कुण्डली र चेतनाको ऊर्जा क्यानभासमा
नवलपुर : मानव शरीरमा रहेका सात वटा ऊर्जा केन्द्रहरूले मानव चेतनाको स्तरलाई उच्च बिन्दुमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ। यसमा जागरण गराउने शारीरिक, मानसिक एवं साधनाले हो। मानव शरीरको चेतनाको ऊर्जा, ध्यान, प्राणयाम, योगको साधनाबाट चेतनशील हुँदै जान्छ।
योग विद्याअन्तर्गतको ‘कुण्डलिनी विद्या’लाई गैंडाकोटका कलाकार भीमप्रसाद शर्माले क्यानभास तयार गरेका छन्। शर्माले चित्रमार्फत सात वटा कुण्डलिनी चक्र र तिनलाई जागरण गराउन ध्यान मुद्रा बुझाउन चित्र बनाएका छन्। कुण्डलिनी विद्याबारे अध्ययन तथा अनुसन्धान गरेर चित्र बनाएको चित्र प्रदर्शन गरेका छन्।
पूर्वीय दर्शनमा आधारित १० वटा चित्र छन्। सात वटा कुण्डलीका चक्र छन्। यसको चरणबद्ध प्रक्रियालाई शर्माले चित्रमा उतारेका छन्। हिन्दु सनातनको ऊँ कार परिवारका ध्यान गर्दा प्रयोग गरिने मुद्रा छन्। उनले गुणको धारामा रंग प्रयोग गरेका छन्। कुण्डलीको मूल्य र मान्यताअनुसार रंगको मि श्रण गरेका छन्। मूलधार, स्वाधिष्ठान, मणिपुर, हनाहत, विशुद्धी, आज्ञा र सहस्रार मुद्रालाई चित्रमार्फत प्र्रस्तुत गरेका छन्।
‘कुण्डलिनी’ चित्रकार शर्माको बाह्रौं एकल चित्रकला प्रदर्शनी हो। ‘मानव चेतनाको स्थिति, त्यसको जगरण र त्यसको सदुपयोग मानिसले कसरी गर्छन् भन्ने देखाउन खेजेको हो’, उनले भने, ‘यति महत्त्वपूर्ण विषय हो भने जनस्तरमा जानकारी गराउनु पर्यो भनेर व्यापकता होस् भनेर यो विषय छानेको हुँ।’ शास्त्रीयतामा आधारित समसामयिक र कथानक शैलीका ३७ वटा चित्र प्रदर्शन गरिएको छ। उनले तीन वर्ष लगाएर चित्र तयार गरेका हुन्। करिब पचासवर्षे कलाकारिता यात्रामा शर्माको यो फरक खालको चित्रकला हो। नवलपरासी गैंडाकोटस्थित ‘गैंडाकोट प्रज्ञा ग्यालरी’मा कात्तिक २१ गतेदेखि ‘कुण्डलिनी’ प्रदर्शन गरिएको हो।