मानव–वन्यजन्तु सहअस्तित्वको अभाव, दुवैतिर क्षतिको भार

मानव–वन्यजन्तु सहअस्तित्वको अभाव, दुवैतिर क्षतिको भार

गुलरिया : २१ वर्षको अवधिमा मुलुकमा जंगली हात्तीको आक्रमणबाट ३ सय ४९ जनाको मृत्यु भएको छ। मानवीय कारणबाट ५६ वटा हात्ती मारिएका छन्। अर्थात्, बर्सेनि ७ वटा हात्ती मारिन्छन। वन्यजन्तुको आक्रमणले मानवीय क्षति तथा मानवीय आक्रमणले वन्यजन्तुको क्षति हुने क्रम बढ्दो छ। अर्थात्, मानव–वन्यजन्तुबीच दिनानुदिन द्वन्द्व चुलिँदै छ। मानव–वन्यजन्तुबीच आवश्यक सह–अस्तित्वको वातावरण निर्माण हुन नसक्दा असहिष्णुता मौलाउँदै छ।

झापादेखि कञ्चनपुरसम्म हात्तीका बासस्थान छन्। त्यसमा २ सय ५० भन्दा बढी जंगली हात्ती रहेको हात्तीविद् एवं बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार राम बताउँछन्। सन् २००३ देखि हालसम्मको अवधिमा हात्तीको आक्रमणबाट मृत्यु हुने संख्याको दोब्बर मानिस घाइते भएका छन्।

हात्तीविद् डा. रामका अनुसार २१ वर्ष अवधिको तथ्यांक विश्लेषण गर्दा हात्ती–मानवबीचको द्वन्द्व बढेको पाइन्छ। डाक्टर रामले भने, ‘नेपालमा बर्सेनि ७ वटा हात्ती मर्छन्। राज्यको ठूलो लगानी हात्तीमा छ। वन्यजन्तु क्षतिको कुल राहतमध्ये ४७ प्रतिशत राहत हात्तीबाट क्षति भएबापत सरकारले समुदायलाई उपलब्ध गराउँदै आएको छ। उनका अनुसार, झापा–कोशी कम्प्लेक्समा ६५, चितवन–पर्सा ६५, बर्दिया १ सय २०, कञ्चनपुरमा २५ वटा जंगली हात्ती छन्।

जंगली हात्तीको विचरण क्षेत्र लामो हुने भएकाले पूर्वका हात्ती जैविक मार्ग हुँदै पश्चिमसम्म पुग्ने गर्छन्। झुन्डमा हिँड्ने हात्तीहरू पूर्व झापादेखि चितवन, भारतको सुहेलवा वन्यजन्तु आरक्षदेखि कपिलवस्तु, भारतको दुधवा नेसनल पार्कदेखि बर्दिया राष्ट्रिय निकुञ्जसम्म ओहोरदोहोर गर्ने गरेको उनी बताउँछन्। हात्तीलाई सानो क्षेत्रले पुग्दैन। यिनीहरू लामो यात्रा गर्दै हिँडडुल गर्छन्। पुर्खाहरू हिँडेको बाटाहरू पछ्याउँदै हिँड्ने हात्तीहरूको प्राकृतिक गुण रहेको हात्तीविज्ञ डा. राम बताउँछन्। लामो समयपछि त्यस्ता क्षेत्रहरूमा मानवीय अतिक्रमण भई घरटहरा निर्माण भएकोले उक्त बाटोमा पर्ने घरहरूमा हात्तीले आक्रमण गरी भत्काउने गर्छन्। उनले थपे, हात्ती संरक्षणको लागि अतिक्रमण रोक्नु आवश्यक छ। 

