सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं : सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो ।
उनले लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरेका हुन् । रास्वपाले राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने लगायतका माग गरेको छ।
झाले भने, ‘राजनीति प्रतिशोधले सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको छ । बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै दबाबस्वरुप दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छौँ ।’
झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रास्वपाले ज्ञापनपत्र बुझाउन समय मागेपनि नदिएको गुनासो गरे। लामिछानेमाथि कास्की र रुपन्देहीमा सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ।