प्रचण्ड बेचैनी
नेपालको हित हेर्दा जता जाँदा अनुकूल हुन्छ, त्यतै जाने हो। कतै नजाँदा अर्थात् तेस्रो देश जाँदा उपयुक्त हुन्छ भने उतै जानुपर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता प्रचण्डले भारतीय सञ्चार माध्यम ‘द हिन्दु’लाई अन्तर्वार्ता दिए। जसमा उक्त भ्रमणलाई ‘चाइना कार्ड’ भनेर दोषारोपण गर्दै असन्तुलित, अराजनीतिक, (अ)कूटनीतिक र कच्चा टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्रीको तहबाट यस्तो निम्नस्तरको अभिव्यक्ति आउनु ज्यादै दुःखद् पक्ष हो। उनको यो टिप्पणीले नेपालका केही नेताको राजनीतिक सुझबुझ र मनोविज्ञानलाई पुनः एकपटक सतहमा ल्याएको छ। हाम्रोजस्तो संवेदनशील भूराजनीतिक परिवेश भएको देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई गम्भिर असर पार्ने यस्तो (अ)कूटनीतिक अभिव्यक्ति त्यो तहको नेतृत्वबाट अपेक्षित विषय होइन।
उक्त अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणलाई सरकारको अपरिपक्व कदम भनेर टिप्पणी गरे। उनी भन्छन्– ‘केपीजी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमण चिनियाँ कार्डजस्तो देखिएको छ, जुन गलत छ।’ उनले अझ एक कदम अगाडि बढेर भने– ‘हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा हामीले छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्छ। उहाँले (चीन) जानुअघि भारतसँगको हाम्रो विशेष सम्बन्धको ख्याल राख्नुपथ्र्यो।’ प्रचण्डको यस अभिव्यक्तिका पक्कै पनि बहुअर्थ छन्। जतिसुकै बहुअर्थ लागे पनि यो अभिव्यक्ति नेपालको राष्ट्रिय हित र स्वार्थका कोणबाट हेर्दा छिमेकीसँगको सम्बन्धलाई नै दक्खल दिने खालको छ।
सत्ता गुम्दाको बेचैनी : सत्ता बहिर्गमनपश्चात् प्रचण्डमा एक प्रकारको बेचैनी देखिन्छ। उनको यस्तो अस्वाभाविक र कच्चा टिप्पणी सत्ता बहिर्गमनपश्चात्को पहिलो भने होइन। उनले संसद्कै रोस्टम प्रयोग गरेर पछिल्लो समय देशमा बढेका उच्छृंखल र अराजक गतिविधिलाई प्रश्रय दिनेगरी नेपाल अब बंगलादेश र श्रीलंकाको बाटोमा छ भनेका थिए।
सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेपछि उनले त्यसलाई राजनीतिक प्रतिशोधयुक्त कदम भनेका थिए। २०६२/६३ पछि कहिले कांग्रेससँग मिलेर त कहिले एमालेसँग मिलेर त कहिले मधेसवादीसँग मिलेर सबैभन्दा धेरै समय सत्तामा बसेका प्रचण्ड पछिल्लो सत्ता वियोगपछि भने अब आफूले नै आगामी आन्दोलनको नेतृत्व गर्ने दाबी गर्नसमेत पछाडि परेका छैनन्।
सत्ता राजनीतिको फेरबदल जस्तो आन्तरिक मामलाबाट सिर्जित उनको बेचैनीको मात्रा बढ्दै गएर कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत दक्खल दिने तवरले प्रकट हुनु देशका लागि हितकार भने छैन। द हिन्दुको उनको अन्तर्वार्ताको छर्को देशभित्र मात्र सीमित हुनेछैन। यो अन्तर्राष्ट्रिय सन्बन्धसँग जोडिने र देशलाई दीर्घकालसम्म आघात पुर्याउने तहको छ। देशभित्रको आन्तरिक राजनीतिको झोक यसरी बाह्य सम्बन्धमा पोख्न खोज्नु ज्यादै कच्चा, अपरिपक्व र अदूरदर्शी हो। प्रचण्ड छाडी जोसुकैले गरे पनि यस्तो तरिका शतप्रतिशत गलत हो। सत्ता गुम्दाको बेचैनी प्रकट गर्ने यस्तो गैरजिम्मेवार रवैयाले देशलाई नोक्सानीबाहेक केही दिँदैन।
कम्फर्टेबलको भोक : सशस्त्र युद्धकालीन समयमा अधिकांश समय भारतमै आ श्रय लिएका प्रचण्डले तत्समयमा उरालेको भारतविरुद्ध ‘सुरुङ युद्ध’को नीति प्रचारमा आउँदा उक्त रणनीति साँच्चिकै हो वा देखावटी भनेर राजनीतिक वृत्तमा संशय पैदा भएकै पाइन्थ्यो। केही वर्ष पहिला नेपालकै सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा ‘छिमेकीहरूका लागि कम्फर्टेबल हुने’ र आफूहरू छिमेकीका लागि ‘कम्फर्टेबल सरकारको पक्षमा रहेको’ अभिव्यक्तिसमेत दिएका थिए। हुँदाहुँदा केही समय पहिला उनले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह कयौंपटक दिल्ली गएको’ भनेर लज्जास्पद एवं विवादित अभिव्यक्ति दिएका थिए। उनीमाथिको संशयको मात्रा यस्ता विभिन्न घटनाक्रमले झनै बढाउँदै लगेको थियो।
उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुर्याएको दाबी गर्दै भारतलाई रिझ्याउने तथा आफू उनीहरूका लागि विशेष रहेको अर्थात् उनकै भाषामा भन्नुपर्दा ‘कम्फर्टेबल’ हो भन्ने थप पुष्टि यस पटकको अन्तर्वार्तामार्फत दिन खोजेका छन्। ‘चीन जानुअघि भारतसँगको विशेष सम्बन्धलाई ख्याल गर्नु पर्दथ्यो’ भनेर उनले भारत नगई अरू देशमा जानै हुँदैनथ्यो भनेर स्पष्ट बुझिने गरी सन्देश दिएका छन्। छिमेकीको आँखाबाट हेर्दा कम्फर्टेबल लागे पनि नेपाली आँखाबाट हेर्दा यो अभिव्यक्ति खोटपूर्ण र पराधीन मानसिकताको उपज हो।
कूटनीतिक अर्थ : देशका शीर्षनेताहरूले विदेश मामिलामा बोल्दा वा लेख्दा शब्द चयन, भाषा प्रयोग र कूटनीतिक सीमाजस्ता संवेदनशील विषयमा विशेष चनाखो बन्नै पर्छ। कहाँ बोल्दै छु ? के बोल्दै छु ? यसको दीर्घकालीन असर के पर्छ? जस्ता सवालका उनीहरू संवेदनशील नहुने हो भने त्यस्ता विषयले देशहरूका सम्बन्धमा समेत दरार ल्याउन सक्छ। जस्तो कि, भारतको औपचारिक भ्रमणको क्रमका प्रचण्डले त्यही रहेका बखत कालापानी, लिम्पियाधुरा, लिपुलेकको सट्टा बंगलादेश जाने बाटोको प्रसंग उप्काएका थिए। भारतमै गएको समयमा उक्त प्रसंग उठाउनु देशको राष्ट्रिय स्वार्थ, राजनीतिक दृष्टि र कूटनीतिक हरेक कोणबाट गलत कदम हो।
यसपटक पनि प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणबारे नेपाली मिडियामा होइन, भारतीय मिडियामार्फत नै मुख खोलेका छन्। भारतीय मिडियामार्फत आफ्नो देशका प्रधामन्त्रीको भ्रमणलाई चिनियाँ कार्डको आरोप लगाउनु मिडिया छनोट, राजनीतिक भाष्य र कूटनीतिक दृष्टि हरकोणबाट प्रश्न उब्जिने कदम हो। अन्तर्वार्तामा व्यक्त भएका विषय र मिडिया छनोट हेर्दा संयोगमात्र भन्न मिल्दैन। योजनाबद्ध र उद्देश्यमूलक नै देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै यो अभिव्यक्ति बेकारको फाल्तु कुरा र कायरपन त हो नै यसले नेतृत्व तहको खस्कँदो स्तरलाई समेत उद्घाटित गरेको छ।
खस्कँदो स्तर : जबजब नेताहरूले संवेदनशील मामलाहरूका गैरसंवेदनशील टिप्पणी गर्छन्, कूटनीतिक सबालहरूमा गैरकूटनीतिकि रवैया प्रस्तुत गर्छन्, त्यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीकै छवि धुमिल बनाउन बल पुग्छ। यस्ता अभिव्यक्तिले प्रचण्ड आफूमात्रै हल्का भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्ले नेपाली नेता र नेतृत्वप्रति हेर्ने स्तरलाई समेत कमजोर बनाएको छ। स्तर थाहा पाएका कारण ‘जसको पक्षमा बोल्यो, पछि उसैले नटेर्ने सम्भावित खतरा’ बढाएको छ। नेपाली नेताहरूको कूटनीतिक स्तर ज्यादै कमजोर छ, उनीहरू विचारै नगरी बोल्छन् भन्नेहरूलाई नै यसले बल पुगेको छ। जुन कुरा नेपालको लागि दीर्घकालीन क्षति हुन पुगेको छ।
पहिला कहाँ जाने ? : नेपालमा नयाँ प्रधानमन्त्री बनेपछि पहिला भारतकै भ्रमण गर्नुपर्छ/पर्दथ्यो भनेर जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो नै शतप्रतिशत गलत छ।
प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण भारतबाट नै गर्नुपर्छ भन्ने न त यो कुनै परम्परा हो, न त स्थापित मान्यता नै। पहिला कहाँ जाने ? भन्ने एउटा सार्वभौम देशले गर्ने निर्णय उसको आफ्नो आवश्यकता, समय, सन्दर्भ, परिवेश र राष्ट्रिय हितले निर्धारण गर्ने विषय हो। यो कुनै बनिबनाउ विषय होइन र हुन सक्दैन। पहिला भारत नै जानु पथ्र्यो भनेर प्रचण्डले जे बोले त्यो सही होइन। फेरि अर्को कुरा चीन भ्रमण गर्दैमा भारतसँग सम्बन्ध बिग्रिहाल्नुपर्ने कुनै कारण नै छैन।
नेपालको हित हेर्दा जता जाँदा अनुकूल हुन्छ, त्यतै जाने हो। कतै नजाँदा अर्थात् तेस्रो देश जाँदा उपयुक्त हुन्छ भने उतै जानुपर्छ। पहिला कहाँ जाने भन्ने कुनै शाश्वत नियम छैन। पहिला चीन जाँदा भारतसँग सम्बन्ध बिग्रने र पहिला भारत जाँदा चीनसँग सम्बन्ध बिग्रेको देख्ने यस्तो एकपाखे चिन्तनले नेपालको राष्ट्रिय हित र स्वार्थ किमार्थ बलियो हुँदैन। हाम्रा दुई छिमेकीले पनि त्यस प्रकारको संकुचित दृष्टि राख्नु हुँदैन। दुई छिमेकी हाम्रा लागि विशेष महत्त्वका नै छन्। दुवैसँग छुट्टाछुट्टै विशेष सम्बन्ध कायम गर्न सक्नु नै हाम्रा लागि हितकर छ।