बासस्थान विनाश, तीव्र अतिक्रमण र मानव हात्तीबीचको द्वन्द्व हात्ती संरक्षणको प्रमुख चुनौती हो। हात्ती संरक्षणको लागि मानवीय अतिक्रमित क्षेत्रहरू हटाउन सके मानव हात्तीबीच सहअस्तित्व कायम गर्न सकिने उनले सुझाए। निकुञ्जले सम्भावित हात्तीको जोखिम रहेका क्षेत्रहरूमा कंक्रिट एवं इलेक्ट्रिक तारबार जडान गरे पनि हात्तीका छेकवारहरू दीर्घकालीन समाधानका रूपमा नभई आपतकालीन सुरक्षाका लागि प्रभावकारी देखिन्छ। हामीले संरक्षणमा काम गर्ने विभिन्न संघसंस्थाको सहकार्यमा हात्ती आएको सूचना दिने, धपाउनेलगायत समुदायलाई सचेत पार्ने काम गर्दै आएका छौं। जंगलहरूमा जथाभावी रूपमा प्रवेश गर्ने कार्य तत्काल रोकिनुपर्छ उनले भने। 

किन बढ्यो द्वन्द्व ? 
मुलुकको जैविक विविधता संरक्षणमा सरकार–समुदायबीच बलियो सहकार्य छ। जसका कारण जलचर, थलचर, उभयचर, किटपतंग एवं वनजंगलको श्रीवृद्धिले गति लिएको छ। जैविक विविधताको संरक्षणले विश्व मानचित्रमा मुलुकलाई हरियाली देखाउने सौभाग्य मिलेको छ। तर, यसको दिगो संरक्षण मुख्य चुनौतीका रूपमा देखिएको छ। 

वन्यजन्तुको आक्रमणले मानवीय क्षति तथा मानवीय आक्रमणले वन्यजन्तुको क्षति हुने क्रम बढ्दो छ। मानव वन्यजन्तुबीच दिनानुदिन द्वन्द्व चुलिँदै छ। मानव–वन्यजन्तुबीच आवश्यक सह–अस्तित्वको वातावरण निर्माण हुन नसक्दा असहिष्णुता मौलाउँदै छ। प्रकृति एवं वन्यजन्तु बढेसँगै समुदाय खुसी हुनुपर्ने हो, तर त्रासको वतावरण बन्दै गएको छ। त्यसतर्फ सरकार समयमै सचेत हुनु आवश्यक छ। 

मुलुकमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र २ वटा प्राणी उद्यान मार्फत जैविक विविधताको संरक्षण गरिँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको वैशाख महिनासम्म गैंडाको आक्रमणबाट ८, बाघको ६, भालु २, अर्ना १ मगरगोहीको आक्रमणबाट २ जना गरी १९ जनाको मृत्यु भएको छ। त्यस्तै, सामान्य ५०, सख्त ४२ गरी ९२ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा गैंडा ७, बाघ ४ र मगरगोहीको आक्रमणबाट २ जना गरी १३ जना मानिसले ज्यान गुमाएका छन्। गैंडा, बाघ, हात्ती र भालुको आक्रमणमा परी ४४ जना सामान्य/सख्त घाइते भएका हुन्। 

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १ सय ६० पशुधन क्षति भएको छ। चितवनमा वन्यजन्तुका पीडितहरूलाई निकुञ्जले २ करोड १८ लाख ६२ हजार ४ सइ ७२ रुपैयाँ राहत उपलब्ध गराएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ, चितुवा र गैंडाको आक्रमणमा परी १४ जना सामान्य/सख्त घाइते भएका छन्। ९ सय ३६ पशुधन क्षति भएको छ। निकुञ्जले पीडितहरूलाई १ करोड ३८ लाख १० हजार ८३० रुपैयाँ राहत उपलब्ध गराएको छ। निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति नभए पनि वन क्षेत्रमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक छ।

देशभरिका २० वटा संरक्षित क्षेत्रहरूमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा मानवीय तथा पशुधन क्षति भएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको आक्रमणमा परी ३ जना सख्त घाइते भएका छन् भने भालु, ध्वाँसे चितुवाको आक्रमणबाट १ सय ५६ वटा पशुधन क्षति भएको विभागको तथ्यांक छ। शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा १ हजार ६ सय १७ पशुधन क्षति भएको छ। त्यहाँ नेपालकै सबैभन्दा बढी २ करोड ९२ लाख रुपैयाँ राहत पीडितहरूलाई वितरण गरिएको छ। 

