आयोजना गौरवका, प्रगति लाजमर्दो
मुलुकमा २४ वटा छन्, राष्ट्रिय गौरवका आयोजना। तर तिनको कामको गति हेर्दा राष्ट्रिय लज्जा उत्पन्न हुन्छ। तिनको प्रगति काफी छ, मुलुकको विकासको ऐना देखाउन। जब राष्ट्रिय गौरवकै आयोजनाको हविगत सुस्त छ भने अरू काम चाहिँ कुन गति होला ? अनुमान गर्न सजिलो हुन्छ। २०६८/६९ सुरु भएको हो, राष्ट्रिय गौरवका आयोजनाको अवधारणा। यसबीचमा जम्मा तीन वटामात्रै पूरा भए, पोखरा विमानस्थल, भैरहवा विमानस्थल र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना। अरूको प्रगतिचाहिँ कतिपयको आधा र कतिपयको अत्यन्तै न्यून छ। पञ्चायतकालदेखि सुरु भएको सिक्टा सिँचाइ आयोजना राष्ट्रिय गौरवमा पनि सरकारले पा¥यो तर अहिलेसम्म पूरा गर्न सकेन। उल्टै भ्रष्टाचारको दलदलमा परेर पैसामात्रै बग्यो, नहरमा पानी बग्न सकेन। राष्ट्रिय गौरवमै पश्चिम सेती जलविद्युत् यस्तो आयोजना पनि छ, जसको भौतिक र वित्तीय सबै प्रगति शून्य छ। योभन्दा लज्जा अरू के होला ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि झन्डै त्यस्तै कोटीमा राख्न सकिन्छ, जसमा खास र उल्लेख गर्न मिल्ने प्रगति भएको छैन।
जलविद्युत्का आयोजनाहरू, कृषि र सडक आयोजनाहरू छन्, राष्ट्रिय गौरवमा। मूलतः भौतिक पूर्वाधारका आयोजनालाई राष्ट्रिय गौरवमा राखिएको छ र तिनले विकास र समृद्धिको आधार बनाउँलान् भन्ने हो। यो अवधारणाको मूल उद्देश्य बिघ्नबाधाबिना आयोजना पूरा गर्ने भन्ने हो। बजेट विनियोजन सोहीअनुसार गर्ने र कुनै अवरोध र झन्झन्ट हुन नदिने भन्ने हो। तर, अरू सामान्य आयोजनाका जस्तै जग्गा प्राप्ति, वनजंगल र वातावरणसहित बजेट अभावका झमेला राष्ट्रिय आयोजनाले झेलिरहेका छन्। प्राथमिकताको आयोजना एकथरी र बजेट चाहिँ अर्काेथरीमा गर्ने दुःखद् आश्चर्यपूर्ण शैली सरकारहरूले गर्दै आएका छन्। र, विनियोजित भए पनि खर्च गर्न सक्ने क्षमता नराख्ने अर्काे विडम्बना छँदै छ। नियमित अनुगमन नहुने र बाधा अवरोध हटाउन पहल नहुने समस्या राष्ट्रिय गौरवका आयोजनाका दुर्भाग्यहरू नै हुन्। प्रधानमन्त्रीको सीधा र प्रत्यक्ष निगरानी नियमित हुने र साँच्चिकै प्राथमिकताका साथ काम गर्ने हो भनेमात्रै यी आयोजना पूरा हुन्छन् र देशलाई समृद्धिको बाटोतिर सोझ्याउँछन्। होइन भने राष्ट्रिय लज्जा बन्छन्।