जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नै भइरहेका काम कारबाहीबाट असन्तुष्ट देखिएका छन् । सुशासन र विकासका काम सोचेअनुसार अघि बढ्न नसक्नुमा प्रशासन नै अल्झन भएको उनको टिप्पणी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सुशासन र विकासमा अघि बढ्न नसक्नुको कारण भ्रष्टाचार, कमिसनतन्त्र रहेको बताए । 

जनताका काम सहज र सरल बनाउनको साटो अप्ठ्यारो बनाइने गरेको भन्दै उनले रोष प्रकट गरे । ‘जनताका काम रोक्ने होइन, सहज गरिने हो, त्यहाँ अप्ठ्यारो पारिने काम पो हुन्छ,’ उनले भने । सेवा प्रवाहमा एक पैसा नलिइकन जनताका काम गरिन पनि उनले निर्देशन गरे । उनले कर्मचारीको सरुवा बढुवामा कसैले पनि एक पैसा खुवाउनु नपर्ने स्पष्ट पारे । ‘तपाईंहरूले सरुवा बढुवामा एक पैसा खुवाउनु पर्दैन, तपाईंले किन पैसा खाने, तपाइँले नखाएपछि तलकाले पनि खाँदैनन्,’ उनले भने ।

उनले बैठकमा जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले देश विकास गर्न प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरूपमा काम गर्न आग्रह गरेका छन् । उनले सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए । उनले भने ‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरूको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ ।’

भन्सार, अध्यागमन, सेवा प्रवाहलगायतका काममा भोलिदेखि नै सुधार नै देखिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले राज्य सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्ने बताए । ‘हाम्रा स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।’ उनले भने ।

अयोधिप्रसाद यादव प्रमुख आयुक्त हुँदा किनिएको निर्वाचन आयोगमा ल्याएको मेसिन थन्क्याएको विषयमा उनले चासो राखेका छन् । त्यो किन किनेको भन्ने प्रश्न गरे । उनले त्यो मेसिन प्रयोग हुने स्थान दिन पनि निर्देशन दिए । उनले यो विषयमा छानबिन पनि गर्नुपर्ने बताए । राम्रो काममा कानुन लाग्छ भन्ने भ्रम रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

उनले उद्योगहरू बन्द हुनको कारणबारे पनि सोधेका थिए । उनले गम्भीर भएर काम गरेमा धेरै गर्न सक्ने बताए । उनले कर्मचारीतन्त्रमा भइरहेका ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रण भएमा मात्रै काम प्रगति देखिने पनि बताए । ‘उपलब्धि किन भएन भने त मैले ब्युरोक्रेसीलाई सोध्ने हो,’ उनले भने, ‘योजना क्षेत्रमा कति काम भयो त ? ’ उनले युवा जमातलाई सन्तुष्ट बनाउने सक्ने गरी काम गर्नु पर्ने बताए ।

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू, मातहतका कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.