तराईका संरक्षित क्षेत्रहरूमा वन्यजन्तुको मृत्युहुने दर बढी छ। निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा प्राकृतिक, सडक दुर्घटना, चोरी सिकार, करेन्ट, नहरमा डुबेर, कुकुर आक्रमण पासोमा परेरलगायत विविध कारण गरी ३ सय ५७ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये गैंडा २६, बाघ ११, हात्ती ६, कृष्णसार ५०, चित्तल १ सय ९६, जरायो १०, अर्ना ११, छन्। 

मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै जैविक विविधताको दिगो संरक्षणका लागि विभागले वन्यजन्तुको बासस्थान व्यवस्थापन, अध्ययन अनुसन्धानलगायतका निरोधात्मक उपायहरूमा जोड दिने रणनीति अघि सारिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ विशेषज्ञ एवं सूचना अधिकारी श्यामकुमार शाहले बताए। ठूला तथा साना वन्यजन्तुहरूलाई निकुञ्जभित्र रोक्न मेस वायर फेन्स, कंक्रिट वाललगायतका छेकवार नियमित गर्छौं।

अध्ययन, अनुसन्धानमा जोड दिई वन्यजन्तुको वास्तविक तथ्यांक अनुगमनमार्फत आवश्यक नीति निर्माण गर्ने हाम्रो तयारी छ। उनले भने वन्यजन्तु नियन्त्रण गर्न अनुगमन नै प्रभावकारी हुन्छ। पूर्वाधार निर्माणमा समय लाग्ने भएकाले पनि विभिन्न निरोधात्मका उपायमार्फत जंगल बाहिर निस्किएका वन्यजन्तुलाई बासस्थानमा फर्काउन पहल गर्दै त्यस्ता वन्यजन्तुमा कलर रेडियो जडान गरी अनुगमन गर्ने र समुदायलाई वन्यजन्तु बस्तीमा पसेको सूचना दिलाउन आधुनिक प्रविधिहरू जडान गरिने विशेषज्ञ अधिकारी साहको भनाइ छ। 

झुन्डबाट निस्कने हात्ती बदमास 

जंगली हात्तीहरू परिवारमा बस्न रुचाउँछन्। यिनीहरू विचरणका क्रममा लामो दूरीको यात्रा गर्दा सपरिवार झुन्डमा रहन्छन्। हात्तीको हजुरआमाले झुन्डको नेतृत्व गर्छिन्। झुन्डमा भनेको नमान्ने, अटेर गर्ने हात्तीलाई परिवार (झुन्ड) बाट निकालिनेछ। यसरी निकालिएर एक्लिएको हात्तीले वन जंगल, निकुञ्जलगायत मध्यवर्तीका सामुदायिक वनहरूमा वितण्डा मच्चाउने गर्छ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘ग्रुपमा हुने हात्तीले कहिल्यै बिठ्याई गर्दैन। एक्लो हात्ती नै आक्रामक हुने गर्छ। बर्दियामा १ सय २० वटा जंगली हात्ती छन्। धेरैजसो रैथाने हात्ती छन्। आगन्तुक हात्तीहरू केही महिना बसेर फर्किन्छन्। कहिलेकाहीँ ग्रुपमा रहेका हात्तीलाई समुदायले जिस्क्याउने, घेर्ने समस्या छ।’

यसोगर्दा मानवीय क्षति हुन सक्छ। पछिल्लो समय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हात्तीसँगको द्वन्द्वात्मक अवस्था छैन। करिडोर क्षेत्रमा समस्या छ। पृथ्वीको सबैभन्दा विशाल स्तनधारी थलचर हात्ती हो। यो नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत छ। संसारभर यसको संख्या घट्दै छ। विश्वमा हात्तीको महŒव दर्शाउँदै संरक्षणका लागि सचेतना दिन अगस्ट १२ का दिन विश्व हात्ती दिवस समेत मनाइन्छ। 

प्रजनन केन्द्रमा हात्ती
बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसार (हात्ती प्रजनन केन्द्र) मा पोथी १० र भाले ३ वटा गरी १३ वटा हात्ती छन्। जसमा ३ वटा बच्चा रहेको अधिकृत वाग्ले बताउँछन्। हात्तीलाई दैनिक १५ किलोग्राम धान, साढे १ केजी भेली र २५ ग्राम नुन राशनको रूपमा दिइन्छ। एउटा हात्तीले दैनिक २ सय केजी खाने गर्छ। यसका अलावा हात्तीलाई जंगलमा चराइने गरिन्छ। माघ, फागुन र चैत लगायतसुक्खा महिनामा ५ केजी पराल खुवाउनुपर्छ।

