कथाहरू पढ्दै जाँदा कथाकारले परदेशमा रहँदा घरदेशको याद, सपनाको देशमा पुगेर भोगेको भोगाइ, सपना साकार पार्न गरेका संघर्ष र त्यहाँ रहँदाबस्दाका अनेक अनुभूतिहरूलाई भावना र कल्पनाको जलपले सिँगारेर कथामा उतारेको महसुस हुन्छ।
कथाकार पञ्चम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ प्रकाशित भएको छ । संग्रहमा घरदेश र परदेशका विभिन्न कालखण्डमा लेखिएका विविध विषय र सन्दर्भका १४ वटा मझौला तथा केही लामा कथा संगृहीत छन् । कथाकारका धेरै कथामा डायस्पोरिक जीवनशैलीको ‘फ्लेभर’ छ । यद्यपि त्यसमा नेपालीपन र नेपाली मनको ढुकढुकीलाई स्पष्टरूपमा महसुस गर्न सकिन्छ । उनका कथामा नेपाली र विदेशी मिश्रित संस्कृतिमा हुर्के–बढेका र बाँचेका पात्रहरूको जीवन र त्यो जीवनको उहापोहलाई विभिन्न घटना र पात्रहरूको माध्यमबाट सुरुचिपूर्ण ढंगमा प्रस्तुत गरिएको पाइन्छ ।
समकालीनता र समसामयिकता अधिकारीका कथाका विशेषता हुन् । समकालीन समाजमा एउटा मान्छेको भोगाइ र उसको मनमा उठ्ने भावना र अनुभूतिलाई कथानक बनाएर लेखिएका कथाले आममान्छेको प्रतिनिधित्व गरेको पाइन्छ । सर्वदेशीय युगमा सर्वदेशीय नागरिकका कथा र व्यथा अधिकारीका कथामा आएका छन् । उनको कथालेखन अलि वर्णनात्मक छ । यद्यपि फरक घटना र परिवेशलाई तादात्म्य गरेर कथानकलाई रोचक बनाउन सक्नु उनको कथाकारिताको निजात्मक विशेषता हो । तर कथानकमा अकस्मात आउने नयाँ पात्र र नयाँ घटनाले कथालाई अर्कै मोडमा पुर्याइदिन्छ । यसले गर्दा कथामा कतैकतै दिशाविहीनता अथवा गन्तव्यविहीनताको आशंका पनि उत्पन्न गराउँछ । यद्यपि उनले कथालाई सफल र सुरक्षित अवतरण गराएको पाइन्छ । कथालेखनमा पारम्परिक शैलीलाई पछ्याएको भए पनि नवीनता र कथाकारको निजात्मकता छ ।
अधिकारीका कथामा चाहे देशको होस् अथवा विदेशको, समाजलाई हेर्ने आफ्नै दृष्टिकोण छ । त्यसलाई बुझ्ने अर्थात् ग्रहण गर्ने आफ्नै मन छ । कथामा आएको उनको विचार समाजलाई हेर्ने उनको दृष्टिकोण र उनको बुझाइका परिणाम हुन् । समाजलाई हेर्ने दृष्टिकोण र बुझाइलाई उनको बेजोड कल्पनाशीलताले थप प्रभावशाली बनाएको पाइन्छ । साँच्चै भन्ने हो भने उनले समाजको सूक्ष्म अन्वेषण गरेका छन् र आफ्नो दृष्टिकोण आफ्ना कथामा पस्केका छन् ।
संग्रहको शीर्षककथा हो ‘प्रवासीको देश हुन्न’। यो संग्रहकै एउटा सशक्त र समसामयिक कथा पनि हो।
