उद्योग दिवसमा स्याङ्जाका ५ युवा उद्यमी सम्मानित
स्याङ्जा : दशौं उद्योग दिवसको अवसर पारेर आइतबार स्याङ्जाका ५ जना युवा उद्यमीलाई सम्मान गरिएको छ। ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा उद्यमी सम्मान तथा अन्तरक्रिया गरी मनाइएको हो।
सम्मानित हुनेमा सृजना कुँवर (चाउमिन उद्योग), ईन्द्रकुमारी थापा (हस्तकला उद्योग), सुन्दरप्रसाद श्रेष्ठ (पाउरोटी उद्योग), रमेश सुवेदी (मःम उद्योग), र पृथ्वीराज अर्याल (तारजाली उद्योग) रहेका छन्।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले उनीहरूलाई सम्मान गरेका हुन्। उद्यमीहरूलाई सम्मान गर्दै प्रजिअ नेपालले सकारात्मक सोच र कामले मानिसलाई सफल बनाउने बताइन्। स—साना लगानीबाट ठूला उद्यम सञ्चालन गरी आफू र अरुलाई रोजगारको अवसर दिने उद्यमी सधैं सम्मानयोग्य रहने उनले बताइन्।
करदाता कार्यालय प्रमुख गंगा बस्याल, उद्योग वाणिज्य संघ स्याङजा जिल्ला अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्शमा अध्यक्ष लोकनाथ रेग्मी, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष संघ ताम्राकार, सम्मानित उद्यमी रमेश सुवेदी र पृथ्वीराज अर्याल, पर्यटन कार्यालयका शाखा अधिकृत खुमलाल ढकाल, उद्योग वाणिज्य संघका सचिव रामप्रसाद लम्साललगायतले उद्योग दिवसको शुभकामना दिएका थिए । त्यस अवसरमा उनीहरूले आ-आफ्ना क्षेत्रगत समस्या र अवसरका बारेमा जानकारी गराउँदै राज्यले अझै पनि उद्योगमैत्री नीति बनाउन नसकेको धारणा राखेका थिए।
पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले उद्यम सुरुवात, युवाद्धारा सञ्चालित उद्यम, रोजगारलगायतका विविध योग्यताका आधारमा उद्यमी छनौट गरिएको बताए।