दमननाथले देखाएको बाटो
मुलुकको संविधान निर्माण, संसद्को नेतृत्वदेखि शान्ति प्रक्रिया एवं मानवअधिकारको प्रबर्द्धनका विषयमा जसले मुलुकका लागि अतुलनीय योगदान दिए, उनै व्यक्तित्वलाई आज मुलुकले गुमाएको छ। नेपालको संसदीय अभ्यासमा चिरपरिचित उनै पूर्वसभामुख दमननाथ ढुंगानालाई मुलुकले गुमाएको हो। जो नेपाली राजनीतिक क्षेत्रका एक सिद्धहस्त खम्बा थिए।
संसद्को नेतृत्वमा रहने सभामुखमा हुनुपर्ने तटस्थताको मानक बनाउन दमननाथको अतुलनीय योगदानलाई सर्वत्र प्रशंसनीय छ। सरकार बहुमतको र संसद् विपक्षीको भन्ने मानक उनले राजनीतिक छत्रछायाँलाई पछ्याउँदै स्थापित गरेका थिए। राज्य सञ्चालनमा संसद्को भूमिका बलियो रहनुपर्छ। संसद्लाई बलियो बनाउने जिम्मेवारी त्यसको नेतृत्वकर्ता सभामुखको भन्ने विषय कार्यशैलीबाट
प्रष्ट्याएका थिए उनले। बलिया सरकार र प्रधानमन्त्रीको पार्टीभित्रैबाट सभामुखमा चुनिए पनि दमननाथले आफूमा त्यसको छायाँ पर्न दिएनन्। बरु संसद् सत्ताको नभई विपक्षीको हो भन्ने मानकलाई स्थापित गर्दै संसद्को दरिलो नेतृत्वकर्ता बनेर उदाहरण पेश गरे।
संसदीय प्रणालीलाई सुदृढ बनाउन दमननाथको भूमिका स्मरणीय छ। २०५१ मा सभामुखको हैसियत पुगेका दमनको योगदान त्यतिमै सीमित छैन। २०४७ सालको संविधान मस्यौदामा पनि दमननाथले महत्वपूर्ण भूमिका निभाए। सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पनि उनको भूमिका अतुलनीय रहेको राजनीतिक वृत्तले चर्चा गरेकोबाट थाहा हुन्छ।
निडर एवं हक्की स्वभावका दमननाथ आफूलाई लागेका विचार निर्धक्क ढंगले व्यक्त गर्न सक्दथे। बोलीमार्फत् अरूलाई आकर्षण गर्ने क्षमता पनि उनमा थियो। उनी मध्यस्थकर्तामा खुबी राख्थे। त्यही स्वभावले नै उनलाई बलियो सभामुख बनाउन सक्यो। ३० वर्षको उमेरमा नेपाल बारको महासचिव भएका ढुंगानाले दुई दशक वकालती पेशामा बिताए। उनले पञ्चायत विरुद्धको आन्दोलनमा आफूलाई राजनीतिक वृत्तमा उभ्याए। २०४६ सालमा कांग्रेसका प्रवक्ता भए उनी।
संसदीय निर्वाचन जित्दै बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पहिलोपटक उनी २०५१ मा सभामुख बने। कानुनका विद्यार्थी दमननाथ मानवअधिकार रक्षाका लागि आन्दोलनमा होमिए। संसदीय अभ्यासको प्रवद्र्धनमा दमननाथको भूमिका अविष्मरणीय छ। पछिल्ला समय उनी सम्मानित पदमा कतै नदेखिएको निष्पक्षताले भने व्यवस्थामाथि नै प्रश्न उठेको छ। अहिलेको परिस्थितिमा उनको तटस्थता र निष्पक्षतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ। मुलुकले आदर्श व्यक्ति निकै कम पाउँछ। दमननाथ ती आदर्श व्यक्तिमध्ये एक हुन्। अनित्यतालाई अंगीकार गर्दै दमननाथ हामीमाझ रहेनन्। उनको कार्यशैली, विचार तथा आदर्शहरू सदैव जीवित रहनेछन्।
राजनीतिक नेतृत्वमा रहनेहरूले सदैव दमननाथको आदर्शलाई आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प छैन। आदर्श व्यक्तिहरूको योगदानलाई राज्यले सम्मान गर्दै अन्तेष्टि गरेको छ। संसदीय अभ्यास, राजनीतिक क्षेत्र तथा मानव अधिकारको प्रबर्द्धनमा दमननाथले लिएका आदर्श विचारको पथलाई पछ्याउँदै हिँड्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ।