उपनिर्वाचन : शक्ति परीक्षणमा दल
काठमाडौं : प्रमुख दलले अधिकांश स्थानका उपनिर्वाचनमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । त्यसैकारण, यो उपनिर्वाचनले दलहरूको शक्तिको परीक्षण गर्ने छ । अर्थात्, जनमतले कुन दलको अवस्था के छ भन्ने स्पष्ट सन्देश दिनेछ ।
सत्तासीन कांग्रेस र एमालेले केही स्थानमा गठबन्धन त गरेका छन, तर अधिकांश स्थानमा एक्लाएक्लै मैदानमा छन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग ‘टाँसिने’ माओवादी पनि एक्लै मैदानमा छ ।
एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीले माओवादीसँग तालमेल गरिरहेको छ । रास्वपा पनि मैदानमा उत्रेको छ । पछिल्लोपटक ‘स्वतन्त्र’ को लहर चलेकाले अधिकांश स्थानमा स्वतन्त्र उम्मेदवार पनि मैदानमा उत्रेका छन् ।
कांग्रेस–एमाले जस्ता पुरानादेखि नयाँ दल मैदानमा छन् । अर्कोतिर, राजतन्त्र फर्काउनुपर्छ भन्ने दलले पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । ०७९ को निर्वाचनमा गठबन्धन गरेका कांगे्रस माओवादी केन्द्र होस् वा एमाले राप्रपा होस्, गठबन्धन गर्ने संकेत गरेका छैनन् र उम्मेदवारी छुट्टाछुट्टै दर्ता गराएका छन् ।
संविधान सभाबाट संविधान बनेपछि भएका निर्वाचनमा गठबन्धन गर्दै आएका दलहरू त्यसपछि एक्ला एक्लै निर्वाचन लडेको यो पहिलोपटक हो । दुइटा जिल्ला समन्वय समितिको प्रमुखसहित ४४ स्थानमा उपनिर्वाचन हुँदै छ । ०७४ को निर्वाचनयता दलहरूमा चुनावी गठबन्धनको संस्कृतिको विकास भयो । ०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले धेरै ठाउँमा गठबन्धन बनाएका थिए । त्यसपछि लगतै भएको आम निर्वाचनमा भने एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धन मात्रै होइन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी पनि बनाए ।
०७९ को स्थानीय र आम निर्वाचनमा अधिकांश स्थानमा कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन एकातिर थियो भने अर्र्कातिर एमाले, राप्रपासहितका दलको तालमेल थियो । चुनावी गठबन्धनको कारण दलहरूप्रति अविश्वास पनि बढ्दै गयो । दलको आलोचना बढ्यो । गत असार १७ गते भएको सात बुँदे सहमतिमा कांग्रेस एमालेले अब निर्वाचनमा गठबन्धन नगरी एक्ला एक्लै लड्ने सहमति गरे ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले रिक्त सबै स्थानमा कांग्रेसले उम्मेदवार उठाएको जानकारी दिए । उनले कांग्रेस र एमाले एक्लाएक्लै निर्वाचनमा जाने पनि बताए । ‘हामी कांग्रेस र एमालेले कही पनि तालमेल गरेनौं । सरकारमा सँगै भएपनि एक्ला एक्ला लड्दै छौं । स्वस्थ प्रतिस्पर्धा गर्दैछौं,’ उनले भने ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्य सरकार गठन गर्दाको सातबुँदे सहमतिअनुसार कांग्रेस र एमालेले तालमेत नगरी एक्ला एक्लै चुनावमा गएको बताए । ‘सातबुँदेमा नै एक्लाएक्लै लड्ने भनेका थियौं, उपनिर्वाचनमा त्यो कार्यान्वयन गर्दैछौं,’ उनले भने, कांग्रेस एमाले तालमेल गर्दैनौं, छुट्टाछुट्टै लड्छौं ।’ तथापी रुकुम पूर्वको पुथा उत्तरगंगाा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस एमालेले तालमेल गरेका छन् । त्यहाँ कांग्रेसले एमालेलाई सहयोग गर्ने तय गरेको छ । कैलाली र ओखलढुंगाको जिल्ला समन्वय समितिमा एमालेले कांग्रेसलाई सघाएको छ ।
माओवादी केन्द्रका स्थानीय समिति सदस्य देवेन्द्र पौडेलले उपनिर्वाचन हुन लागेका सबै स्थानमा पार्टीले उम्मेदवार बनाएको बताए । ‘हाम्रो नीति पनि एक्लै उठ्छौं भन्ने नै हो, त्यसैले रिक्त सबै स्थानमा उम्मेदवार पनि उठाएका छौं,’ उनले भने, कांग्रेस र एमालेसँग चाहिँ मिल्दैनौं, अन्यसँग के हुन्छ, त्यो पनि निर्णय भएको छैन ।’
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपनिर्वाचनमा पार्टीले कसैसँग तालमेल नगर्ने बताए । हामी एक्लै चुनावमा जाँदै छौं, कोहीसँग तालमेल गर्दैनौं, उनले भने ।
कुन दलको अवस्था कस्तो ?
