समाप्त नहुने खोजको खोजी

समाप्त नहुने खोजको खोजी

आज नेपाली उपन्यास नयाँ विषय र शिल्पको खोजीमा अग्रसर देखिन्छ। यो मानवजीवन, समाज, संस्कृति, इतिहास, धर्म, दर्शन, प्रकृतिजस्ता क्षेत्रको सन्धानमा केन्द्रित हुन थालेको छ। यसमा पुरानाका साथै नयाँनयाँ सर्जक आकर्षित देखिन्छन्। अन्य विधामा साधनारत कतिपय सर्जक उपन्यास लेखनतर्फ आकर्षित हुन थालेका छन्। यो नेपाली आख्यान क्षेत्रका लागि सुखद कुरा हो।

यसै सन्दर्भमा उपन्यास विधामा विद्यावारिधि गरी समालोचना र खोज अनुसन्धानमा सक्रिय जीवन जीवन्त ‘चरैवेति’ उपन्यासमार्फत नेपाली उपन्यास संसारमा प्रवेश गरेका छन्। चरैवेति भन्नाले जीवनप्रतिको गतिशीलता हो। एउटा यस्तो गतिशीलता, नदीको प्रवाहसँगै माझिएर चिल्लो बनेको ढुंगाजस्तै। जसरी हतियार नचलाएर राखिराख्यो भने हतियारमा खिया लाग्दै जान्छ, त्यसरी नै मानिस पनि गतिशील नबने उसको ज्ञानको क्षितिज खुम्चन पुग्छ। त्यसैले भ्रमलाई चिर्दै निरन्तर नयाँ ज्ञानको परिधिलाई बढाउन स्वज्ञानको खोजीमा निस्किएको पात्रको गतिशीलता नै ‘चरैवेति’ उपन्यासको मूल मर्म हो।

उपन्यासमा पहाडबाट तराईतिर बस्ती बिस्तार हुँदै गरेको पञ्चायतकालीन समयको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक समस्या र त्यसले ग्रसित मनोभाव अनि त्यसैमा तरंगित आस्था र विश्वासको चित्रण नै यस उपन्यासको मुख्य विषय हो। ज्ञानको क्षितिज फराकिलो हुँदै गएपछि अशिक्षा र अज्ञानताबीच रुमलिएको धार्मिक अन्धविश्वास भम्रमात्र रहेछ भन्ने बोधको प्रकटीकरण यसले गरेकिो छ। साथै नयाँ ज्ञानको खोजीको हुटहुटी यसमा छ। उपन्यासको मुख्य कथावस्तु पनि यही हो।

जब मान्छे आफूले विश्वास गरेको आस्थामा समेटेको आफ्नो भरप्रति विश्वास उड्छ, हो त्यसैपछि चरैवेति उपन्यासको जन्म हुन्छ। म पात्रको सुखदुःखमा हुर्कंदै गरेको दुइटी छोरीले महिना दिनकै अन्तरालमा अज्ञात रोगका कारण मृत्यु वरण गर्छन्। आफूले जाने जतिका पूजापाठ, भाकल, धामीझाँक्री, कुलदेवी देवता सबैको शरणमा पुगेर पनि बचाउन नसकेको चोटले ऊ रन्थनिन्छ। उसले आस्थाका सबै विश्वास भत्काउँछ, त्यसलाई फालेर हिँड्छ। अनि पहाडबाट तराईको नयाँ परिवेशमा इसाई धर्मका नयाँ आस्थामा जोडिन पुग्छ बाध्यात्मक पारामा। उसले जोगाइराखेको आस्था बेलाबेला डगमगाउँछ तर पनि परिस्थितिले धकेलिरहन्छ। यसरी बन्छ विश्वासी– समयले, शिक्षाले, ज्ञानले, उमेरले र व्यवहारले।

पढ्न नजान्दा पास्टरले सुनाएका कथामा म पात्र लट्ठ हुन्छ। क्रमशः बाइबल पढ्न थाल्छ, तब त्यसका विरोधाभासले उसको मथिंगल हल्लिन थाल्छ। ऊ अन्य किताब पनि पढ्छ–कोपर्निकस, ग्यालिलियो ग्यालियो, एरिस्टोटल, न्युटन, आइनस्टाइन, माइकल फराडे आदिका पुस्तक। साथै विश्वको इतिहास, नेपाल, भारत, अमेरिका, युरोपको इतिहास, रक्तहीन क्रान्ति, समाजवादी क्रान्ति, सिन्धुघाँटीको सभ्यता आदि सबै पढछ। त्यसपछि उसको ज्ञानको क्षितिज फराकिलो हुँदै जान्छ। अनि उसले अब आफू समावेश भएको कुरामा विश्लेषणात्मक चेतको उपयोग गर्दछ, सही–गलत छुट्ट्याउँछ। अब उसलाई धर्मका अन्धविश्वास गलत, भ्रम र मिथ्या लाग्छन। अनि ऊ स्वज्ञानको खोजीमा हिँड्छ, होमरको ओडिसीका पात्रजस्तै।

