जहाँ मध्यरातमा चिच्याएर ‘वर’ मागिन्छ !

संस्कृति/समाज

जहाँ मध्यरातमा चिच्याएर ‘वर’ मागिन्छ !

हामी प्राय :  मन्दिर पुग्नासाथ मनमनमा रहेका अनेकौं रहर पूरा हुन भन्ने सोचिरहेका हुन्छौं। अर्थात्, भगवान् कामना गरिरहेका हुन्छौं। रातको समयमा एउटा मात्रै बज्यैले सुन्नेगरी वर माग्यो भने पूरा हुन्छ भन्ने जनविश्वास छ।

ए सत्यवती माई, मेरो छोराको विदेशको भिसा लागोस् । म कालोबोका चढाउँछु । पाल्पा सिद्धेश्वरबाट सत्यवती माईको दर्शन गर्न पुगेकी मनमाया गाहाँले माईको मन्दिर घुमेपछि वर मागिन् । उनको समूहमा सँगै पुगेका तिलक रानाले पनि अर्को वर्ष गाडी किन्न पाउँ भन्दै वर मागे । दुवैले सबैले सुन्ने गरी नै वर मागेका थिए । मनमाया र तिलक रानाजस्तै हजारौं दर्शनार्थी सत्यवती बज्यैको मन्दिर पुग्ने गर्छन् । आफ्ना अपूरा रहरहरू पूरा हुन् भन्दै भाकल गर्छन् । 

चिटिक्क परेका ससाना मन्दिर । कलात्मक प्राकृतिक छटाले सिँगारिएको सुन्दर ठाउँ । छेउमै छ, सफा र कञ्चन ताल । वरिपरि बाँसको लिंगा गाडिएको सत्यवती ताल परिसर आफैंमा मनमोहक छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने सत्यवती मन्दिर आफैंमा ऐतिहासिक अनि धार्मिकस्थल हो । पर्यटकीय स्थानको रूपमा विकसित हुँदै गरेको यो मन्दिर परिसर पुग्दा स्वर्गकै अनुभूति हुने गर्छ । वरिपरि जंगलको बीचमा रहेको सत्यवती ताल र तालको छेउमै बनाइएका सत्यवती बाजे र बज्यैको मन्दिर विशेष महत्व बोकेका छन् ।

मनकामना देवीकै एक दिदीबहिनीमध्ये सत्यवती देवी पनि एक हुनुहुन्छ। सत्यवती बज्यैले थकाइ मारेका स्थानहरूमा पनि सत्यवती माईको मन्दिर स्थापना भएका छन्।

नीलो रंगमा समाहित गरेको पानीले सत्यवती तालमा बेग्लै साम्राज्य सिर्जना गरेको छ । जहाँ चराचुरुंगी, माछा, जलचर र थुप्रै जनावरले आ श्रयस्थल बनाएका छन् । तालमा फुलेका रंगीविरंगी फूल र पानीको कलकल आवाजले सत्यवती मन्दिर प्रांगणमा बेग्लै रौनक थप्ने गर्छ ।

टाढाटाढाबाट मन्दिर दर्शन गर्न पुगेका भक्तजनले ताल वरिपरि घुम्दै, चिच्याउँदै मध्यरातमा वर माग्दै गरेको दृश्य भने रोचक र अनौठो देखिन्छ । राता, पहेंला रंगीविरंगी ध्वजापताकाले मन्दिरको महिमा गान गाउँछ । मनोकांक्षा पूरा भएपछि टाढाटाढाबाट दर्शनार्थी बोका, परेवा, राँगा, हाँस लिएर पूजाका लागि सत्यवती माई पुग्छन् । बलि दिँदै गरेको दृश्य भने केही कारुणिक देखिन्छ ।

null

सत्यवतीमा आफ्ना अपूरा रहर र सपनाहरू पूरा होऊन भनेर पुग्ने गर्छन् भक्तजन । यहाँ आएर मध्यरातमा मागेको एउटा मात्रै वर पूरा हुन्छ भन्ने जन श्रुति छ । वर मागेर पूरा भएका कामनाहरूमा खुसी हुँदै बज्यैप्रति कृतज्ञ हुन पनि भक्तजन सत्यवती मन्दिर पुग्ने गर्छन् । एउटा मन्दिर सत्यवती बज्यैको छ । उक्त मन्दिरलाई सत्यवती माइसर्थान पनि भन्ने गरिन्छ । जसको छेउमै छ, सत्यवती बाजेको मन्दिर ।

