परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित, मंसिर १३ गते सिधै बेइजिङ जाने
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मंसिर १३ (नोभेम्बर,२८ ) गते चीन जाने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार बेइजिङ जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेको उनका प्रेस सल्लाहकार एकराज पाठकले अन्नपूर्ण पोस्टलाई जानकारी दिए। उनले भने, ‘मन्त्रीज्यू स्वास्थ्य परीक्षण गर्न मंसिर १० गते जापान जाने कार्यक्रम तय भएको थियो। तर यो हप्ता डाक्टरको समय मिलेन, त्यसैले अहिले उहाँको जापान भ्रमण रद्द भएको हो। उहाँ पछि समय मिलाएर जानुहुन्छ।’
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ। परराष्ट्रमन्त्रीले प्रधानमन्त्री ओली बेइजिङ पुग्नुअघि समकक्षी वाङ यीलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकमा उठाउने विषयका बारेमा छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उनले बेइजिङमा प्रधानमन्त्रीको भ्रमणमा हुने सम्झौतालगायतका विषयमा आवश्यक तयारी गर्नेछिन्।
पछिल्लो पटक राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो । सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए।
तिहार अगावै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएका थिए । नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले ओलीसँग भेट गरेका थिए। बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटेका राजदूत सोङले त्यहीबेला चीन भ्रमणका बारेमा अनौपचारिक छलफल गरेका थिए ।