प्रस्तुत उपन्यासको धरातल सामाजिक एवं पारिवारिक यथार्थ नै हो। यससँगै जोडिएका परम्परागत धर्ममाथिको अविश्वास, धर्मान्तरण, बाइबलका विराधोभास र भ्रमका कारण अभिघातीय मानसिकतालाई कलात्मक शिल्पद्वारा सुन्दर बनाइएको छ। यहाँ एउटा कुरा के पनि ध्यानयोग्य छ भने उपन्यासकार स्वयंले यसो भनेका छन्, ‘दुनियाँमा लेख्नेहरूले प्रायः कि आफ्नै पूर्वजका कथा लेखेका छन् कि सन्तानका कथा। होमरले पूर्वजका कथा लेखे, वेदव्यासले महाभारतमा सन्तानको कथा लेखे, पुराणले पूर्वजको कथा भन्छ, बाइबल, कुरान आदिले पनि पूर्वजकै कथा सुनाउँछ। यस सर्जकले पनि पूर्वजकै सरगम लेखे।’ उपन्यासकारको यो कथनलाई मनन् गरी अध्ययन गर्दै जाँदा उपन्यासको विषयभित्र देखिने पात्र यथार्थ र सत्य पात्र हो भन्ने लाग्छ। उपन्यास पढ्दा साँच्चै आफ्नै कथाहरू पनि कताकता भेटिएको बोध हुन्छ पाठकलाई।

पूर्वी नेपालको परिवेश अनि त्यसमा प्रयुक्त आञ्चलिकतामा कताकता हाम्रै आफ्ना र आफन्तहरू बोलिरहेको भान हुन्छ। केही भाषिक शब्दावलीले पनि उपन्यासलाई मिठासपूर्ण बनाएको छ। जस्तो ‘हौ, मुलाई, तोपाईं’ आदि स्थानीय बोलीको उपयोग गरेर उपन्यासकारले उपन्यासमा स्थानीय रङ दिने प्रयास गरेका छन र यो अवश्य पनि उपन्यासकारको विशेष खुबी हो।

हुन त उपन्यासका केही कमीकमजोरी पनि पठन गर्ने क्रममा बोध नहुने होइन। उपन्यासकारले उपन्यासमा कथा भन्ने क्रममा खडा गरेका दुई ‘म’ पात्रमा केही दुविधा बोध हुन्छ, यसो हुनाको कारण के हो भने ती दुई ‘म’ पात्रको चित्रणमा ‘जनेरेसन ग्याप’ अर्थात पुस्तान्तरण देखिँदैन वा भनुँ भेटिँदैन। महिला पात्रको उपस्थितिमा महिलाको भूमिका देखिँदैन, भए पनि निकै गौण देखिन्छ। महिलाको हाउभाउमा कुनै चित्रण बोध हुँदैन। अनि चरित्र चित्रणमा पनि दृश्यात्मक बोध हुँदैन। कस्ता खाले पात्रपात्रा हुन, यसबारे पाठकको दृष्टिमा प्रत्यक्ष चित्र चित्रित हुँदैन, केवल पाठकीय अनुमानले बोध गर्नुपर्ने हुन्छ।

भनिने कुरा र कथामा उपन्यासकारको दृष्टि तुलनात्मक भावले ओतप्रोत भए पनि ससाना शीर्षकमा रहेका तर्कहरूले कथाको सौन्दर्यलाई भन्दा पनि कथाको पुष्टीकरणमा जोड दिएको बोध हुने हुनाले पठनमा केही अलमल हुने स्थितिको सिर्जना हुन्छ। धर्ममा तुलनात्मक कुराको जोड दिँदा आख्यानीकरणमा केही मत्थरपना आएको छ। यस्ता केही कमजोरीले उपन्यास पठनमा केही बाधा भने अवश्य दिन्छ। तर पनि समग्रमा उपन्यासले भन्न लागेको जुन दृष्टिकोण छ, त्यो उपन्यासकारको दृष्टिकोण भएकाले यी कमजोरीलाई गहिरो रूपमा बोध गरिरहनु भने पर्दैन।

प्रस्तुत उपन्यासको कथानकले उत्सुकताको भाव जगाइरहन्छ। उपन्यासकारले यो आफ्नो वंशजको कथा हो भनेर भनेका छन्। यसरी उपन्यासको समापनमा उपन्यासकारले आफ्ना पितालाई ज्ञानको खोजमा निरन्तर यात्रारत रहने यात्रीसरह चित्रण गरेर भनेका छन। ‘उहाँको ज्ञानको भोकलाई कसैले पनि मेटाउन नसक्ने भइसकेको थियो। उहाँ त्यहीँबाट सत्यको खोजीमा, ज्ञानको खोजीमा, प्राकृतिक धर्मको खोजीमा, जीवनको लक्ष्यमा निस्कनुभयो।’ अनि उपन्यासकारले पिताको यो यात्रालाई नै इंगित गरेर भनेका छन– चरैवेति ! चरैवेति !! खोज भनेको कहिल्यै पूर्ण र समाप्त हुँदैन, त्यो निरन्तर चलिरहन्छ अनि यो चलिरहने स्थितिलाई प्रतीकीकरण गर्दा चरैवेति उद्घोष भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.