वर माग्ने अनौठो समय  :  बाजे र बज्यै मिलेर उक्त स्थानको संरक्षण गर्नुहुन्छ, स्थानीय बासिन्दालाई रक्षा गर्नुहुन्छ भन्ने जनविश्वास छ । सत्यवती देवीले कानले नसुन्ने भएकाले चिच्याएर वर माग्नुपर्छ भन्ने किंवदन्ती छ । हामी प्राय :  मन्दिर पुग्नासाथ मनमनमा रहेका अनेकौं रहर पूरा हुन भन्ने सोचिरहेका हुन्छौं । अर्थात् भगवान्सँग कामना गरिरहेका हुन्छौं । रातको समयमा एउटा मात्रै बज्यैले सुन्नेगरी वर माग्यो भने पुरा हुन्छ भन्ने जनविश्वास छ ।

सिद्धार्थ राजमार्गको चरचरे र पानी मिलबाट करिब २ घण्टाको पैदलयात्रापछि सत्यवती मन्दिरमा पुग्न सकिन्छ । केही वर्ष अगाडिबाट यो मन्दिरमा पुग्न सडक मार्गको ट्र्याक पनि खोलिएको छ । झुम्साबाट करिव ७ किमि कच्ची उकालो बाटोको यात्राबाट पनि सत्यवती मन्दिर प्राङ्गण पुग्न सकिन्छ । मन्दिरमा हरेक दिन पूजा हुन्छ । तर विशेष मेला भने कात्तिके पूर्णिमाको दिन लाग्छ । यहाँ लाग्ने मेलालाई नेपालमै महत्वपूर्ण मेलाको रूपमा चिनिन्छ ।

कात्तिके पूर्णिमाको अवसरमा बाला चर्तुदर्शी परेको समयमा जोग परेको भन्ने गरिन्छ । यो वर्ष जोग परेको छ । यस अवसरमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म सत्यवती माईस्थानमा विशाल मेला लाग्यो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार यो वर्ष भव्य मेला लाग्यो र करोडौको कारोबार भयो। लाखौं रुपैयाँको भेटी संकलन भएको छ। 

मन्दिर दर्शनका लागि नेपालका विभिन्न जिल्ला र भारतीय सहरहरूबाट समेत दर्शनार्थी आएका थिए। तिनाउ गाउँपालिकाले यस वर्ष हुने मेलाका लागि विशेष पहल र तयारी गरेको थियो। हिँडेर पुग्न नसक्ने भक्तजनका लागि सवारीसाधनमा नै जाने गरी बाटो सफा गरेको थियो । मन्दिर परिसरलाई सुन्दर र व्यवस्थित बनाइएको थियो। 

क्र्याटर लेक हुन सक्ने सम्भावना  :  संस्कृतिविद् तथा अध्येता निर्मल श्रेष्ठ सत्यवती माईस्थान पाल्पाको मात्रै नभएर नेपालकै प्रसिद्ध धार्मिकस्थल भएको बताउँछन् । उनी भन्छन्, प्राकृतिक विविधता, जैविक विविधता, थरीथरीको जलचल, थलचरको उपस्थितिले सत्यवती माई परिसरमा मनमोहकता छाएको छ । पर्यापर्यटन, प्राचिनता र धार्मिक महत्व र इको टुरिज्मको रूपमा यो स्थान परिचित छ ।

चुरेपहाडको आडैमा रहेको यो ताल पाल्पा जिल्ला र यो क्षेत्रकै गहना हो । यहाँ मगर जातिको विशेष बासस्थान छ । मगर संस्कृतिलाई नजिकबाट नियाल्नको लागि पनि यो स्थान विशेष छ । यहाँ सांस्कृतिक विविधता छ । 

श्रेष्ठका अनुसार, पहाडको टाकुरामा रहेको यो ताल वरपर चारैतिर अग्ला पहाड र घना जंगल छ । सत्यवती ताल झ्याप्प हेर्दा क्र्याटर लेक ‘ज्वालामुखी फुट्दा माटोको ढिस्को उछिट्टिएर बन्ने ताल’ जस्तो देखिन्छ । यो स्थानमा तराईका थारू तथा चौधरी जातिले पनि पूजा गर्न आउने हुँदा क्र्याटर लेक हो कि भन्ने पनि अनुमान गरिएको छ । तर अहिलेसम्म प्रमाणित भइसकेको भने छैन । भलै ताल उत्पत्तिको बेग्लै कहानी जन श्रुतिमा रहेको छ ।

संस्कृतिविज्ञ निर्मल श्रेष्ठ अगाडि भन्छन्, ज्वालामुखी फुटेर बनेको स्थानमा ज्वालामुखीको असर कम होस् भनेर नरबली दिने पनि प्रचलन रहँदै आएको इतिहासमा भेटिन्छ । सत्यवती तालमा भक्तजनको आस्था र विश्वासलाई हेर्दा यसको प्राचिनताको अनुमान गर्न सकिन्छ । वर माग्दा झुटो कुरा वोल्न हुन्न र वर मागिसकेपछि पछाडि नफर्की हिँड्नुपर्छ भन्ने मान्यता छ ।

