हरित ऊर्जा भविष्यको आधार

हरित ऊर्जा भविष्यको आधार

जलवायु परिवर्तन अहिलेको विश्वले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो । कार्बन उत्सर्जनको उच्च दर र परम्परागत ऊर्जा उत्पादन प्रणालीले पृथ्वीको तापमानमा तीव्र वृद्धि गरिरहेको छ । यस्तो अवस्थामा, दिगो प्रविधि र हरित ऊर्जा मात्र यस समस्याको समाधानका लागि उपयुक्त बाटो बन्न सक्छ । दिगो प्रविधि र हरित ऊर्जा अहिलेको युगको अनिवार्य आवश्यकता हो । दिगो प्रविधिले ऊर्जा उत्पादन र खपतलाई वातावरणमैत्री, आर्थिक रूपमा सन्तुलित र प्रभावकारी बनाउने लक्ष्य राख्छ ।

जलवायु परिवर्तनले विश्वभरि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अर्थतन्त्र, वातावरण र मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ । कार्बन उत्सर्जनका कारण सन् २०२३ मा पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तुलनामा बढेको तथ्यले यो समस्या कति जटिल छ भन्ने देखाउँछ । ऊर्जा क्षेत्र विश्वभर कार्बन डाइअक्साइड उत्सर्जनको करिब ७३ प्रतिशतका लागि जिम्मेवार छ । परम्परागत ऊर्जा उत्पादन विधिले नवीकरणीय स्रोतहरूको उपयोग नगर्दा प्रदूषण बढ्दै गएको छ । दिगो प्रविधिले वातावरणमैत्री र पुन :  प्रयोग गर्न मिल्ने ऊर्जा स्रोतहरूको विकासमा जोड दिन्छ । हरित ऊर्जा, जसमा सौर्य, पवन, जलविद्युत् र जैविक ऊर्जा समावेश छन् । कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्दै आर्थिक रूपले फाइदाजनक पनि सावित भएको छ । 

सौर्य ऊर्जा मात्र पनि २०३० सम्ममा विश्वको कुल ऊर्जा खपतको २० प्रतिशत पुग्ने अनुमान छ । नेपाल जस्तो देशका लागि, जहाँ वार्षिक ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ । तर हालसम्म २ प्रतिशत मात्र उपयोग भएको छ । हरित ऊर्जा प्रचुर मात्रामा उपलब्ध प्राकृतिक स्रोतहरूको सदुपयोग गर्ने सुनौलो अवसर हो । यस विषयले नेपालको मात्र होइन, सम्पूर्ण विश्वकै दीर्घकालीन विकासमा योगदान पुर्‍याउन सक्ने सम्भावना राख्छ तथापि, दिगो प्रविधि र हरित ऊर्जा प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रविधिको पहुँच, आर्थिक लगानी र नीतिगत सुधारहरू अपरिहार्य छन् ।

सूचना प्रविधिको भूमिका  :  नवीकरणीय ऊर्जा उत्पादन र व्यवस्थापनमा सूचना प्रविधिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । स्मार्ट ग्रिड प्रणालीले ऊर्जा वितरणलाई कुशल बनाउँदै नवीकरणीय स्रोतहरूको अधिकतम उपयोग सुनिश्चित गर्न मद्दत गर्छ । यसले माग र आपूर्तिको वास्तविक समयमा समायोजन गरेर ऊर्जा खेर जानबाट बचाउँछ । कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा एनालिटिक्सले सौर्य तथा वायु ऊर्जा उत्पादनको पूर्वानुमान गर्न, खपत ढाँचालाई विश्लेषण गर्न र ऊर्जा उपयोगमा सुधार ल्याउन सहयोग गर्छ । त्यस्तै, इन्टरनेट अफ थिंग्सले विद्युतीय उपकरणहरूलाई आपसमा जोडेर ऊर्जा बचतमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । ब्लकचेन प्रविधिको प्रयोगले ऊर्जा आदानप्रदानलाई पारदर्शी 
र सुरक्षित बनाउन सकिन्छ ।

हरित प्रविधि र दीर्घकालीन विकास  :  हरित प्रविधिले वातावरणको संरक्षण, आर्थिक सुधार, रोजगारी सिर्जना र स्वास्थ्य सुधार गरेर दीर्घकालीन विकासमा सहयोग पुर्‍याउँछ । सौर्य, वायु र जलविद्युत्जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले कार्बन उत्सर्जन कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यी ऊर्जा स्रोतहरूको प्रयोगले परम्परागत इन्धनको आवश्यकतालाई घटाएर इन्धन आयातमा हुने खर्च बचत गर्न मद्दत गर्छ ।

हरित ऊर्जा परियोजनाहरूले निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि धेरै मानिसलाई रोजगारी दिन सक्छ । साथै, वातावरणमैत्री ऊर्जा प्रयोगले हावामा हुने प्रदूषण घटाउँछ । जसले मानिसहरूको स्वास्थ्यमा सुधार ल्याउँछ । हरित प्रविधि अपनाउँदा वातावरण स्वच्छ हुन्छ, ऊर्जा खपतमा कमी आउँछ र दीर्घकालीन रूपमा आर्थिक आत्मनिर्भरता बढ्छ । यसरी, हरित प्रविधि केवल पर्यावरणका लागि नभई आर्थिक र सामाजिक उन्नतिका लागि पनि महत्त्वपूर्ण साबित भएको छ । यसको सही प्रयोगले दीर्घकालीन र दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिन्छ ।

