काठमाडौंमा एमालेको शक्ति प्रदर्शन : ‘सामाजिक द्वेष र अराजकता पाच्य हुँदैन’
काठमाडौं : एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सरकारको नेतृत्वको पार्टी एमालेले ठूला जनसहभागिताबीच जागरणसभा गरेको हो । पछिल्लो समयमा हुर्किएको प्रायोजित अराजकता, भ्रम, मिथ्या सूचनालाई चिर्नको लागि गरिएको सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । सभाको सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सामाजिक द्वेष र अराजकता पाच्य नहुने बताए । ‘चरित्र हत्या गर्ने, घृणा फैसाउने कुरा पाच्य हुँदैन,’ उनले भने । उनले अराजकता फैलाउने कडा कारबाही हुने बताए । अध्यक्ष ओलीले एमालेमाथि लगाइएका कुनै पनि आरोपहरू खण्डन र चर्चा गर्न लायकका सिज नभएका बताए । ‘त्यस्ता आरोप लगाउनेहरू आफैं आरोप लगाउने र आफैं सुनेर दंग पर्ने मात्र हुन् । भ्रममा पर्दैन जनता, कसले कति कमाएको छ, कसले कति कमाएको छैन, यी कुरा सबै विश्वले देखेको छ, दुनियाँले देखेको छ’, ओलीले भने ।
उनले कम्बोडियाको टेलिकममा क–कस्को लगानी छ भन्ने कुरा थाहा पाउन कुनै गाह्रो नरहेको बताए । अध्यक्ष ओलीले यस्ता कुरामा समेत दुष्प्रचार गरिएको बताए । उनले ‘आफू गल्ती गर्ने, अरूको टाउकोमा खन्याउने ।’ कम्बोडियाको टेलिकममा आफूले लगानी गरेको भनेर भ्रम फैलाउनहरूलाई तथ्यसहित बहस गर्न चुनौती दिए ‘अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन, किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं,’ ओलीले भने, ‘भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन । म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । तपाईंहरू नेकपा एमालेतिर औंलो ठड्याएर बोलिरहनु भएको छ । के तपाईंहरू साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ । भन्दिए त भयो नि । देशलाई असफल राष्ट्र बनाउन त्यस्ता दुष्प्रचार भइरहेको बताए ।
उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ति हजार ? तपार्इंहरू त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खल्बल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् ।’
उनले नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्ने चेतावनी दिए । एमाले हात्तीको बथानजस्तो पार्टी भएकोले नाङ्लो ठटाएर नतर्सने ओलीले स्पष्ट पारे । अध्यक्ष ओलीले एमालेविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडन आग्रह गरे । ‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछिपछि आकाशतर्फ हेरेर कागका पछिपछि दौडन पार्टी होइन’, उनले भने । उनले आफूले कुनै बेइमानी नगरेको दाबी गरे । नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले दाबी गरे ‘नेपाली जनता भ्रममा पर्दैन’, उनले भने । अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए ।
२०८३ असार १७ सम्म म प्रधानमन्त्री रहन्छु
प्रधानमन्त्री ओलीले वर्तमान समीकरण २०८४ को मंसिरको चुनावसम्मै कायम रहिरहने दाबी गरे ।
‘२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ उनले भने । अहिले सरकार ढल्छ, भोलि ढल्छ भन्ने भ्रममा नपर्न पनि उनले कार्यकर्ता र आम जनतालाई आग्रह गरे । उनले ‘यस्ता भ्रममा नपर्नुस्, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’ यो समीकरण बन्न नदिनेदेखि बनेपछि भोलि नै ढल्छ, पर्सि नै ढल्छ भनेर प्रचारबाजी गरिएको पनि स्मरण गरे । यो महिना काट्दैन, दसंै देख्दैन, तिहार देख्दैन, मंसिर कट्दैन भन्दै थिए, अब चाहिँ फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण २०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने ।
भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए । उनले आफूले १८ महिना सरकारको नेतृत्व गर्ने बताए । ‘मैले २०८३ असार १७ सम्म नेतृत्व गर्छु, त्यसपछि शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री हुनुहुन्छ, त्यही गठबन्धनले २०८४ को निर्वाचन गराउँछ,’ उनले ढुक्कसँग भने ।
एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि वर्तमान अवस्थामा प्रतिस्पर्धाभन्दा एकता जरुरीले समीकरण गर्न परेको ओलीले स्पष्ट पारे । देश र लोकतन्त्रलाई अप्ठ्यारो पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । लोकतन्त्र र संविधानको रक्षाको लागि कांग्रेस एमाले मिल्नु परेको हो ।’ उनले भने । लामो र कठिन संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई मास्न नदिने उनले बताए । उनले सहिदको रगत खेर जान नदिने प्रस्ट पारे । उनले संविधानको मूलमर्म यताउता हुन पनि नदिने स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले आम जनताको रायसल्लाहमा संविधान संशोधन हुने स्पष्ट पारे ।