भाकल गर्न र भाकल पूरा भएपछि पनि पूजा गर्न भक्तजनहरू यहाँ पुग्ने गर्छन् । मलमास परेको वर्ष भने यहाँ मेला लाग्दैन । भाकल गरेका भक्तजन कात्तिके पूर्णिमाको अघिल्लो दिन नै मन्दिर पुगेर मध्यरातमा पूजा गर्छन् । यो मन्दिरमा कुखुरा र सुगुरको वलि चढाउन हुन्न भनिन्छ । यहाँको गाउँमा समेत सुँगुर पाल्न निषेध प्राय :  छ ।

सत्यवती माईस्थान उत्पत्तिको कथा  :  सत्यवती मन्दिर पूजा समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार परापूर्वकालमा पवित्र र सुन्दर ठाउँ खोज्ने र बास बस्ने क्रममा सत्यवती बज्यै यो स्थानमा आएको भन्ने किंवदन्ती छ । सत्यवती माईका धेरै दिदीबहिनीमध्ये एक बहिनीलाई यो स्थान मन परेपछि उहाँले नै सरसफाइ गरी यो स्थलको निर्माण गरेको पाइन्छ ।

null

किंवदन्तीअनुसार, मनकामना देवीकै एक दिदीबहिनीमध्ये सत्यवती देवी पनि एक हुनुहुन्छ । सत्यवती बज्यैले थकाइ मारेका स्थानहरूमा पनि सत्यवती माईको मन्दिर स्थापना भएका छन् । यो स्थान मन परेपछि तपस्या गर्ने भनेर, वरिपरि सरसफाइ गर्ने, बढारकुढार गर्ने क्रममा माइले कुभिण्डोको भाडामा पानी बोकेर ल्याउनुभएछ । बूढी भएकी सत्यवती बज्यैले काम कम सुन्नु हुँदोरहेछ । लिपपोत गर्ने क्रममा कुभिण्डोको भाडामा भएको अचानक पानी पोखिएछ र सत्यवती तालको स्थापना भएको हो भन्ने जन श्रुति छ ।

समितिका अध्यक्ष गाहा भन्छन्, परम्परागत मान्यताअनुसार सत्यवती माईमा आएर झुटो बोल्नेहरू यहीको तालमा विलय हुन्छन् भन्ने चलन छ । किंवदन्तीअनुसार, मध्यरातमा सरसफाइ गरिरहेकी बज्यैलाई त्यहाँ गाई चराउन गएका एक बालकले देखेछन् । पोखरीमा बज्यैले प्रयोग गर्ने सुनको काइयो भेट्टाएछन् । बज्यैले बालकलाई उक्त कुरा कसैलाई नभन्न र सुनको काइयो घर लिएर जान अह्राउनु भएछ । घर गएपछि ती बालकले बज्यैको विषयमा सबैतिर हल्ला गरेछन् । यसलगत्तै ती बालक त्यहँी विलय भएछन् भन्ने किंवदन्ती छ । यसैकारण पनि यहाँ आएर कसैले पनि झुटो बोल्न नहुने भनाइ छ । 

धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थल  :  तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा भन्छन्, ७४ प्रतिशत मगर जातिको बासस्थान रहेको तिनाउ गाउँपालिकाको गहना नै सत्यवती माईस्थान हो । प्रचारप्रसार र पक्की सडकको अभावले यो ठाउँको सोचे जति विकास हुन सकेको छैन । यस क्षेत्रको विकासका लागि गाउँपालिकाले योजना नै बनाएर काम गरिरहेको छ । पक्की सडक र पुल निर्माणको काम अगाडि बढेको छ ।

मन्दिर संरक्षण, संवर्द्धन र विकासका लागि गाउँपालिकाले ५ करोड ८ लाखभन्दा बढीको डीपीआर तयार गरेको छ । सत्यवती केवलकार निर्माणका लागि एक निजी क्षेत्रले समेत प्रस्ताव अगाडि बढाएको छ । धार्मिक पर्यटकीय स्थानको रूपमा विकास गर्ने, स्थानीय मगर संस्कृतिको प्रवद्र्धन गर्ने र त्यहाँ घुम्न जाने पर्यटक तथा दर्शनार्थीका लागि स्थानीय स्तरमै होमस्टे सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाको छ ।

