मौरीसँग रम्दै विजय

मौरीसँग रम्दै विजय
सुन्नुहोस्

काठमाडौं : कुनै समयमा ट्रेकिङलाई आफ्नो पेसाका रूपमा अँगालेका विजय केसी अहिले भने मौरीपालनमा रमाउन थालेका छन्। केसीले पाँच दिनको तालिम लिएपछि एक गोला मौरी किनेर उनले व्यवसाय सुरु गरेका थिए। 

घरको आर्थिक अवस्था कमजोर भएकाले केसीले सुरुमा पर्यटकको भरिया (पोर्टर) को रूपमा काम गरे। उनले पर्यटकहरूसँग कुराकानी गर्दागर्दै अंग्रेजी भाषा सिके। अंग्रेजी भाषा सिकेपछि सहायक गाइडको रूपमा काम गर्न थाले। उनले पर्यटकलाई डोर्‍याउन थाले। बिस्तारै पर्यटककै सहयोगमा उनले आफ्नै ट्राभल एजेन्सी खोले। १२ वर्ष ठमेलमा नै बसेर केसीले एजेन्सी चलाए। तर कोभिड–१९ पछि व्यवसाय ठप्प भयो। 

कोभिड–१९ को कारणले भएको लकडाउनमा उनले केही गर्ने सोच बनाए। पहिल्यैदेखि धेरै ठाउँमा घुमफिर गरेका केसीले मौरीपालनको बारेमा ज्ञान बटुलेका थिए। उनले मौरीपालन गर्ने निर्णय गरे र पाँच दिनको मौरीपालनसम्बन्धी तालिम लिएपछि एक गोला मौरी किने। ‘मौरीका बारेमा जति धेरै बुझ्दै गएँ, म त्यति नै आकर्षित हुँदै गए’, केसी भन्छन्, ‘मौरीको जीवनको बारेमा बुझ्नु र पालन गर्नुको आनन्द नै छुट्टै छ।’ 

उनले त्यसपछि ४० गोला मौरी किनेर व्यवसाय नै सुरु गरे। सुरुवातको वर्षमा केही घाटा नै भए पनि पछि भने मज्जाले फाइदा भएको केसी बताउँछन्। अहिले भने व्यवसाय फस्टाएकाले नगरकोटमा २ रोपनीमा, साँगामा १ रोपनीमा र चितवनमा १ रोपनीमा मौरीपालन गरिरहेको उनले जानकारी दिए। वर्षभरिमा लोकल मौरीले लगभग १५–२५ र विकासे मौरीले ६०–७० किलोसम्म मह उत्पादन गर्ने उनले सुनाए। 

केसीले आफूले उत्पादन गरेको मह र मौरीको गोला बिक्री गर्नेमात्र नभई महबाट विभिन्न औषधि र जडीबुटीसमेत बनाएर बिक्री गर्ने गरेको बताए। मौरीले संकलन गरेको प्रोपोलिस नामको पदार्थबाट घाउचोट लाग्दा रगत रोकथाम गर्ने स्प्रे बनाएर उनले बिक्री गर्दै आएका छन्। कर्मी मौरीबाट प्राप्त हुने रोयल जेलीबाट पनि एकदमै राम्रो कमाइ हुने उनले सुनाए। मौरीलाई अरू जनावरलाई जस्तो धेरै स्याहार गर्नु नपरे पनि अरिंगाल र अरू किराहरूबाट भने जोगाउनुपर्ने केसी अनुभव छ।

‘पाँच वर्ष भयो मैंले मौरीपालन गर्न थालेको तर अहिले पनि मौरी पालनप्रतिको रुचि भने घटेको छैन’, केसी भन्छन्, ‘मौरीजस्तो मेहनती प्राणी कतै छैन जस्तो लाग्छ।’ आफ्नो व्यवसायबाट नाफा कमाउनेमात्र नभई केसीले ६–७ जनालाई काम पनि दिएका छन्। केसीले कफीखेती र ट्राभल एजेन्सीजस्तो व्यवसायलाई निरन्तरता दिइरहेको भए पनि मौरीपालन भने उनको मूल र मनपर्ने व्यवसाय बनेको छ। मौरीपालन गरेर पाँच जनाको परिवार मज्जाले चलिरहेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.