उनले देशको मुख्य समस्या सुशासन भएको बताए । उनले सुशासन स्थापित गर्न सरकारले लागिपरेको पनि बताए । प्रधानमन्त्री ओलीले विकास, समृद्धि र सुशासनको बाटोमा सरकार अघि बढिरहेको बताए । उनले कसैलाई भ्रष्टाचार गर्न नदिने अठोट पनि व्यक्त गरे । ‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्नँ’, उनले भने । सुशासन दिएर मुलुकबाट गरिबीबाट मुक्त गर्ने ध्यान आफ्नो भएको पनि उनले स्पष्ट पारे । सरकारी ढिलासुस्ती, अल्झन, कमिसन, भ्रष्टाचार, अनियमितता सैह्य नहुने पनि स्पष्ट पारे । उनले यो सरकार सुशासन ल्याउनको लागि, प्रतिस्पर्धा स्थगित गरेर निर्माण गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकूत सम्पत्ति थुपारेर अर्बौंका मालिक बनेकाहरूले आफ्नोविरुद्ध आरोप लगाउँदै हिँडेका आरोप लगाए । उनले आफूमाथि भ्रष्टाचारको औंला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए । अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने भएपछि सरकार, समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काय भएको उनको भनाइ छ ।
बैंकको ऋण तिर्नु पर्दैन भन्नेहरूले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै बिजुलीको बक्यौता उठाउन नसक्ने तर उद्योगीको लाइन काट्दै हिँड्ने भन्दै आक्रोश व्यक्त गरे । ‘बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने । अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ ।’ उनले भने । उनले सरकार यस्ता कार्य हुन नदिनेमा प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओली उद्यमी, व्यवसायी र मारवाडी समुदायलाई खेद भन्ने अभियान चल्ने गरेकोमा आपत्ति जनाए ।
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले चीन भ्रमण अत्यन्त सफल हुने दाबी गरे । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारे । ‘त्यतिकै घुमेर आउँ भनेर जान लागेको होइन’, उनले भने, ‘देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’ उनले भ्रमणबाट फर्किएपछि भ्रमण सफलताको बारेमा सबैलाई जानकारी गराउने स्पष्ट पारे । ‘तपाईंहरूले यसै पनि थाहा पाउनु हुनेछ, म तपाईंहरूलाई चीनबाट फर्किएपछि कसरी सफल भयो भन्ने कुरा सम्प्रेषण गर्नेछु ।’
चीन भ्रमण गरेको चाइनिज कार्ड भन्नेहरू ‘वाहियात र कायर’
प्रधानमन्त्री ओलीले भारतभन्दा पहिला चीन भ्रमण गरेको चाइनिज कार्ड भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको भनाइलाई ‘वाहियात र कायर’ भनेका छन् । ‘कतिले के–के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहिँ परिपक्वता भेट्नुभयो ? ’ प्रधानमन्त्री ओलीले भने,’ यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई पारस्परिक लाभ र समान सम्बन्धहरू । पारस्परिक सम्मानका आधारमा व्यवहार गर्छौं र सम्बन्ध राख्छौं ।’ उनले छिमेकी कुनै पनि मुलुकसँग आफ्नो वैरभाव नरहेको स्पष्ट पारे । हाम्रो कोहीसँग वैरभाव छैन, तर कोही शत्रु पनि छैनन्, उनले भने । उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने । उनले अहिले ऋण लिएर थुपार्ने काममा यो सरकार नलाग्ने पनि बताए । उनले उत्पादनमा जोड दिने र विस्तारै आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने बताए ।
‘उल्टे चोर कातवाला डाँट
उनले सहकारी ठगीमा संलग्नलाई कारबाहीको भागीदार हुने स्पष्ट पारे । उनले रवि लामिछानेप्रति इंगित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई गाली गर्ने ? हिन्दी उखान छ नि उल्टे चोर, कोतवालको डाँटे ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले कसैको अनुहार नहेर्ने बताउँदै गल्ती गर्ने कारबाहीको भागीदार हुने स्पष्ट पारे ।
‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ उनले भने । उनले निर्दोष नफस्ने र दोषी नउम्कने पनि स्पष्ट पारे ।
लगानीको लागि आह्वान
प्रधानमन्त्री ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्ता लगानी गर्न आह्वान गरेका छन् । उनले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै देशी विदेशी उद्योगीहरू ढुक्कसँग लगानी गर्न आह्वा गरे । उनले भने ‘नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ ।’
आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकास हुने बताउँदै उनले भने, नेपाल शान्तिपूर्ण देश हो, यो पुरानो शिक्षालय हो, प्राकृतिक हिसाबले अध्ययन गर्ने देश हो । तपाईंहरू लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ ।’ उनले देशमा पूर्वाधार विकास भएको बताउँदै मजदुर समस्या पनि रहेको स्पष्ट पारे । ‘नेपालमा मजदुर समस्या छैन । हडताल हुँदैन, विद्युत्को पनि समस्या पनि छैन्, आउनु होस् । पूर्वाधारको विकास भएको छ । जिल्ला सदरमुकास सडक जोडिएका छन् । सञ्चारको सुविधा पनि देश भर नै छ ।’ उनले भने । उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको बताए । युवाहरूले विदेश पलायन हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उनले दाबी छ । पछिल्लो ३० वर्षको अवधिका नेपालमा धेरै प्रगति भएको दाबी पनि प्रधानमन्त्री ओलीको छ । केही कमीकमजोरी भए पनि समग्र क्षेत्रमा विकास भएको उनको भनाइ छ । उनले नेपालको लोकप्रियतावादलाई ढाँटवादको संज्ञा दिए । उनले भने, ‘लोकप्रियतावाद होइन । ढाटवादलाई लोकप्रियतावादी भनिएको छ ।’
