गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी
दोलखा : गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन्। यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार १६ जनाले मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निम लेकी शेर्पा, रास्वपाबाट गोमा श्रेष्ठ, नेकपा एसबाट रविना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्काको उम्मेदवारी परेको हो।
स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्किमा शेर्पासहित ९ जनाले मनोनयन दर्ता गराएका छन् ।