गढीमाई मेलामा प्रशासनको अनुमति बिना ड्रोन क्यामरा उडाउन निषेध
सिमराः बाराको महागढीमाईस्थित गढीमाई मेलामा ड्रोन क्यामरा उडाउन स्थानीय प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै मेलाको समयमा ड्रोन क्यामरा उडाउन रोक लगाएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना ड्रोन क्यामरा उडान निषेध गरिएको उल्लेख छ। कार्यालयको अनुमति बिना ड्रोन क्यामरा उडाएको पाइएमा उक्त ड्रोन क्यामरा जफत गरी ड्रोन धनी र उडाउने व्यक्तिलाई कारबाही गरिने बताइएको छ।
सूचनामा भनिएको छ, ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामरा उडान गर्ने सक्ने प्रावधान रहेको छ। मंसिर १ गतेदेखि मसान्तसम्म लाग्ने पञ्चवर्षीय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, संघसंस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामरा उडान गर्न पाइने छैन। सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामरा उडान गरेको देखिएमा वा पाइएमा उक्त ड्रोन क्यामरा जफत गरी सम्बन्धित ड्रोन क्यामेराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ।’
मेला मंसिर १ गतेदेखि सुरु भएपनि १७ गतेदेखि २६ गतेसम्म विशेष पूजा हुने र सो समयमा दर्शनार्थीको अत्यधिक भिड् हुने गर्दछ।