अधिकारीका कथामा पाठकको हृदयमा स्पर्श गर्ने शक्ति छ । अधिकारीले समाजप्रतिको आफ्नो दृष्टिकोण र बुझाइ पाठकसम्म सम्प्रेषण गर्न, केही सन्देश दिन र केही प्रभाव छोड्न कथा लेखेको महस्ुस हुन्छ । दैनन्दिन जीवनमा आफूले भोगेको भोगाइ, अनुभूति र आफ्ना भावना अभिव्यक्त गर्न कथालाई माध्यम बनाएको महसुस हुन्छ । त्यसैले तुलनात्मकरूपमा कथामा आवश्यकभन्दा केही बढी नै कथानकलाई जोड्ने प्रयास गरिएको भए पनि त्यसलाई कथाकारको मनको भावनाको छचल्काइको रूपमा बुझ्न सकिन्छ । मनमा अटेसमटेस भएर बसेका भावनालाई पोख्ने क्रममा कतैकतै आवश्यकभन्दा बढी र बेप्रसंगका सन्दर्भहरू पनि कुनै कुनै कथामा जोडिन पुगेका छन् । सचेत पाठकले यस्तो महसुस गरे पनि त्यस्ता सन्दर्भले कथालाई अल्छीलाग्दो चाहिँ बनाएका छैनन् ।
संग्रहको पहिलो कथा हो, ‘सानो सेक्रेट’ । नेपालमा छँदाखाँदाको लेखापालको जागिर छोडेर अमेरिका भासिएका सुबिन नामक पात्रको मनमा उठेको लघुताभास र त्यसले सिर्जना गरेको मनोदशा नै यस कथाको मूल कथानक हो । तर कथानकलाई मूलपात्रले भन्दा सहायक पात्रहरूले गन्तव्यमा पुर्याएका छन् । अमेरिकामा असिस्टेन्ट कुक भएर काम गरिरहेको यथार्थलाई लुकाउने प्रयासस्वरूप बुनिएको कथानकलाई ‘सानो सेक्रेट’ शीर्षक दिइएको छ । त्यही सानो सेक्रेटलाई नेपाल आउँदा कथाको सहायक पात्र एउटा बालकले त्यो गोपनीयता भंग हुन नदिई कायम राखेको सन्दर्भ कथामा छ । सपनाको देश अमेरिका पुग्न गरिब देशका मान्छेले गर्ने संघर्ष र त्यागको सानो नमूना प्रस्तुत गरेको छ यो कथाले । संक्षेपमा भन्नुपर्दा यो अमेरिकी सपनाको कथा हो ।
दोस्रो कथा हो ‘नेहा’ । यो कथा आमा विरामी हुँदा अमेरिकाबाट नेपाल फर्केकी अर्थात् ‘न्यूयोर्क रिटर्न’ ब्युटिसियन नेहाको जीवनको उहापोहको कथा हो । नेहाको जीवनमा धेरै उतारचढाव भएको छ । पेशा, जीवन र नियतिले डोर्याइएकी एउटी महत्वाकांक्षी पात्र नेहाको जीवनमा सुख र दुःखका पलहरू समानरूपमा आएका छन् । आमा बन्ने सपनाले डोर्याइएकी नेहा आमा बन्दा पनि सन्तानको प्रिय आवाज सुन्न नपाएको अवस्था अत्यन्त कारुणिक र मार्मिक छ ।
हाइस्कुले जीवनमै दादागिरीमा लागेको एउटा पात्रको सनसनीपूर्ण एवं विषादपूर्ण कथा हो ‘लोकल हिरो’ । यसैगरी प्रहरीको भाषामा भन्नुपर्दा गुण्डानाइके कोब्राकुमारको दुःखद अवसानको कथा हो ‘घातक आकर्षण’ । त्यही गुण्डानाइके, जो लोकल केटाहरू जम्मा पारेर दादागिरी चलाउँछ, उसैप्रति आशक्त बनेकी माला नामकी पात्रको निर्दोष प्रेमको कथा
पनि हो ‘घातक आकर्षण’ ।
संग्रहको शीर्षककथा हो ‘प्रवासीको देश हुन्न’ । यो संग्रहकै एउटा सशक्त र समसामयिक कथा पनि हो । देशको विसंगत राजनीति र प्रशासनिक बेथितिप्रति कडा प्रहार गर्न सफल यो कथा निकै रोचक छ र घोचक पनि छ । राज्यसत्तामा बसेकाहरूप्रति इंगित गर्दै सेवाग्राहीलाई हदैसम्मको हैरानी दिने प्रशासनिक चरित्रप्रति चरम असन्तुष्टि व्यक्त भएको छ यो कथामा ।