हात्तीसारका हात्तीमा स्वास्थ्य, रासनलगायत हात्ती बाँध्ने सेडघर पुरानै भएकाले समस्या पर्ने गर्छ। हात्तीको बच्चा (छावा) जन्मिएपछि दरबन्दी नहुँदासम्म समस्या हुन्छ। वाग्लेले थपे, एउटा हात्तीको लागि फणित, माउत र पछुवा गरी तीन जना कर्मचारी हुन्छन्। यतिखेर कर्मचारी दरबन्दीमा समस्या छैन। वर्षाद्को बेला हात्तीलाई चरिचरनको लागि निकुञ्जमा आहाराको प्रशस्त पहुँच छ। 

हात्तीलाई पर्यापर्यटनलगायत विभिन्न काममा लगाएर दुःख दिने परिपाटी राम्रो नभएको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यको भनाइ छ। भौगोलिक विकटताका कारण वन्यजन्तुको अनुगमन गर्न हात्तीको प्रयोग गरिएता पनि अन्य पीडादायी कार्यमा हात्तीलाई प्रयोग गरिनु हुँदैन। उनले भने हात्तीको ठूलो शरीर भएका कारण पनि उसलाई धेरै मिहिनेत पीडादायी हुन्छ।

मानव–बाघ द्वन्द्व
दाँत फुस्केको, बुढो, बिरामी एवं कमजोर अवस्थाको मानवीय क्षति पुर्‍याउने डार्ट (लठ्याउने विधि) मार्फत नियन्त्रणमा लिइएका मानवीय आक्रमण गर्ने समस्याग्रस्त पाटेबाघ निकुञ्जभित्र प्राकृतिक चिडियाखाना बनाएर राख्न आवश्यक देखिएको छ। निकुञ्जका खोरहरूमा व्यवस्थापनका लागि राखिएका त्यस्ता बाघलाई सरसफाइ एवं पर्याप्त आहारा समस्या बन्ने गर्छ।

समस्याग्रस्त बाघहरू जंगलभित्र आहाराको व्यवस्थापन गर्न नसक्दा सहज रूपमा प्राप्त हुने मानिस, घरपालुवा जनावर आदि आहाराको खोजीमा जंगल बाहिर निस्कँदा मानवीय क्षति बढ्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामले बताए। null

मानवीय आक्रमण गर्ने समस्याग्रस्त बाघहरूको संख्या बढ्दै जाँदा व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण बनेको छ। मानवीय आक्रमण गर्ने बाघ छोपेर दिगो व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका खोरहरूमा ६ वटा समस्याग्रस्त पाटेबाघहरू राख्न सक्ने क्षमता छ। निकुञ्जका अनुसार खोरहरूमा ४ वटा समस्याग्रस्त पाटेबाघ छन्।

बाघले प्राकृतिक रूपमा एक सातामा ५० किलोग्राम मासु आहाराको रूपमा खान्छ। तर खोरमा भएका बाघहरूलाई अपर्याप्त स्रोतसाधनका बाबजुद ३० केजी मात्र खुवाइने गरेको छ। व्यवस्थापन गर्नुपर्ने बाघको आहारा र पूर्वाधारहरूको लागि पर्याप्त बजेट नहुँदा निकुञ्जलाई समस्या छ। खुला चिडियाखाना बनाएर त्यस्ता बाघहरूलाई प्राकृतिक रूपमा राख्न सके मानव बाघ द्वन्द्वको समस्या दिगो समाधान हुने र पर्यापर्यटन समेत वृद्धि हुने रामको भनाइ छ।

