ग्राहकको संरक्षणमा विशेष ध्यान दिएका छौं : गभर्नर अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन्।
नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिज्मसमेत बनाउन लागेको बताए।
उहाले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सुक्ष्म निगरानी गरिने धारणा राखे। गभर्नर अधिकारीले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरु निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारे।
उनले बैंकको उद्देश्य प्राप्तीका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नसक्नुपर्ने र कर्मचारीसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राखे। त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझावसमेत दिए। वार्षिकोत्सवका अवसरमा बैंकले केही कर्मचारीलाई सम्मान र पुरस्कृत गरेको थियो।