आफ्नै देशमा केही बन्ने, केही गर्ने र केही पाउने अवसर नपाएर विवशतावश सात समुद्रपार पुगेका नेपाली पात्रहरू रहँदैबस्दै गर्दा परदेशका नागरिक बनेका छन् । त्यस्तै एउटा नेपाली पात्र आफ्नै देशको मायाले डोर्याइएर आउँदा विमानस्थलका कर्मचारीले गैरनेपालीलाई झैं गरेको व्यवहारले त्यस्ता नेपालीले आफू प्रवासी हुँदा प्रवासीको आफ्नो देश हुन्न भनेर सोच्न बाध्य पारेको घटनालाई जीवन्तरूपमा प्रस्तुत गरिएको छ यो कथामा ।
देशले दिने सेवा र सुविधा तपसिलका कुरा हुन् । मान्छेलाई बाँच्नका लागि नभइनहुने रोजगारी उसको आयआर्जनको माध्यम हो । त्यो नै नभएपछि त्यसैको खोजीमा मान्छे घरदेश छोडेर परदेश जान्छ । त्यस्तो मान्छेले आफू बाँचेर परिवार पनि बचाएको हुन्छ । अनि त्यस्तो मान्छे देश सम्झेर आउँदा अनागरिकलाई जस्तो अत्यन्तै रुखो व्यवहार गरेर मन दुखाउनु विडम्बना मात्रै होइन महाभुल पनि हो । यस्तै सन्देश ‘प्रवासीको देश हुन्न’ कथामा छ ।
यसैगरी, अन्य कथामा ‘तिम्रो लोग्ने खै ? ’मा प्रवासमा यौन शोषणमा परेकी महिलाको कथा छ । ‘अनि ऊ भागी’मा सहरमा धन्दा चलाउने गिरोहको पञ्जामा पर्नबाट बच्न सफल एउटी ग्रामीण युवतीको संवेदनशील कथा छ । ‘पिकासो केटी’ मा रखौटीको रूपमा रहेकी त्यो केटीमार्फत राजा–महाराजाले गर्ने यौन शोषणको कथा भनिएको छ । ‘फिरन्ते अनुराग’, ‘यो बर्बादी’, ‘इपीसेन्टर पालुङटार’, ‘तिम्री स्वास्नी’, ‘इडियट’ आदि कथामा प्रेम, यौन र जीवनका बारेमा कथाकारका विचार र अवधारणा आएका छन् । यद्यपि यी औसत कथा नै हुन्, उत्कृष्ट कथा होइनन् ।
कथाकार अधिकारीमा समयचेत यथेष्ट छ भन्ने कुराको प्रमाण हो, हालै शिखा बुक्सबाट प्रकाशित ‘प्रवासीको देश हुन्न’ कथासंग्रह । उनका कथाहरूमा बजारले मागेको भन्दा पनि वर्तमान समयले खोजेको आवाज छ भन्ने लाग्छ । त्यस्तो आवाज समाजको यथास्थितिमा परिवर्तनका लागि सुन्नु र धेरैलाई सुनाउनु जरुरी छ । अधिकारीले आफ्ना कथामार्फत् त्यस्तो आवाज सुनाउने काम गरेका छन् । यद्यपि अन्य केही कथाहरू भने बजारले पनि रुचाउन छोडिसकेको कथानकमा बुनिएका छन्, जुन अलिकति ‘आउटडेटेड’ जस्तो लाग्छ ।
कथाहरू पढ्दै जाँदा कथाकारले परदेशमा रहँदा घरदेशको याद, युवावयमा आफ्नो गाउँठाउँमा बिताएका तीतामिठा पलहरूको सम्झना, सपनाको देशमा पुगेर भोगेको भोगाइ, सपना साकार पार्न गरेका संघर्ष र त्यहाँ रहँदाबस्दाका अनेक अनुभूतिहरूलाई भावना र कल्पनाको जलपले सिँगारेर कथामा उतारेको महसुस हुन्छ । यद्यपि विषयवस्तुका दृष्टिकोणले महत्वपूर्ण र समसामयिक कथामा पनि कथानकलाई सोहीअनुरुप सशक्त बनाउन नसक्नु कथाकारको कमजोरी हो । यसमा सुधार अपेक्षित छ ।