मुवाथाईका विश्वविजेता, जसले भाँचिएकै हातले खेलेर विश्व च्याम्पियन बने

मुवाथाईका विश्वविजेता, जसले भाँचिएकै हातले खेलेर विश्व च्याम्पियन बने

काठमाडौं : मार्सल आर्ट्स नेपालमा लोकप्रिय खेलका रुपमा चिनिन्छ। मार्सल आर्ट्समा तेक्वान्दो र करातेले धेरै चर्चा बटुले पनि अन्य खेलले हासिल गरेका उपलब्धि र खेलाडीको प्रदर्शनले नेपाली खेलकुद बृत्तलाई बेलाबेला तताउने गरेको छ। २०८० चैत ६ मा यस्तै गर्विलो उपलब्धि र चर्चा दिलाए, मुवाथाई खेलाडी गुणराज रुचालले। थाइल्यान्डको राजधानी बैंककस्थित द बजार रत्चदाफिसेकमा आयोजना भएको १९औं विश्व च्याम्पियनसिपको सेमी–प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेका थिए। त्यो जित गुणराजको मात्रै थिएन, सिंगो नेपालको जित थियो। मुवाथाईमा देशले प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि थियो। यो सफलतापछि गुणराज एकाएक चर्चित भए। जताततै उनको सफलताको चर्चा भयो। 

तर, उनको संघर्ष, मेहनत, परिश्रम, दुःख र पीडाको चर्चा चाहिँ कमै मात्र भयो। गुणराजले रातारात त्यो सफलता हासिल गरेका थिएनन्। त्यसका लागि कयौं दुःख, कष्ट र संघर्ष गरेका थिए। त्यो दुःख, कष्ट र संघर्ष विश्व च्याम्पियनसिपका लागि मात्रै गरेका थिएनन्, प्रतियोगिताकै दौरान पनि दुःख, कष्ट र पीडा भोग्नु परेको थियो। ग्राभियलसँगको भिडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिएको थियो। त्यो कुरा न उनले आफ्ना प्रशिक्षक राहुल मोक्तानलाई सुनाए न त रेफ्रीलाई नै। उनी असंख्य पीडा र दुःख सहेरै ग्राभियलसँग भिड्न तयार भए। ‘मेरो हात भाँचियो भनेर मैले पहिले नै थाहा पाइसकेको थिएँ। पहिले पनि मेरो हात त्यसरी नै भाँचिएको थियो’, उनले त्यो क्षण सम्झिँदै भने, ‘तर मैले मेरो हात भाँचिएको कुरा गर्नासाथ खेल छाड्नु पथ्र्यो। हार स्वीकार्नुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गथ्र्यो। त्यसपछि मैले खेल्नै सक्दिन थिएँ। त्यसैले कसैलाई नभनी पीडा सहेरै रिङमा डटिरहें।’ हातले मुक्का प्रहार गर्न नसकेपछि उनले लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीलाई चित खुवाए। अन्तर्राष्ट्रिय रिङमा उत्रिँदा उनको हात पहिलो पटक भाँचिएको थिएन। यसअघि पनि तीन पटक भाँचिसकेको थियो।

देवीटारदेखि विश्व विजेतासम्म

ओखलढुंगाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीको देवीटारका गुणराज जेठो सन्तान हुन्। उनका दुई भाइ र एक बहिनी छन्। २०६४ मा गाउँकै कालिका माविबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सीएमए) कोर्स गर्न सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पुगेका थिए। गुणराज बुवाआमाको सपना पूरा गर्न कस्सिएर लागे। सीएमए उत्तीर्ण गरेपछि अहेबको परीक्षाको तयारीमा पनि जुटे। त्यसका लागि किताब किनेर ल्याए। किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो, रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराते तालिम सञ्चालन हुने सूचना सुने। रेडियोमा सूचना पूरा बज्न नपाउँदै गुणराजले पुस्तक थन्काए र कराते सिक्न दौडिए। सुरुमा बुवाआमाले उनको कुरा सुनेनन्। लोकसेवाको अन्तिम तयारीमा रहेका बेला कराते खेल्छु भन्दा बुवाआमा अचम्ममा परे। तर, गुणराजले जिद्दी नछाडेपछि उनीहरूको पनि केही लागेन। गाउँदेखि उकालैउकालो दुई घण्टामा पुगिन्थ्यो, मूलखर्क। उनी बिहान चार बजे नै घरबाट हिंड्थे। ६ बजेबाट प्रशिक्षण सुरु हुन्थ्यो। तीन घण्टाको प्रशिक्षण सकेर फर्किंदा १० बज्थ्यो। घर आएर खाना खाएपछि घरको काम गर्नुपथ्र्यो। त्यो प्रशिक्षण पनि तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन। त्यसपछि खेलाडी बन्ने आफ्नो सपना अधुरै हुने हो कि भन्ने चिन्ताले उनलाई सतायो। त्यहीबीचमा २०६९ असारमा नेपाली सेनामा भर्ती भए। आफ्नो सपना नेपाली सेनामै रहेर पूरा संकल्प गरे।