फिल्म सुटिङ स्पटका रूपमा पनि यो स्थानलाई अगाडि बढाउन सकिने उपाध्यक्ष थापाले बताए । यस स्थानमा मेलाको बेला नेपालका विभिन्न जिल्ला र भारतको गोरखपुर, गोण्डा, लखनउ, सुनौली, बिहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्छन् । नेपाल र भारतका दर्शनार्थीलाई सहज तरिकाले सत्यवती माईको दर्शन गर्ने सकिने व्यवस्था मिलाउन प्रयास भइरहेको उनी बताउँछन् । 

इको टुरिजमको विशेष सम्भावना  : पत्रकार तथा अध्येता राजेशकुमार अर्यालका अनुसार सत्यवती मन्दिर परिसरमा इको टुरिजमको विशेष सम्भावना छ । डाँडाको माथि ताल हुनु, वरिपरि जंगल, बीचको समतल भागमा मन्दिर र वासपासमा मगर बस्ती भएको सुन्दर स्थान हो यो । यहाँबाट पाल्पा, रूपन्देही, गुल्मी तथा तराई र भारतका केही स्थान समेत हेर्न सकिन्छ । फिल्म तथा डकुमेन्टी निर्माण गर्ने स्थानको रूपमा यो स्थानलाई अगाडि बढाउन सकिन्छ ।

तानसेन नगरपालिका— ९ का वडाध्यक्षसमेत रहेका अर्याल भन्छन्, सत्यवती बज्यै कहाँबाट आउनुभयो भन्ने यकिन किंवदन्ती छैन । जन श्रुतिअनुसार, देवीहरू प्राय :  थानमा रहने चलन थियो । मानिसहरू हिँड्दा कतै डराए, रातविरातमा उक्त ठाउँमा अप्ठ्यारो भयो भने कुनै देवीको नाममा पूजा गर्ने र देवीस्थान निर्माण गर्ने संस्कृति पुरानै हो । नेपाली प्रकृतिपूजक हुन् । ताल भने ऐतिहासिक हो भन्ने अनुमान गर्न सकिन्छ । देवीस्थान भएको ठाउँमा मन्दिर बनाएर पूजा गर्न थालेको भने धेरै समय भएको छैन ।

फिल्म सिटी र सुटिङ स्पटको सम्भावना  :  स्थानीय नेता तथा विज्ञ झपेन्द्र जीसीका अनुसार सत्यवती बज्यै तालमै विलय भएको मान्यताअनुसार यहाँ तालमा पूजा गर्ने गरिन्छ । ताल किनारमा बाँस र पातीको लिंगो लिएर जाने र तालको छेउमा ध्वजा चढाउँदै पूजा गर्ने चलन छ । यहाँको प्राकृतिक सुन्दरता अत्यन्तै सुन्दर भएकाले यस स्थानलाई फिल्म सिटीको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनी बताउँछन् । 

जीसी भन्छन्, मगर समुदायमा हजुरबुवा हजुरआमालाई बाजेबज्यै भन्ने चलन छ । यही अनुसार नै उक्त समुदायका शक्तिशाली बाजे बज्यैको महिमाबाट यो सत्यवती माईस्थानको स्थापना र पूजा अर्चना सुरु भएको हुन सक्छ । जे होस्, यो स्थल सुरभ्य र रौनकले भरिपर्ण छ । सत्यवती माईको तालभन्दा करिब डेढ किमिमाथि सत्यवती बाजेको ताल छ । जहाँ पानी भने सुकेको छ । बर्खायाममा मात्रै यहाँ पानी रहन्छ ।

जीसी भन्छन्, लताकुञ्ज, वृक्षकुञ्जको बीचमा मूल नभएको स्थानमा ताल हुनु नै अद्वितीय शक्ति हो । केही विशेष शक्ति भएकै कारण यो सम्भव भएको हुन सक्छ । यो सत हो, यहाँ केही अदृश्य शक्ति छ भन्ने गहिरो विश्वास छ । यसको वरिपरि वृक्षकुञ्ज, लताकुञ्ज, हरियाली र सुरम्भ्य वातावरण छ । जुन निकै मनमोहक देखिन्छ ।

फिल्म सुटिङ गर्दा हिरो हिरोइनहरूको भेट्ने स्थलको रूपमा यहाँको दृश्य देखाउन सकिन्छ । उनीहरूको नाच र प्रेमील दृश्यका लागि सत्यवती माईस्थान गजबको गन्तव्य बन्न सकछ । फिल्म तथा म्युजिक भिडियो बनाउने क्रममा एक्सन सिन होस् या विवादका दृश्य हुन्, यहीको जंगलमा बनाउन सकिन्छ । यहाँको सिनलाई जस्ताको तस्तै भिडियो र फिल्ममा उतार्न सकिन्छ । पर्यटनको प्रचुर सम्भावना भएको सत्यवती माईस्थान अवसरको ढोका हो । समग्रमा पाल्पाकै बहुमूल्य गहना हो यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.