नेपालका लागि सम्भावना र चुनौती  :  नेपाल प्राकृतिक स्रोतहरूले भरिपूर्ण देश हो, जहाँ जलविद्युत्, सौर्य ऊर्जा र वायु ऊर्जाका प्रचुर सम्भावना छन् । विशेषगरी सौर्य ऊर्जाका लागि नेपाल उपयुक्त स्थान हो, जहाँ वार्षिक करिब तीन हजार घण्टा घाम लाग्ने तथ्यले यसको सम्भावना थप उजागर गर्छ । जर्मनीले सौर्य ऊर्जा र वायु ऊर्जाको सफल उपयोग गरेर ऊर्जा आत्मनिर्भरता हासिल गर्नुका साथै कार्बन उत्सर्जन घटाएको उदाहरण नेपालका लागि प्रेरणादायक छ । यदि नेपालले पनि सौर्य ऊर्जाको प्रभावकारी प्रवद्र्धन गर्न सकेमा ग्रामीण क्षेत्रका दुर्गम बस्तीहरूमा ऊर्जा पुर्‍याएर जीवनस्तर सुधार गर्न सकिन्छ ।

तर, नेपालले हरित ऊर्जा प्रविधिको विकासमा केही ठूला चुनौतीको सामना गरिरहेको छ । प्रविधि र लगानीको अभाव, नीतिगत अस्पष्टता र जनचेतनाको कमीका कारण हरित ऊर्जा प्रवद्र्धनमा अपेक्षित प्रगति हुन सकेको छैन । उदाहरणका लागि, कर्णाली क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू सुरु गरिए पनि पर्याप्त आर्थिक स्रोत र जनचेतनाको अभावले ती योजना सफल हुन सकेका छैनन् । यस्ता चुनौती समाधान गर्न स्पष्ट नीति निर्माण, अन्तर्राष्ट्रिय लगानीको आकर्षण र जनस्तरमा शिक्षा र चेतना अभिवृद्धि गर्न आवश्यक छ । यी प्रयासले नेपाललाई हरित ऊर्जा उत्पादन र दीर्घकालीन विकासमा उदाहरणीय देश बनाउन सक्नेछ ।

कार्यान्वयनका उपायहरू  :  नेपालमा हरित ऊर्जा र दिगो प्रविधिको सफल कार्यान्वयनका लागि विभिन्न उपाय अपनाउन आवश्यक छन् । पहिलो, नीतिगत सुधार अपरिहार्य छ दीर्घकालीन योजनासहित हरित ऊर्जा प्रवद्र्धनका लागि स्पष्ट र प्रभावकारी नीति निर्माण गर्नुपर्छ । सरकारले प्राथमिकताका आधारमा नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रोत्साहन दिने नीतिहरू लागू गर्नु आवश्यक छ । दोस्रो, विदेशी लगानी आकर्षण गर्नु महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय दातृ निकाय र निजी क्षेत्रको लगानी नेपालमा आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्नेछ । ऊर्जा क्षेत्रमा आकर्षक वित्तीय र कर प्रोत्साहन प्रदान गर्नाले लगानीको प्रवृत्ति बढ्न सक्छ ।

तेस्रो, स्थानीयस्तरमा जनचेतना कार्यक्रम चलाउनु पर्नेछ । गाउँगाउँमा हरित ऊर्जा र दिगो प्रविधिको फाइदाबारे जागरुकता अभियान चलाउनु पर्छ । जसले जनतालाई सौर्य ऊर्जा र अन्य नवीकरणीय स्रोतहरूको महत्त्व र उपयोगका बारेमा जानकारी दिन्छ । चौथो, प्रविधि हस्तान्तरण र तालिम पनि महत्त्वपूर्ण छ । विदेशबाट आधुनिक प्रविधि आयात गरेर त्यसलाई स्थानीय परिस्थितिका अनुसार अनुकूलित गर्नु र जनशक्ति प्रशिक्षण कार्यक्रम चलाउनु पर्छ । यसले नेपाललाई हरित ऊर्जा प्रविधिमा दक्ष बनाउनेछ ।

निष्कर्ष  :  दिगो प्रविधि र हरित ऊर्जा आजको आवश्यकता मात्र होइन, भविष्य निर्माणका लागि अपरिहार्य उपाय हो । जसले देशलाई ऊर्जा आत्मनिर्भरता, आर्थिक विकास र वातावरणीय संरक्षणका दिशामा अघि बढाउन सक्छ । नेपालजस्ता प्राकृतिक स्रोतले सम्पन्न देशमा जलविद्युत्, सौर्य ऊर्जा र वायु ऊर्जाका प्रचुर सम्भावना रहेको छ । तर प्रविधि, लगानी र जनचेतनाको अभावले अपेक्षित प्रगति गर्न सकिएको छैन ।

हरित ऊर्जा प्रवद्र्धनका लागि प्रभावकारी नीतिगत सुधार, अन्तर्राष्ट्रिय लगानी आकर्षण, जनचेतना अभियान र आधुनिक प्रविधि हस्तान्तरण अपरिहार्य छ । यी उपायहरूले नेपाललाई दिगो विकासका लक्ष्यहरू हासिल गर्दै हरित ऊर्जा उत्पादनमा उदाहरणीय देश बनाउन सक्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.