोशी खोला शिर पुछारमा पुरानो सभ्यताका अवशेषहरू देख्न पाइन्छन्। नेपाल महात्म्य र पुराणहरूमा वर्णित कुशेश्वर आदि लिंग, नजिकै गायत्री मन्त्रको उत्पत्तिस्थल विश्वामित्र गुफा, पनौतीको इन्द्रेश्वर महादेव, बनेपाको धनेश्वर र चण्डेश्वरी पौराणिक स्थलहरू हुन्। यसका बारेमा लामै व्याख्या हुन सक्छ। यहाँ यति नै। यसअघिका अनेकौं बाढीले रोशी दोभानमा अवस्थित कुशेश्वर शिवालय जोगिएको छ। पौराणिक कथनअनुसार यो पशुपतिनाथको मन्दिरभन्दा पनि पुरानो हो। यस पटकको बाढीबाट पनि मुस्किल जोगियो।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकातिर गाइने एउटा गीतको टुक्रा भन्छ ‘गिद्देको पहरा, काठमाडौं सहर, भल आउने रोशी खोला।’ त्यसबेलादेखि नै रोशीलाई भल आउने ठाउँ भनेर जनबोलीले भन्दोरहेछ। हामीले केटाकेटी उमेर (२०२८ सालतिर) सुनेका थियौं। रोशीमा बाढी आयो रे ! कुनै एउटा परिवारका सबै सदस्य मारिए। एउटा बालक घरको थाम समातेर बगेको बगेकै गरेछन्। रातको समयमा जब चिसो पानी आयो। लागेछ, उनलाई सुनकोशीमा मिसायो÷ती बालक केही तल जीवितै उत्रिए। सायद आज पनि जीवितै होलान्÷त्यसबेला पनि रोशीले उसको उपत्यका चाटेको थियो। पानी मात्रको बाढी आएका कारण क्षति कम भयो। आज जताततै माटो निकाल्यौं अनि यो दुर्दशा निम्तियो। यो बाढीमा २०२८ सालमा जसरी केही कसैलाई बाढीले बगाएको भए बाँच्ने सम्भावना हुने थिएन।

वातावरणका जानिफकारहरू भन्ने गर्छन्, यसपटक ज्यादा नोक्सान गर्नुको कारण मानिसले रोशी खोलाको बगर र दायाँबायाँका कलिला पहाडलाई ज्यादा कोतर्‍यो। प्रकृतिले सहनै नसक्ने गरी चिथर्‍यो, दुह्यो। जताततै भत्काइएका सडक, क्रसर र उसले निकालेको धूलोको व्यवस्थापन गर्न सकेन। यदि वातावरणविद्का भनाइबमोजिम जाने हो भने भविष्यमा क्षति कम गर्न अवश्य सकिन्छ। सायद विज्ञहरूले हामीसँग भन्नु भएका कुरा सरकारलाई नभन्ने कुरै हुँदैन। सरकार अञ्जान छैन। पक्कै भरपूर ज्ञानी छ÷विज्ञतालाई बिलकुलै ध्यान नदिई फेरि पनि भौतिक संरचना मात्र बनाएर छाड्ने हो भने आगामी समयमा घटना अझ विकाराल बनेर दोहोरिन्छन्। माया र न्याय एकै ठाउँमा एकैपटक दिन सकिँदैन। न्याय निर्मम हुन्छ। पृथ्वी कोतरेर जीविकोपार्जन गरिरहेका हाम्रा प्रियजनको मायालाई पुनर्विचार गरौं। प्रकृतिमाथि निर्मम न्याय गरौं। राज्यले इच्छाशक्ति बढाउनै पर्छ। रोशी पानीढलो क्षेत्रलाई सर्वप्रथम संवेदनशील क्षेत्र घोषणा गरौं। यहाँ गरिने विकासका कार्यक्रममा विज्ञहरूको विज्ञानसम्मत राय लिएर मात्र काम गरौं। विकास आफन्तको आग्रह र ढिपीमा होइन, आवश्यकता र विधिविज्ञानको रायमा गर्ने गरौं। जुन विधि लामोसाँघु–जिरी सडकमा स्विस सरकारले आजभन्दा झन्नै ४५ वर्ष पहिले अपनाएको थियो।

बीपी राजमार्ग निर्माणका लागि त्यसबेलाको सरकारलाई ध्यानाकर्षणकर्ता हुनुका नाताले भन्नैपर्छ– अब यो मार्ग चार लेनको बनाउनुपर्छ। काठमाडौंपूर्वको सम्पूर्ण भूभाग यसले समेटेको छ। विद्यमान मार्ग डेढ लेनको मात्र भएकाले धेरै साँघुरो भइरहेछ। जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाका नामको यो सडक युद्धस्तरमा बनाऔं। उहाँका समयको रेखांकन दूरदर्शितापूर्वक भए झैं लागेको छ। त्यही स्थान पछ्याउँदै अघि बढ्दा पो सडक बलियो हुन्छ कि ? राजधानी पूर्वको आधा नेपालका जनताले पाएको यो द्रुत सेवा अवरुद्ध भएको छ। युद्धस्तरमा काम गरेर नेपालको कार्यक्षमता विश्वसमक्ष प्रस्तुत गरौं।

(पूर्वसांसद पौडेल २०५२ सालमा बीपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिवास सडक) अविलम्ब बनाउन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने प्रस्तावक हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.