उनले एकताबद्ध भएर अघि बढ्न उनले पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
काम गर्ने एउटा जश पाउने अर्कै ः महासचिव पोखरेल
सभा नै एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध एमालले जागरणसभा गरेको स्पष्ट पारे । उनले देशका दुई ठूला राजनीतिक कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षड्यन्त्र भएको बताए ।
एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उनले दाबी गरे । उनले भने ‘हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षड्यन्त्र भइरहेका छन् ।’
एमालेलाई पटकपटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पंक्ति चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उनले बताए । एमाले विरुद्ध फैल्याइएका सबै भ्रमलाई कार्यकर्ताहरूले चिर्दै आएका पोखरेलले स्पष्ट पारे । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएका स्मरण गराए । ‘हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित ग¥र्यौं, पोखरेलले भने ।
महासचिव पोखरेलले मुलुकमा १८ घण्टासम्मको लोडसेडिङ अन्त्यका लागि एमालेले भूमिका खेलेको दाबी गरे ।
‘केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’ उनले भने ।
भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर विद्युत् आयात गरी नेपाललाई उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व एमालेले गरेको उनको दाबी छ । ‘तर विडम्बनाको कुरा काम एउटाले गर्छ जश अर्कालाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ,’ उनले भने । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उनको खुट्टा तान्ने काम भइरहेको बताए । ‘देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नु पर्दछ, तबमात्र देश बन्दछ’, पोखरेलले भने । नेपालमा सबै प्रकारका संकटको समाधान एमालेबाट मात्र सम्भव भएको पोखरेलले बताए । ‘केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको संकट समाधानको लागि बनेको सरकार हो’, उनले भने ।
राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उनले बताए । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उनले प्रस्ट पारे । एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उनले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए । अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उनलाई बदनाम गराउने खेतीपाती गरिएको पोखरेलले टिप्पणी गरे । उनीहरूको यो खेती नटिक्ने पनि पोखरेलले दाबी गरे । ‘नेकपा एमाले जनाको हृदयमा छ, राष्ट्रको हृदयमा छ’, पोखरेलले भने । नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षड्यन्त्रको जालो रच्ने खेलमा लागेका उनले बताए । कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदासमेत अनेक खालका कुप्रचार गर्ने काम गरिएको भन्दै पोखरेलले आपत्ति जनाए ।
सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौं भन्ने दल नेकपा एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैं अनुसन्धानको दायरामा रहेको बताए । त्यसको दोषसमेत अहिले
एमाले माथि लगाउने काम भइरहेको पोखरेलले सुनाए ।
एमाले देश बनाउने यात्रामा रहेको बताउँदै पोखरेलले एमाले देश बनाउने स्पष्ट पारे । देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालले ग्रहण गर्ने पोखरेलले बताए । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर भयो भन्नेहरूका लागि यो सभा जवाफ भएको बताएका छन् । दरबारमार्गमा जारी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।
श्रीलंकालाई वामपन्थी सरकारले संकटबाट पार लगाएको भन्दै उनले नेपालको संकट समाधान पनि एमाले नेतृत्वको सरकारले गर्ने महासचिव पोखरेलले दाबी गरे । एमालेले सरकारको नेतृत्व गर्न थालेदेखि सुशासन र आर्थिक सुधार सुरु भएको उनले बताए । उनले एकीकृत महाकाली सन्धि राष्ट्रवादी भएको बताए । उनले २०५३ असोज ४ गते नेपाल र भारतका बीचमा भएको महाकाली सन्धि राष्ट्रघाती भएको भए उहिल्यै कार्यान्वयनमा गइसक्ने बताए ।
एमाले सभा भद्रकालीबाट सुरु भएर दरबारमार्गमा सभामा परिणत भएको थियो । यो सभा काठमाडौं, ललितपुर र भक्तपुरले आयोजना गरेको थियो ।