नेपाली सेनाको तालिममै मार्सल आर्ट्स विधाअन्तर्गतका विभिन्न खेलहरू अनिवार्य सिक्नुपथ्र्यो। गुणराजले सुरुमा आइकिडो रोजे। पछि मुवाथाईको पूर्णकालीन खेलाडीका रुपमा नेपाली सेनाकै त्रिभुवन आर्मी क्लबमा आबद्ध भए। 

निरन्तरको मेहनत, परिश्रम र लगावले उनले लगातार सफलता हासिल गर्न थाले। २०७४ माघमा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा उनले स्वर्ण पदक जिते। २०७६ मा काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा र २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ प्रतियोगितामा पनि उनी पहिलो भए। २०७९ मा भएको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण जितेका उनले २०७९ मै भएको आठौं इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा पनि आफूलाई अब्बल सावित गरे। 

घरेलु प्रतियोगितामा मात्रै होइन, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले आफूलाई पटक पटक प्रमाणित गरे। २०७५ असोजमा नेपालमै आयोजना भएको तेस्रो केब्याक इन्टरनेसनल मुवाथाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनले २०७६ भदौमा थाइल्यान्डमा भएको जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै स्वर्ण पदक जितेका थिए। २०७९ मा थाइल्यान्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै उनले अर्को इतिहास बनाए। २०७९ मा थाइल्यान्डको पटायामा आयोजना भएको १७औं अमेच्योर एन्ड प्रो–एम वल्र्ड मुवाथाई च्याम्पियनसिपमा कांस्य पदक जितेका उनले त्यही वर्ष थाइल्यान्डमै सम्पन्न १८औं अमेच्योर एन्ड प्रो–एम वल्र्ड मुवाथाई च्याम्पियनसिपमा पनि कांस्य पदकमै चित्त बुझाए। दुई पटक कांस्य पदकमै सीमित बनेका गुणराजले मेहनत गर्न भने छाडेनन्। उनी एक पटक विश्व विजेता बन्ने अठोट लिएर दिनरात प्रशिक्षणमा खटिरहे। त्यो लक्ष्य पूरा गर्न एक वर्ष पनि कुर्नु परेन। २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्यान्डमा सम्पन्न १९औं अमेच्योर एन्ड प्रो–एम वल्र्ड मुवाथाई च्याम्पियनसिपमा उनले विश्व विजेताको बेल्ट पहिरिन पाए। उनले प्राप्त गरेको यो उपलब्धि नेपालका लागि अहिलेसम्मकै ठूलो हो। विश्व च्याम्पियनसिपको सेमी–प्रो विधामा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाथाई खेलाडी हुन्। 

नेपाली मुवाथाईका सफल खेलाडीको परिचय बनाएका गुणराजले केही महिना अघि वैदेशिक प्रशिक्षणको अवसर पनि पाएका थिए। अस्ट्रेलियाको पर्थमा रहेको लिजेन्ड्स एकेडेमीले उनलाई एक महिने निशुल्क प्रशिक्षण प्रदान गरेको थियो। उनले सात वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजय भोगेका थिए। तर, पनि हरेस खाएनन्। पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर आफ्नो कर्ममा लागिरहे। यही कर्मले नै उनलाई विश्व विजेता पनि बनायो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धिको उच्च सम्मान गर्दै नेपाल राष्ट्रिय मुवाथाई संघले सन् २०१६, २०१८ र २०२२ मा तीन पटक वर्षका उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.