खोरमा राखिएका बाघहरूलाई सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनलगायतको पाटोमा निकुञ्जलाई कठिनाइ व्यहोर्नुपर्छ। निकुञ्जका खोरमा राखिएका तीन वटा र जंगलमा एउटा गरी गत वर्षसम्म चार वटा पाटेबाघ मरेका छन्। पछिल्लो तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटेबाघ छन्। समस्याग्रस्त पाटेबाघ समात्न राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमले प्राविधिक सहयोग गर्दै आएको छ। बाघले मानवीय क्षति पुर्‍याएपछि निकुञ्जको सहकार्यमा कोषले बाघ लठ्याउने, समात्नेलगायतका कार्यहरू गर्दै आएको एनटीएनसी बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए। निकुञ्जका हरेक गतिविधिमा कोषले सहयोग गर्दै आएको छ। 

व्यापक सम्पत्ति क्षति
वन्यजन्तुले मानवीय क्षतिसँगै अधिकांश पशुधन, घरगोठ तथा अन्नबालीमा क्षति पुर्‍याउने गरेको छ। गत वर्ष वैशाश महिनासम्म वन्यजन्तुको आक्रमणबाट कुल ४ हजार ५ सय ७४ पशुधन क्षति भएको छ। सबैभन्दा बढी चितुवाको आक्रमणबाट २ हजार ६ सय ५९ वटा पशुधन क्षति भएको छ। त्यस्तै हिउँ चितुवाको आक्रमणबाट १ हजार १ सय ६२, ब्वाँसोबाट ४ सय ४९, बाघ १ सय ६६, बाँदर ५८, भालु ५०, मगर गोहीबाट १३, जंगली कुकुर ७, अजिंगर ६ र जंगली बँदेलबाट ४ वटा पशुधन क्षति भएका छन्। १ हजार माछा क्षति भएका छन्। 

वन्यजन्तुबाट ३ सय १६ वटा कुखुरा क्षति भएका छन्। त्यस्तै १ सय ९१ वटा घरगोठमा क्षति पुगेको छ। ४ हजार ९ सय ८५ स्थानमा अन्नबालीमा क्षति भएको छ। सरकारले वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितहरूलाई १३ करोड ७२ लाख ६८ हजार ३ सय २७ रुपैयाँ राहत क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ।

क्षतिको राहत दिलाउन सामूहिक बिमा
बर्दियाको मधुवन नगरपालिकास्थित खाता जैविकमार्ग क्षेत्रमा बसोवास गर्ने तीन वटा वडाका स्थानीयको सामूहिक बिमा गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँकेमार्फत वन्यजन्तुबाट हुने सामूहिक दुर्घटना बिमा गरिएको छ।

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय बिमा धारक रही मधुवन नगरपालिका १, २ र ३ नम्बर वडामा बसोवास गर्ने १ हजार ३ सय ११ घरधुरीका ३ हजार ३ सय ९० जना महिला र ३ हजार ३ सय ६६ जना पुरुष गरी ६ हजार ७ सय ५६ जनाको प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए। बिमाको कुल ३५ करोड १२ लाख रुपैयाँ बिमांक रकम छ। अन्य कुराहरूमा पनि बिमा कम्पनीहरूसँग सहकार्य जारी भएकोले बिमाको थप कार्यक्रम बढाउँदै लैजाने तयारी वन कार्यालयको छ। बिमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गते सम्म १ वर्षको कायम छ। 

भुक्तानीको लागि दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था तोकिएको छ। बिमालेख कायम गरेको अवधिमा बिमालेखमा परिभाषित दुर्घटनाको एक मात्र प्रत्यक्ष कारणबाट बिमितलाई भएको शारीरिक क्षतिमा बिमालेखको लाभको तालिकामा उल्लेख भएबमोजिमको रकम बिमकले भुक्तानी पाउने व्यवस्था तोकिएको डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत टंक गुरुङ बताउँछन्। 

दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा बिमालेख धारक वा बिमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुट्टा बयान दिई अनुचित लाभ उठाउन खोजे, बिमा ऐन २०४९ बमोजिम बिमा समितिले बिमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी नगरे बिमा भुक्तानी नहुने प्रावधान छ। गुरुङले भने वन्यजन्तुबाट दुर्घटना भई मृत्यु वरण गरेको अवस्थामा बिमा रकम दुई लाख रुपैयाँ उपलब्ध हुन्छ। लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बिमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.