मानव वन्यजन्तु द्वन्द्व, सहअस्तित्वको चुनौती
जैविक विविधता संरक्षणको प्रयासमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेको कामको चर्चा छ । तर, मानव र वन्यजन्तुबीच चुलिँदो द्वन्द्वले यो प्रयासलाई चुनौती दिइरहेको तथ्यांक पछिल्ला वर्षमा सार्वजनिक भइरहेको छ । पछिल्लो २१ वर्षको तथ्यांक अनुसार जंगली हात्ती र अन्य वन्यजन्तुका कारण ३५० भन्दाबढी मानिसले ज्यान गुमाउनुका साथै सयौं घाइते भएका छन् । मनव वन्यजन्तु द्वन्द्वमा दुबै पक्षको सहअस्तित्वको चुनौती देखिन्छ । मानव गतिविधिका कारण हात्ती, बाघ, गैंडा लगायतका संरक्षित वन्यजन्तुको संख्या घट्दो क्रममा पनि छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व दिनप्रतिदिन बढ्नु चुनौतीको विषय हो । मानव बस्तीको विस्तार, अतिक्रमण र वनजंगलको विनाशले वन्यजन्तुहरूको बासस्थान सीमित हुँदै जाँदा यो समस्या आएको हो । यसले गर्दा मानव र वन्यजन्तुको प्रत्यक्ष द्वन्द्व भइरहेको छ, जसको परिणामस्वरूप दुवै पक्षले दुःख भोग्नु परेको छ । यसको मुख्य कारण भनेको सरकारसँग वन्यजस्तु संरक्षणको दीर्घकालीन योजना नहुनु हो ।
वन्यजन्तु संरक्षणका नाममा बिभिन्न कानुन बनेका छन् । तर, तिनको प्रभावकारी कार्यान्वयनमा उदासिनता देखिन्छ । बाघ, गैंडालगायत जंगली जनावरले मानवीय जीवनलाई प्रभावित पारेका घटनाहरू दैनिक सार्वजनिक भइरहँदा सरकार र सरोकारवाला निकायले यस्ता घटनालाई समाधान गर्न दीर्घकालीन रणनीति बनाउन सकेको छैन । वन्यजन्तुको बासस्थान अतिक्रमण, अव्यवस्थित शहरीकरण र जंगल क्षेत्रको अवैध उपयोगले मानव र वन्यजन्तुको द्वन्द्व बढाएको हो । हात्ती, बाघजस्ता जनावरले आफ्नो प्राकृतिक मार्ग खोज्दा मानव बस्तीमा प्रवेश गर्नु र मानवीय तथा पशुधनमा क्षति पु¥याउनु स्वाभाविक हो । मानव वन्यजन्तु द्वन्द्व न्युनीकरणका लागि सचेतना कार्यक्रमहरू सञ्चालन, वन क्षेत्रहरूको प्रभावकारी व्यवस्थापन, वैकल्पिक रोजगारीको सिर्जना सुनिश्चित गर्नुपर्छ ।
वनक्षेत्रको सीमा निर्धारण गरी मानवीय बस्ती र बन्यजन्तुबीचको सम्पर्कलाई न्युनीकरण गर्न जैविक मार्गहरूको विकास पनि अपरीहार्य छ । वन्यजन्तुको अनुगमन गर्न प्रविधि प्रयोग, प्रभावित क्षेत्रहरूमा सामुदायिक बिमा योजना विस्तार र वन्यजन्तुको बासस्थान संरक्षणमा प्राथमिकता दिइनु आवश्यक छ । मानव–वन्यजन्तु द्वन्द्वले जैविक विविधताको संरक्षणलाई थप कठिन बनाउँदैछ । सहअस्तित्वका लागि दीर्घकालीन योजना, प्रविधिको उपयोग र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ । यसले मात्र देशको जैविक विविधताको दिगो संरक्षण सम्भव बनाउने छ । मानव वन्यजन्तु द्वन्द्वलाई प्रभावकारी रूपमा न्युनीकरण गर्न तात्कालीन र दीर्घकालीन योजना बनाएर लागू गर्नुपर्छ ।