उपनिर्वाचनमा ठूला राजनीतिक दल कांग्रेस र एमालेले कसैसँग तालमेल नगर्ने भएका छन् । माओवादी केन्द्रले पनि कांग्रेस र एमालेसँग तालमेल नगर्ने बताएको छ । यो निर्वाचनमा प्रमुख दल आआफ्नै तयारी र रणनीतिका साथ निर्वाचनमा होमिएका छन् । कांग्रेस र एमाले दुवै उपनिर्वाचन आफूलाई पहिलो दलका रूपमा स्थापित गर्ने दाबी गर्दै आएका छन् भने माओवादी केन्द्रले आफ्नो शक्ति थप बलियो बनाउने बताएको छ ।
कांग्रेसले ४४ मध्ये २५ वटा स्थानीय तहमा यसअघि निर्वाचन जितेको थियो । यो निर्वाचन कांग्रेसलाई विरासत जोगाउनु पर्ने चुनौती छ । कैलाली र ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुख, काठमाडौंको कीर्तिपुरको नगरप्रमुख, मोरङको ग्रामस्थान र दैलेखको महाबुको अध्यक्ष कांग्रेसले जितेको थियो । यी पाँचैवटा स्थानीय तहको प्रमुख/अध्यक्षको मृत्यु भएपछि यहाँ निर्वाचन हुन लागेको हो ।
ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध भइसकेका छन् । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । त्यसपछि २०७९ को निर्वाचनमा कांग्रेसले नै जितेको थियो ।
काठमाडौं महानगरपालिका–१६,कीर्तिपुर नगरपालिका–१ सहित १८ वडाध्यक्षको जहाँ विगतका कांग्रेसले चुनाव जितेको थियो, त्यहाँ पनि उपनिर्वाचन हुन गइरहेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले पुराना जितेका स्थानलाई कायम राख्दै थप स्थान विजय हासिल गर्ने रणनीति रहेको बताए । ‘२०७९ मा भन्दा राम्रो हुन्छ, त्यो बेला जितेका स्थान कायम गर्दै थप स्थानमा विजय हाली गर्ने अभियानमा छौं,’ उनले भने ।
एमालेले ९ वटा वडाध्यक्ष जितेको स्थानमा उपनिर्वाचन हुँदै छ । एमाले पनि आफूलाई यो निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित गर्ने राणनीति र तयारीको साथ निर्वाचनमा लागेको छ । एमाले निर्वाचन विभाग प्रमुख आचार्य यो उपनिर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने र बहुमत सिट जित्ने तयारी र योजनाका साथ अघि बढेको दाबी गर्छन् । अघिल्लो निर्वाचनमा कांग्रेस माओवादी लगायतका दलको गठबन्धन रहेकाले पनि एमाले यो निर्वाचनमा एक्लाएक्लै लड्दा बढी हौसिएको छ ।
माओवादी केन्द्रले जितेका ८ स्थानमा उपनिर्वाचन हुँदै छ । रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदसहित ८ स्थान माओवादी केन्द्रले जितेको थियो ।
माओवादी केन्द्रका स्थानीय समिति सदस्य पौडेल यो निर्वाचनमा पार्टीले राम्रै परिणाम ल्याउने दाबी गर्छन् । ‘यो चुनाव राम्रै हुन्छ, कीर्तिपुरमा समेत राम्रो हुन्छ भन्ने हाम्रो आँकलन छ,’ उनले भने । नयाँ पार्टीको रूपमा आएको रास्वपाले भजे कीर्तिपुर नगरपालिकामा आफ्नो उम्मेदवार उठाएको छैन ।